लेवी 2
2
अन्नबलि
1“ ‘कसैले याहवेहका निम्ति अन्नबलि ल्याउँछ भने त्यसको भेटी मसिनो पिठोको होस्। त्यसले त्यसमाथि जैतुन तेल खन्याओस्, र त्यसमा धूप हालोस्। 2अनि त्यसलाई हारूनका पुजारी छोराहरूकहाँ ल्याओस्। पुजारीले एक मुठी मसिनो पिठो र तेल सबै धूपसित लिएर त्यसलाई सम्झनास्वरूप वेदीमा जलाउनेछ। यो अग्निबलि हो—याहवेहलाई मनपर्ने बास्ना। 3अन्नबलिको बाँकी भाग हारून र त्यसका छोराहरूको हो। यो याहवेहका निम्ति अग्निबलिहरूमा सबैभन्दा पवित्र भाग हो।
4“ ‘तिमीहरूले चुलोमा पकाएको अन्नबलि ल्यायौ भने यो मसिनो पिठोका खमिर नमिसाइएको र तेल मिसाइएका फुरौलाहरू अथवा तेल दलेका अखमिरी बाबर होस्। 5यदि तिमीहरूका अन्नबलि तावामा पकाएको हो भने त्यो खमिर नमिसाइएको र जैतुन तेल मिसाइएको पिठोबाट बनिएको होस्। 6त्यसलाई टुक्रा-टुक्रा पारेर त्यसमाथि तेल खन्याउनू; त्यो अन्नबलि हो। 7तिमीहरूका अन्नबलि ताप्केमाथि पकाएको हो भने त्यो मसिनो पिठो र जैतुन तेलबाट बनाइएको होस्। 8यी कुराहरूले बनिएको अन्नबलि याहवेहकहाँ ल्याउनू; र त्यो पुजारीलाई दिनू, जसले त्यसलाई वेदीमा लानेछ। 9त्यस पुजारीले अन्नबलिबाट सम्झनाको भाग निकालेर याहवेहलाई मनपर्ने बास्नाझैँ अग्निबलिको रूपमा वेदीमाथि जलाओस्। 10अन्नबलिको बाँकी भाग हारून र त्यसका छोराहरूको हो। यो याहवेहका निम्ति अग्निबलिहरूमा सबैभन्दा पवित्र भाग हो।
11“ ‘तिमीहरूले याहवेहकहाँ ल्याउने प्रत्येक अन्नबलि खमिर नहाली बनाइएको होस्। किनकि याहवेहकहाँ चढाइने अग्निबलिमा तिमीहरूले कुनै खमिर अथवा मह नजलाऊनू। 12तिमीहरूले ती याहवेहकहाँ अगौटे फलका बलिको रूपमा ल्याउन सक्छौ, तर तिनीहरूलाई वेदीमा मनपर्ने बास्नाको रूपमा नचढाउनू। 13तिमीहरूका सबै अन्नबलिहरूमा नुन मोल्नू। तिमीहरूका परमेश्वरको करारको नुनलाई तिमीहरूका अन्नबलिदेखि अलग नराख्नू। तिमीहरूका सबै बलिहरूमा नुन चढाउनू।
14“ ‘याहवेहका निम्ति अगौटे फलहरूको अन्नबलि चढाउने इच्छा भएमा आफ्ना अगौटे फलहरूका अन्नबलिका निम्ति पिँधेका र आगोमा पिल्स्याएका ताजा अन्नका बालाहरू चढाउनू। 15त्यसमा तेल हाल्नू र धूप राख्नू; यो अन्नबलि हो। 16पिँधेको अन्न र तेल सम्झनाको भाग सबै धूपसित याहवेहका निम्ति अग्निबलिको रूपमा पुजारीले जलाओस्।
Цяпер абрана:
लेवी 2: NCV
Пазнака
Капіяваць
Параўнаць
Падзяліцца
Хочаце, каб вашыя адзнакі былі захаваны на ўсіх вашых прыладах? Зарэгіструйцеся або ўвайдзіце
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.