रोमी 14:13-23
रोमी 14:13-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैकारण हामी एउटाले अर्कालाई अब उसो इन्साफ नगरौं। बरु आफ्नो भाइको बाटोमा ठेस लाग्ने कुरो अथवा बाधा पार्ने कुरो कहिल्यै नराख्ने अठोट गरौं। म जान्दछु, र प्रभु येशूमा मलाई निश्चय छ, कि कुनै कुरा पनि आफैमा अशुद्ध हुँदैन, तर जसले त्यो अशुद्ध ठान्छ, त्यसको निम्ति त्यो अशुद्धै हुन्छ। यदि तिमीले जे खान्छौ त्यस कुराले तिम्रो भाइलाई चोट पार्छ भने, तिमी प्रेममा चलेका हुँदैनौ। जुन भाइको निम्ति ख्रीष्ट मर्नुभयो, तिमीले खाएको कुराबाट उसको नाश नहोस्। यसैकारण तिमीलाई जे असल लाग्छ त्यसलाई अरूले खराब भन्न नदेओ। किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो। जसले यस किसिमले ख्रीष्टको सेवा गर्दछ, त्यो परमेश्वरलाई मन पर्ने र मानिसहरूबाट असल ठहरिएको हुन्छ। यसैले हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्ति ल्याउँछ, अनि एउटाले अर्काको आत्मिक उन्नति गराउँछ। खानेकुराको खातिर परमेश्वरको कामलाई नष्ट नगर। वास्तवमा सबै कुरा शुद्ध छन्, तर आफूले खाएको कुराले अरूलाई बाधा पार्नु अनुचित हो। उचित त यो हुन्छ, कि मासु नखानु, मद्यपान नगर्नु, तथा कुनै यस्तो काम नगर्नु जसद्वारा तिम्रो भाइलाई बाधा हुन्छ। तिमीमा भएको विश्वास परमेश्वर र तिम्रो बीचमा राख। धन्यको हो त्यो मानिस, जसले आफूले उचित ठहराएका कुराको कारणले आफैलाई दोषी ठहराउनुपर्दैन। तर कसैले शङ्का गरेर केही खायो भने त्यो दोषी ठहर्छ, किनकि उसले विश्वाससाथ खाएको छैन। विश्वासबाट उत्पन्न नभएको कुनै पनि कुरा पाप हो।
रोमी 14:13-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण हामी एक-अर्काको न्याय गर्न छोडौँ। बरु आफ्नो मनमा दाजुभाइ वा दिदीबहिनीको बाटोमा बाधा हुने वा ठेस लाग्ने कुनै चीज नराख्ने सोच गरौँ। म जान्दछु, र प्रभु येशूमा निश्चित छु, कि कुनै पनि भोजन आफैँमा अशुद्ध हुँदैन। तर कसैले त्यो अशुद्ध देख्छ भने त्यसको निम्ति त्यो अशुद्ध हुनेछ। यदि तिमीले खाएको कुराले तिम्रो दाजुभाइ वा दिदीबहिनीलाई उदास बनाउँछ भने तिमी प्रेममा जिएका छैनौ। तिमीहरूको भोजनको कारणले कसैलाई नाश नगर, जसको निम्ति ख्रीष्ट मर्नुभयो। यसकारण तिमीलाई जे असल लाग्छ, त्यसलाई खराबीको रूपमा बोल्न नदेऊ। किनकि परमेश्वरको राज्य खाने र पिउने कुराको बारेमा होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो। किनभने जसले ख्रीष्टलाई यस प्रकारले सेवा गर्दछ, त्यसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ र मानिसहरूबाट स्वीकृत हुन्छ। हामी हर प्रयासले ती कुराहरूमा लागौँ, जसले शान्तिमा डोर्याउँछ र पारस्परिक उन्नति गराउँछ। परमेश्वरको कामलाई भोजनको कारणले नाश नगर। सबै भोजन शुद्ध छन्, तर त्यो अर्को व्यक्तिलाई ठक्करको कारण बन्छ भने उसले यो खानु गलत हो। मासु नखानू वा मद्य नपिउनू अथवा तिम्रो दाजुभाइ-दिदीबहिनीलाई ठेस लाग्ने कुनै पनि काम नगर्नू उचित हो। यसकारण यसबारे तिमीहरू जे विश्वास गर्छौ, त्यो कुरा तिमी र परमेश्वरको बीचमा राख। त्यो मानिस धन्य हो, जसले आफूले स्वीकार गरेको कुराले आफूमाथि दोष ल्याउँदैन। तर यदि कसैले शङ्का गरेर खायो भने त्यो दोषी ठहरिन्छ। किनकि उसले विश्वासद्वारा खाएको हुँदैन। जे कुरा विश्वासद्वारा आउँदैन, त्यो पाप हो।
रोमी 14:13-23 पवित्र बाइबल (NERV)
यसैले एक अर्कालाई जाँच्ने काम बन्द गरौं। त्यसको सट्टामा तिमीले दाज्यू-भाइका वा दिदी-बहिनीका बाटोमा वाधा नहाल्ने वा केही त्यस्तो नगर्ने निश्चय गर जसले गर्दा ती पाप गर्न तिर लाग्लान्। म प्रभु येशूमा हुँ। म जान्दछु कुनै खाद्य आफैंमा फोहोर छैन। तर यदि कसैले फोहोर भनेर विश्वास गर्छ भने त्यो उसैको लागि फोहोर छ। केही खाँदैमा यदि तिमीले आफ्ना दाज्यू-भाइ दिदी-बहिनीको भावनामा चोट पुर्याउँछौ भने तिमीले प्रेमको बाटो पछ्याउँदैनौ। कसैले गलत सम्झेको खाना खाएर तिमीले उसलाई नष्ट गर्नु हुँदैन। ख्रीष्ट त्यस मानिसको लागि पनि मर्नु भयो। आफूलाई असल लागेको कुनै कुराको निन्दा हुन नदेऊ। परमेश्वरको राज्यमा खानु र पिउनुको कुनै महत्व छैन। परमेश्वरको राज्यमा महत्वपूर्ण कूरा त यी हुन धार्मिकता, शान्ति र पवित्र आत्मामा आनन्द। कसैले यस प्रकारले ख्रीष्टको सेवा गरे उसले परमेश्वरलाई खुशी पार्दछ। अनि त्यो मानिस अरूहरूद्वारा स्वीकृत हुनेछ। यसैले कठोर परिश्रमको साथ त्यस्तो काम गरौं जसबाट शान्ति छाउँछ। अनि त्यस्तो काम गरौं जसमा कि त्यो एका अर्कामा सहयोग बन्न सकोस्। भोजनले परमेश्वरको कार्य नष्ट गर्न नदेऊ। हरेक खाद्य खान लायकको हुन्छ। तर अर्कोलाई पापमा पार्ने खाना खानु अनुचित हो। मासु, दाखरस वा अरू कुनै थोक जसले दाज्यू-भाइ, दिदी-बहिनीलाई पापमा धकेल्दछ। असल हो नखानुनै। यी चिजहरूमा तिम्रो विश्वास परमेश्वर र आफूमाझ राख्नु पर्छ। अपराध बोध नगरी आफूले उचित ठहरयाएको काम गर्ने मानिस धन्य हो। उसलाई परमेश्वरबाट आशिष, प्रदान गरिन्छ। तर कसैले शंका गर्दै केही कुरो खान्छ भने ऊ स्वयं नै दोषी हुँदछ। किनभने उसलाई त्यो उचित हो भन्ने भरोसा भएन अनि भरोसा नभई गरेको जे कुरा पनि पाप हो।
रोमी 14:13-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण हामी एक-अर्कालाई दोष नलगाऔं। हामी भाइहरूलाई कुनै ठेस लाग्ने वा पापमा पार्ने कुरा गर्नेछैनौं भनी अठोट गरौं। प्रभु येशूमा विश्वास गरेकोले यो कुरो म पक्का जान्दछु, कुनै पनि खानेकुरा आफैं अशुद्ध हुँदैन। तर कसैले केही कुरा अशुद्ध मान्छ भने त्यो उसको लागि अशुद्धै हुन्छ। तिमी आफ्ना भाइलाई खाने कुरोले चोट पुर्याउँछौ भने तिमीले उसलाई माया गर्दैनौ। ख्रीष्टले आफ्नो प्राण दिएर बचाउनुभएको मानिसलाई तिम्रो खानेकुराले नाश नगरोस्। तिमीले गरेको असल कुरालाई अरूले खराब भन्न नपाऊन् किनभने परमेश्वरको राज्य भनेको खाने र पिउने कुरा होइन, तर यो पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दको कुरो हो, जुन पवित्र आत्माले दिनुहुन्छ। यस किसिमले ख्रीष्टको सेवा गर्नेले परमेश्वरलाई खुसी तुल्याउँछ साथै मानिसबाट स्याबासी पनि पाउँछ। यसैकारण हामी शान्ति दिने र एक-अर्कालाई सहयोग पुर्याउने कुरामा मात्रै सधैँ ध्यान राखौं। खानेकुराको कारणले परमेश्वरले गर्नुभएको कामलाई नाश नगर। सबै खानेकुरा खानुहुन्छ तर कसैलाई पाप गर्न लगाउने गरी केही खानुचाहिँ खराब हो। खासमा त मासु पनि नखानू, कुनै मात लाग्ने कुरो पनि नपिउनू अनि भाइलाई ठेस लाग्ने गरी कुनै कुरो पनि नगर्नू नै राम्रो हो। त्यसो हुँदा यस बारेमा विश्वास तिमी र परमेश्वरको बीचमा राख। आफैंले ठीक ठहराएको कुरोलाई खराब नठानी गर्ने मानिस धन्य हुन्छ। तर आफूले खाएको कुरामा आफैं शङ्का गर्दै खान्छ भने परमेश्वरले उसलाई दोषी ठहराउनुहुनेछ किनभने विश्वासबिनाको जुनसुकै कुरो गरे पनि पाप हो।