लेवी 1
1
होमबलि
1याहवेहले मोशालाई बोलाउनुभयो, र समागम पालबाट तिनीसित कुरा गर्नुभयो। उहाँले भन्नुभयो, 2“इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरूमध्ये कसैले याहवेहका निम्ति पशु भेटीको रूपमा ल्याउँदा तिमीहरूको भेटी गाईबस्तुका बथान अथवा भेडाबाख्राका बगालबाट ल्याउनू।
3“ ‘यदि त्यस बथानबाट होमबलि हो भने त्यसले निष्खोट नर पशु चढाओस्। त्यसले त्यो समागम पालको प्रवेशद्वारमा ल्याओस्, र त्यो याहवेहका निम्ति ग्रहणयोग्य हुनेछ। 4त्यसले त्यस होमबलिको शिरमाथि आफ्नो हात राखोस्; र त्यो त्यसको प्रायश्चितका लागि त्यसको पक्षमा ग्रहणयोग्य हुनेछ। 5त्यसले त्यस बाछालाई याहवेहको सामु मारोस्। अनि हारूनका पुजारी छोराहरूले रगत ल्याएर त्यसलाई समागम पालको प्रवेशद्वारमा वेदीको सबैतिर भित्तामा छर्कून्। 6त्यसले होमबलिको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा पारोस्। 7पुजारी हारूनका छोराहरूले वेदीमा दाउराहरू मिलाएर आगो लगाऊन्। 8त्यसपछि हारूनका पुजारी छोराहरूले टाउको र बोसोसमेत ती टुक्राहरूलाई वेदीमा जलिरहेका दाउरामाथि मिलाऊन्। 9त्यस मानिसले भित्री भागहरू र खुट्टाहरू पानीले धोओस्; अनि पुजारीले ती सबै वेदीमाथि जलाओस्। यो होमबलि याहवेहलाई मनपर्ने बास्नाको अग्निबलि हो।
10“ ‘यदि त्यसको होमबलि भेडाबाख्राहरूबाट हो भने त्यसले निष्खोट नर पशु चढाओस्। 11त्यसले वेदीको उत्तरपट्टि याहवेहको सामु त्यसलाई मारोस्; अनि हारूनका पुजारी छोराहरूले त्यसको रगत वेदीका सबै भित्ताहरूमा छर्कून्। 12त्यस मानिसले यसलाई टुक्रा-टुक्रा पारोस्। अनि पुजारीले तिनीहरूलाई शिर र बोसोसमेत वेदीमाथि जलिरहेको दाउरामाथि मिलाओस्। 13त्यस मानिसले भित्री भागहरू र खुट्टाहरू पानीले धोओस्; अनि पुजारीले ती सबै ल्याएर वेदीमाथि जलाओस्। यो होमबलि याहवेहलाई मनपर्ने बास्नाको अग्निबलि हो।
14“ ‘याहवेहका निम्ति होमबलि पक्षीहरूबाटको हो भने त्यसले ढुकुर वा परेवाका बचेराहरू चढाओस्। 15पुजारीले त्यसलाई वेदीमा ल्याएर शिर निमोठेर वेदीमाथि जलाओस्; र त्यसका रगत वेदीका किनारमा निथारियोस्। 16त्यसले आन्द्राभुँडी र त्यसभित्र भएका सबै फोहर निकालेर वेदीको पूर्वपट्टि खरानी भएको ठाउँमा फ्याँकोस्। 17त्यसले त्यसलाई नटुक्राइकन पखेटाको बीचमा चिरोस्। अनि पुजारीले त्यसलाई वेदीमाथि बलिरहेको दाउरामाथि जलाओस्। यो होमबलि याहवेहलाई मनपर्ने बास्नाको अग्निबलि हो।
Цяпер абрана:
लेवी 1: NCV
Пазнака
Капіяваць
Параўнаць
Падзяліцца
Хочаце, каб вашыя адзнакі былі захаваны на ўсіх вашых прыладах? Зарэгіструйцеся або ўвайдзіце
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.