प्रस्थान 33

33
1तब याहवेहले मोशालाई भन्‍नुभयो, “तँ र तैँले इजिप्टबाट निकालेर ल्याएका मानिसहरू यस ठाउँलाई छोडेर मैले अब्राहाम, इसहाक र याकोबलाई शपथद्वारा ‘म यो तिमीहरूका सन्तानहरूलाई दिनेछु’ भनेको देशमा जानू। 2म एउटा दूतलाई तिमीहरूको अगि-अगि पठाउनेछु; अनि कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसीहरूलाई धपाइदिनेछु। 3दूध र मह बग्ने देशमा जाओ। तर म तिमीहरूसित जानेछैनँ; किनकि तिमीहरू हठी मानिसहरू भएका हुनाले सायद म तिमीहरूलाई बाटैमा नाश गरुँला।”
4जब मानिसहरूले यस्तो पीडादायक कुरा सुने, तब तिनीहरूले शोक गर्न थाले; अनि कसैले पनि कुनै गहना लगाएनन्। 5किनकि याहवेहले मोशालाई भन्‍नुभएको थियो, “इस्राएलीहरूलाई यसो भन्, ‘तिमीहरू हठी मानिसहरू हौ। यदि म केही समयको लागि मात्र पनि तिमीहरूसित जानुपर्‍यो भने म तिमीहरूलाई भस्म पार्नेछु। अब तिमीहरूका आफ्ना गहनाहरू फुकाल र तिमीहरूलाई के गर्नुपर्छ, सो म निर्णय गर्नेछु।’ ” 6यसकारण इस्राएलीहरूले होरेब#33:6 होरेब सीनै पर्वतको अर्को नाम पर्वतमा आफ्ना सबै गहनाहरू फुकाले।
समागम पाल
7अब मोशाले एउटा पाल लिएर त्यसलाई “समागम पाल” भनेर छाउनीदेखि केही टाढासम्म टाँग्ने गर्थे। याहवेहसित भेट गर्न चाहने जोसुकै पनि छाउनीबाहिर भएको समागम पालमा जान्थ्यो। 8अनि जहिले-जहिले मोशा बाहिर पालमा निस्कन्थे, तब सबै मानिसहरू मोशा पालभित्र नपसुन्जेल आफ्ना पालहरूका प्रवेश द्वारहरूमा हेर्दै उभिरहन्थे। 9जब मोशा पालभित्र पस्थे, याहवेह तिनीसित बोल्नुहुँदा बादलको खामो ओर्लेर पालको ढोकामा खडा रहन्थ्यो। 10जब-जब मानिसहरू बादलको खामो पालको ढोकामा खडा भएको देख्थे; तिनीहरू आ-आफ्ना पालको ढोकामा उभिएर आराधना गर्दथे। 11कुनै मानिस आफ्नो मित्रसित बोलेझैँ याहवेह मोशासित आमने-सामने बोल्नुहुन्थ्यो। त्यसपछि मोशा छाउनीमा फर्कन्थे, तर तिनको जवान सहायक नूनका छोरा यहोशूले पाल छाड्दैनथे।
मोशा र याहवेहको महिमा
12मोशाले याहवेहलाई भने, “तपाईंले मलाई ‘यी मानिसहरूलाई डोर्‍याउनू,’ भन्दै आउनुभएको छ; तर तपाईंले मसित कसलाई पठाउनुहुनेछ, त्यो भन्‍नुभएको छैन। तपाईंले भन्‍नुभएको छ, ‘म त तँलाई तेरो नामले नै चिन्छु, र तँमाथि मेरो निगाह परेको छ।’ 13यदि तपाईं मसित प्रसन्‍न हुनुहुन्छ भने मलाई तपाईंका मार्ग सिकाउनुहोस्, र म तपाईंलाई चिन्‍न सकूँ; अनि तपाईंको निगाह पाइरहन सकूँ। स्मरण रहोस्, यो जाति तपाईंकै मानिसहरू हुन्।”
14याहवेहले जवाफ दिनुभयो, “मेरो उपस्थिति तँसित जानेछ; अनि म तँलाई विश्राम दिनेछु।”
15तब मोशाले उहाँलाई भने, “यदि तपाईंको उपस्थिति हाम्रो साथमा जाँदैन भने त हामीलाई यहाँबाट नलैजानुहोस्। 16तपाईं हामीसित नगएसम्म म र तपाईंका यी मानिसहरूले तपाईंको निगाह पाएका छौँ भनेर हामीले कसरी जान्‍ने? अरू के कुराले म र तपाईंका मानिसहरू पृथ्वीका सारा मानिसहरूदेखि भिन्‍नै ठहरिन्छौँ?”
17तब याहवेहले मोशालाई भन्‍नुभयो, “तैँले भनेकै कुरा म गर्नेछु; किनकि तैँले मेरो दृष्‍टिमा निगाह पाएको छस्; र मैले तँलाई तेरो नामले चिनेको छु।”
18तब मोशाले भने, “अब मलाई तपाईंको महिमा देखाउनुहोस्।”
19याहवेहले भन्‍नुभयो, “म तेरै सामु मेरो सारा भलाइ देखाउनेछु; र तेरै सामु याहवेह नामको घोषणा गर्नेछु। जसलाई म कृपा गर्न चाहन्छु, त्यसलाई म कृपा गर्नेछु। जसलाई म दया देखाउन चाहन्छु, त्यसलाई म दया देखाउनेछु।” 20उहाँले भन्‍नुभयो, “तर तैँले मेरो अनुहार हेर्न सक्दैनस्; किनकि मेरो अनुहार हेरेर कुनै मानिस जीवित रहन सक्दैन।”
21त्यसपछि याहवेहले भन्‍नुभयो, “मेरो छेउमा एउटा ठाउँ छ, जहाँ तँ चट्टानमाथि खडा हुन सक्छस्। 22जब मेरो महिमा त्यहाँबाट भएर जान्छ; म तँलाई चट्टानको धाँदोमा राख्नेछु; अनि म नगइन्जेल तँलाई आफ्नो हातले छोपिराख्नेछु। 23त्यसपछि म आफ्नो हात हटाउनेछु, र तैँले मेरो पिठिउँ देख्नेछस्; तर मेरो अनुहारचाहिँ देखिनेछैन।”

Цяпер абрана:

प्रस्थान 33: NCV

Пазнака

Капіяваць

Параўнаць

Падзяліцца

None

Хочаце, каб вашыя адзнакі былі захаваны на ўсіх вашых прыладах? Зарэгіструйцеся або ўвайдзіце