उत्पत्ति 9
9
नोआसँग परमेश्वरको करार
1तब परमेश्वरले यसो भन्दै नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो, “फल्दै-फुल्दै, संख्यामा वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ। 2पृथ्वीका सबै पशुहरू र आकाशका सबै चराचुरुङ्गीहरू, जमिनमा चलहल गर्ने प्रत्येक प्राणी, र समुद्रका सबै माछाहरूमाथि तिमीहरूको भय र त्रास रहनेछ; तिनीहरू तिमीहरूका हातमा सुम्पिएका छन्। 3हरेक जीवित प्राणी तिमीहरूको भोजनको निम्ति हुनेछ। मैले तिमीहरूलाई हरियो सागपात दिएझैँ, अब तिमीहरूलाई सबै थोक दिन्छु।
4“तर तिमीहरूले मासुसँग रगतचाहिँ नखानू, जसमा त्यसको जीवन हुन्छ। 5तिमीहरूका जीवन अर्थात् रगत लिनेको निश्चय नै म लेखा लिनेछु। म हरेक पशुबाट प्राणको लेखा लिनेछु; र हरेक मानिसबाट पनि, अरू मानिसका प्राणको लेखा म लिनेछु।
6“जसले मानिसको रक्तपात गर्छ,
मानिसबाटै त्यसको पनि रक्तपात हुनेछ;
किनकि परमेश्वरले मानिसलाई
आफ्नै स्वरूपमा बनाउनुभएको हो।
7तर तिमीहरूचाहिँ फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जानू; र पृथ्वीमा फैलिँदै र यसमा बढ्दै जानू।”
8तब परमेश्वरले नोआ र तिनीसँग भएका छोराहरूलाई भन्नुभयो: 9“अब म तिमीहरूसँग र तिमीहरू पछिका सन्तानहरूसँग मेरो करार स्थापित गर्नेछु; 10अनि तिमीहरूसित भएको प्रत्येक जीवित प्राणीसित पनि—चाहे त्यो चराचुरुङ्गी होस्, चाहे घरपालुवा वा जङ्गली जनावर होस्; तिमीहरूसित जहाजबाट बाहिर निस्किआएका सबैसित—पृथ्वीका प्रत्येक जीवित प्राणीहरूसित। 11म तिमीहरूसित मेरो करार स्थापित गर्नेछु: अब उसो सबै जीवित थोकहरू जलप्रलयको पानीले नाश हुनेछैनन्; पृथ्वीलाई नष्ट पार्ने जलप्रलय फेरि हुनेछैन।”
12अनि परमेश्वरले भन्नुभयो, “मैले तिमीहरू र तिमीहरूसित भएका प्रत्येक जीवित प्राणी र समस्त भावी पुस्ताहरूका निम्ति स्थापित गरेको करारको चिन्ह यही हो: 13म बादलमा मेरो इन्द्रेणी राख्दछु; अनि यही नै मेरो र पृथ्वीको बीचमा बाँधेको करारको चिन्ह हुनेछ। 14जब म पृथ्वीमाथि बादल फैलाउनेछु, अनि बादलमा इन्द्रेणी देखा पर्नेछ; 15तब मैले तिमीहरूसित र हरेक किसिमका जीवित प्राणीहरूसित बाँधेको मेरो करार सम्झनेछु। अब उसो सम्पूर्ण जीवित थोक नष्ट गर्ने पानीको जलप्रलय कहिल्यै हुनेछैन। 16जब बादलमा इन्द्रेणी देखा पर्नेछ, तब परमेश्वर र पृथ्वीमा भएका हरेक किसिमका सबै जीवित प्राणीहरूसित गरिएको यो अनन्तको करारलाई म सम्झनेछु।”
17यसरी परमेश्वरले नोआलाई भन्नुभयो, “मैले म र पृथ्वीमा भएका सबै जीवितहरूबीच स्थापित गरेको करारको चिन्ह यही नै हुनेछ।”
नोआका छोराहरू
18जहाज बाहिर निस्केर आउने नोआका छोराहरू शेम, हाम र येपेत थिए। (हामचाहिँ कनानका पिता थिए।) 19नोआका तीन छोराहरू यिनै थिए; अनि यिनीहरूबाट आएका मानिसहरूले नै समस्त पृथ्वी भरियो।
20नोआले खेतीपाती गर्न थाले, उनले एउटा दाखबारी लगाए। 21जब तिनले दाखमद्यबाट पिए, तब तिनी मात्तिए, र आफ्नो पालभित्र नाङ्गै सुते। 22कनानका पिता हामले आफ्ना पिताको नग्नता देखे, र बाहिर भएका आफ्ना दुई दाजुभाइलाई बताए। 23तर शेम र येपेतले आफ्ना काँधमा एउटा लुगा लिए, र पछिल्तिरबाट सर्दै गई आफ्ना पिताको नग्नतालाई ढाकिदिए। तिनीहरूका अनुहार अर्कोपट्टि फर्केका हुनाले तिनीहरूले आफ्ना पिताको नग्नता देखेनन्।
24जब नोआको मद्यबाट होश खुल्यो, र तिनले आफ्नो कान्छा छोराले तिनलाई के गरेका थिए, त्यो थाहा पाए; 25तब तिनले भने,
“कनान श्रापित होस्!
त्यो आफ्ना दाजुभाइहरू बीचमा
सबैभन्दा तुच्छ दास होस्।”
26तिनले यो पनि भने,
“शेमका याहवेह, परमेश्वर धन्यका होऊन्;
कनानचाहिँ शेमको कमारा होस्!
27परमेश्वरले येपेतको क्षेत्र बढाऊन्;
येपेत शेमका पालहरूमा बास गरोस्;
अनि कनानचाहिँ येपेतको कमारो होस्।”
28जलप्रलयपछि नोआ 350 वर्ष बाँचे। 29नोआ जम्मा 950 वर्षसम्म बाँचे; अनि तिनी मरे।
Избрани в момента:
उत्पत्ति 9: NCV
Маркирай стих
Копиране
Сравни
Споделяне
Искате ли вашите акценти да бъдат запазени на всички ваши устройства? Регистрирайте се или влезте
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.