लेवी 11
11
शुद्ध र अशुद्ध भोजन
1याहवेहले मोशा र हारूनलाई भन्नुभयो, 2“इस्राएलीहरूलाई भन्: ‘जमिनमाथि रहने सबै पशुहरूमध्ये तिमीहरूले खान हुने यिनीहरू हुन्: 3खुर अलग भएका, चिरिएका र उग्राउने जुनसुकै पशु पनि तिमीहरूले खान सक्छौ।
4“ ‘कतिपय पशुहरू, जसले उग्राउँछन् अथवा खुर मात्र चिरिएका हुन्छन्, तर ती नखानू। ऊँट, जसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन। त्यो तिमीहरूका लागि अशुद्ध छ। 5भिर खरायो, जसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन; त्यो तिमीहरूका निम्ति अशुद्ध छ। 6खरायो, जसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन; त्यो तिमीहरूका निम्ति अशुद्ध छ। 7अनि सुँगुर, त्यसको खुर पूरा चिरिएको भए तापनि त्यसले उग्राउँदैन। त्यो तिमीहरूका निम्ति अशुद्ध छ। 8तिमीहरूले ती अशुद्ध जनावरहरूका मासु खानुहुँदैन। अनि त्यसको सिनो पनि छुनुहुँदैन। ती तिमीहरूका लागि अशुद्ध छन्।
9“ ‘समुद्र र खोलाहरूमा बस्ने जन्तुहरूमध्ये पखेटा र कत्ला भएका जुनसुकै जन्तु तिमीहरूले खान सक्छौ। 10तर समुद्र र खोलाहरूमा बस्ने सबै जन्तुहरू, जसका पखेटा र कत्ला छैनन्—चाहे समूहमा बस्नेहरू होऊन्, वा पानीका अरू जन्तु होऊन्—तिमीहरूका निम्ति घृणित कुरा हुन्। 11ती तिमीहरूका लागि घृणित भएकाले तिमीहरूले तिनीहरूका मासु नखानू। तिनीहरूका सिनोलाई घृणित ठान्नू। 12पानीमा बस्ने जुनसुकै जीवजन्तु, जसको पखेटा र कत्ला हुँदैन, त्यो तिमीहरूका लागि घृणित हो।
13“ ‘यी चराचुरुङ्गी घृणित हुनाले तिमीहरूले यी नखानू—गरुड,#11:13 यस अध्यायमा भएका केही चराचुरुङ्गी, किराफट्याङ्ग्रा र जनावरहरूको स्पष्ट पहिचान अनिश्चित छ। गिद्ध, कालो गिद्ध; 14रातो चील, सबै थरीका कालो चील, 15सबै किसिमका काग; 16ठूलो उल्लु, छोटो काने उल्लु, समुद्री चरो, सबै किसिमका बाज; 17सानो उल्लु, समुद्री बाज, विशाल उल्लु; 18सेतो उल्लु, मरुभूमिको उल्लु, माछा खाने चील; 19सारस, सबै किसिमका बकुल्ला, फाप्रेचरो र चमेरो।
20“ ‘चारै खुट्टाले हिँड्ने र उड्ने सबै किराहरू तिमीहरूका निम्ति घृणित हुनुपर्छ। 21तरै पनि केही पखेटा भएका जीवहरू, जो चार खुट्टाले हिँड्छन्, ती तिमीहरूले खान सक्छौ—जोर्नीहरूसहित भुइँमा उफ्रि हिँड्नका लागि खुट्टा भएका। 22यिनीहरूमध्ये तिमीहरूले सबै किसिमका सलह, खुइले सलह, किथ्रो वा फट्याङ्ग्रा खान सक्छौ। 23तर पखेटा भएका अरू सबै जीवहरू, जसका चार खुट्टाहरू छन्, ती तिमीहरूले घृणित ठान्नू।
24“ ‘यिनीहरूको कारणले गर्दा तिमीहरूले आफूलाई अशुद्ध पार्छौ; जसले यिनीहरूको सिनो छुन्छ, त्यो साँझसम्म अशुद्ध हुनेछ। 25जसले तिनीहरूको सिनो उठाउँछ, त्यसले आफ्नो लुगा धुनुपर्छ, र त्यो साँझसम्म अशुद्ध हुनेछ।
26“ ‘प्रत्येक जीवजन्तु, जसको खुर चिरिएको छ, तर पूर्ण रूपमा फारिएको छैन, अथवा जसले उग्राउँदैन, त्यो तिमीहरूका लागि अशुद्ध हो। यिनीहरूमध्येका कुनैको सिनो जसले छुन्छ, त्यो अशुद्ध हुनेछ। 27चार खुट्टाले हिँड्ने सबै जीवजन्तुहरूमध्ये, जसले आफ्ना पन्जाले टेकेर हिँड्छन्, ती तिमीहरूका लागि अशुद्ध छन्। जसले तिनको सिनो छुन्छ, त्यो साँझसम्म अशुद्ध हुनेछ। 28जसले तिनीहरूको सिनो उठाउँछ, त्यसले आफ्नो लुगा धुनुपर्छ। अनि त्यो साँझसम्म अशुद्ध हुनेछ। यी जनावरहरू तिमीहरूका निम्ति अशुद्ध छन्।
29“ ‘जमिनमा हिँड्डुल गर्ने जीवहरूमा यी तिमीहरूका निम्ति अशुद्ध छन्—न्याउरीमुसो, मुसा, सबै किसिमका ठूलो छेपारो; 30छेपारो, गोहोरो, माउसुली, भालेमुङ्ग्रो, र रङ्ग बदल्ने छेपारो। 31जमिनमा हिँड्डुल गर्ने यी सबै जीवजन्तु तिमीहरूका लागि अशुद्ध छन्। यी मरेकालाई जसले छुन्छ, त्यो साँझसम्म अशुद्ध हुनेछ। 32जब तीमध्ये कुनै एउटा मर्छ, र कुनै चीजमाथि खस्छ भने त्यो चीज जुनसुकै काममा प्रयोग हुने भए तापनि चाहे त्यो काठबाट बनिएको होस्, अथवा लुगा, छाला अथवा भाङ्ग्रा होस्, त्यो अशुद्ध हुनेछ। त्यसलाई पानीमा हाल्नू। त्यो साँझसम्म अशुद्ध रहनेछ; त्यसपछि त्यो शुद्ध हुनेछ। 33तीमध्ये एउटा माटोको भाँडाभित्र खस्यो भने त्यसमा भएका प्रत्येक चीज अशुद्ध हुनेछ। अनि तिमीहरूले त्यो भाँडा फोरिदिनू। 34कुनै खाने कुरामा त्यस भाँडाको पानी परेको छ भने त्यो अशुद्ध हुनेछ। अनि त्यसबाट पिउने कुनै पनि तरल पदार्थ अशुद्ध हुनेछ। 35जुनसुकै कुरोमाथि तिनीहरूमध्ये एउटाको सिनो खस्यो भने त्यो अशुद्ध हुन्छ। चुल्हो अथवा पकाउने भाँडालाई फुटाउनुपर्छ। ती अशुद्ध हुन्छ, र तिमीहरूले तिनीहरूलाई अशुद्ध ठहराउनुपर्छ। 36तरै पनि खोला अथवा पानी जम्मा गर्ने कुण्ड शुद्ध रहनेछ। तर यस्ता कुनै पनि सिनो छुने व्यक्ति अशुद्ध हुनेछ। 37कुनै रोप्नुपर्ने बिउहरूमाथि सिनो खस्यो भने ती शुद्ध नै रहन्छन्। 38तर त्यस बिउमा पानी हालिएको छ, र त्यसमाथि सिनो खस्यो भने त्यो, तिमीहरूका लागि अशुद्ध हो।
39“ ‘तिमीहरूले खान हुने कुनै पशु मर्यो र कसैले त्यसको सिनो छुन्छ भने त्यो साँझसम्म अशुद्ध रहनेछ। 40कसैले सिनोबाट केही खान्छ भने त्यसले आफ्नो लुगा धुनुपर्छ। अनि त्यो साँझसम्म अशुद्ध हुनेछ। कसैले सिनो उठाउँछ भने त्यसले आफ्नो लुगा धुनुपर्छ; र त्यो साँझसम्म अशुद्ध रहनेछ।
41“ ‘जमिनमा घस्रने प्रत्येक जन्तु घृणित हो; त्यसलाई नखानू। 42जमिनमा घस्रने जुनसुकै प्राणी, चाहे त्यो पेटको भरले घस्रने होस्, अथवा चार खुट्टाले अथवा धेरै खुट्टाहरूले घस्रने होस्, तिमीहरूले नखानू: तिनीहरू घृणित हुन्। 43तिमीहरूले यस्ता कुनै प्राणीद्वारा आफूलाई अशुद्ध नपार्नू। तिमीहरूले आफूलाई तिनीहरूको कारण अथवा तिनीहरूद्वारा अशुद्ध नपार्नू। 44म याहवेह नै तिमीहरूका परमेश्वर हुँ; तिमीहरूले आफूलाई शुद्ध पार। अनि पवित्र होओ; किनकि म पवित्र छु। जमिनमा घस्रने कुनै प्राणीद्वारा आफूलाई अशुद्ध नपार। 45तिमीहरूका परमेश्वर हुनलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने म नै याहवेह हुँ। यसकारण पवित्र होओ; किनकि म पवित्र छु।
46“ ‘पशुहरू, चराचुरुङ्गीहरू, पानीमा बस्ने प्रत्येक जीवित प्राणी र जमिनमा घस्रने प्रत्येक प्राणीको विषयमा नियमहरू यिनै हुन्। 47तिमीहरूले अशुद्ध र शुद्धको बीचमा, खान हुने र खान नहुने जीवित प्राणीको बीचमा भिन्नता राख्नुपर्छ।’ ”
Цяпер абрана:
लेवी 11: NCV
Пазнака
Капіяваць
Параўнаць
Падзяліцца
Хочаце, каб вашыя адзнакі былі захаваны на ўсіх вашых прыладах? Зарэгіструйцеся або ўвайдзіце
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.