प्रस्थान 32
32
सुनको बाछो
1जब मानिसहरूले मोशा पर्वतबाट आउन ढिलो गरेका देखे, तब तिनीहरू हारूनका वरिपरि भेला भएर भने, “उठ्नुहोस्, हाम्रा अगि-अगि जानलाई हाम्रा निम्ति देवी-देवताहरू बनाउनुहोस्। हामीलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने यी मोशालाई के भयो, हामी जान्दैनौँ।”
2हारूनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूका पत्नीहरू र तिमीहरूका छोराछोरीहरूले लगाइराखेका कानका सुनका कुण्डलहरू फुकालेर मकहाँ ल्याओ।” 3यसकारण सबै मानिसहरूले आफ्ना कुण्डलहरू फुकालेर हारूनकहाँ ल्याए। 4तिनीहरूले दिएका ती चीजहरू हारूनले लिए, र त्यसलाई ढालेर हतियारले खोपेर त्यसबाट एउटा बाछाको मूर्ति बनाए। तब तिनीहरूले भने, “हे इस्राएल, तँलाई इजिप्टबाट निकालेर ल्याउने देवता यिनै हुन्।”
5जब हारूनले यो देखे, तिनले त्यस बाछाको सामु एउटा वेदी बनाएर घोषणा गरे, “भोलि याहवेहका निम्ति एउटा चाड हुनेछ।” 6यसकारण भोलिपल्ट मानिसहरूले बिहानै उठेर होमबलि चढाए र मेलबलि पनि ल्याए। त्यसपछि तिनीहरू खानपिन गर्न बसे, र मोज गर्न उठे।
7तब याहवेहले मोशालाई भन्नुभयो, “तल ओर्ली; किनकि तैँले इजिप्टबाट निकालेर ल्याएका तेरा मानिसहरू भ्रष्ट भएका छन्। 8मैले तिनीहरूलाई दिएका आज्ञाहरूबाट तिनीहरू चाँडै अर्कोतिर लागेका छन्; र तिनीहरूले आफ्ना लागि ढालिएको एउटा बाछाको रूपमा मूर्ति बनाएका छन्। तिनीहरूले त्यसलाई ढोगेर बलिहरू चढाएर भनेका छन्, ‘हे इस्राएल, तँलाई इजिप्टबाट निकालेर ल्याउने तेरा देवता यिनै हुन्।’
9“याहवेहले मोशालाई भन्नुभयो, ‘मैले यी मानिसहरूलाई देखेको छु; यिनीहरू हठी मानिसहरू हुन्।’ 10अब मलाई नरोक्, र मेरो क्रोध यिनीहरूका विरुद्धमा दन्कियोस्, र म यिनीहरूलाई भस्म पार्नेछु। तब म तँबाट नै एउटा महान् जाति बनाउनेछु।”
11तर मोशाले याहवेह आफ्ना परमेश्वरबाट कृपा मागेर भने, “हे याहवेह, तपाईंले महान् शक्ति र सामर्थी हातले इजिप्टबाट ल्याउनुभएको आफ्नो जातिको विरुद्धमा तपाईंको क्रोध किन यति साह्रो दन्केको छ? 12‘उहाँले तिनीहरूलाई पहाडी ठाउँहरूमा मारेर यस पृथ्वीबाट तिनीहरूको नामनिशानै मेटिदिने नराम्रो विचार लिएर तिनीहरूलाई निकालेर ल्याउनुभयो,’ भनेर इजिप्टियनहरूले किन भन्न पाऊन्? तपाईंको भयानक क्रोध त्याग्नुहोस्; शान्त हुनुहोस्, र आफ्ना जातिमाथि विपत्ति नल्याउनुहोस्। 13तपाईंका सेवकहरू अब्राहाम, इसहाक र याकोबलाई सम्झनुहोस्, जसलाई तपाईंले यसो भनी आफ्नै नाममा शपथ खानुभएको थियो: ‘म तेरा सन्ततिलाई आकाशका ताराहरूझैँ धेरै बनाउनेछु, र मैले तिनीहरूसित प्रतिज्ञा गरेको देश दिनेछु; अनि त्यो अनन्तसम्मका लागि तिनीहरूको उत्तराधिकार हुनेछ।’ ” 14तब याहवेह शान्त हुनुभयो, र आफूले चेतावनी दिनुभएको विपत्ति आफ्ना मानिसहरूमाथि ल्याउनुभएन।
15मोशा फर्के, र करारका ती दुई ढुङ्गाका पाटीहरू लिएर पर्वतदेखि तल ओर्ले। ती अगाडि र पछाडि, दुवैतिर खोपिएका थिए। 16ती पाटीहरू परमेश्वरका काम थिए; त्यो लेखोट पाटीहरूमा खोपिएको परमेश्वरको लेखोट थियो।
17यहोशूले मानिसहरू चिच्याएको हल्ला सुनेर मोशालाई भने, “तल छाउनीमा लडाइँको आवाज सुनिँदैछ।”
18मोशाले जवाफ दिए:
“यो सोर न त जित्नेहरूको हो,
न हार्नेहरूको हो;
म त गाउनेहरूको आवाज पो सुन्दैछु।”
19जब मोशा छाउनीमा पुगेर बाछाको मूर्ति र नाच देखे, तब तिनी रिसले आगो भए; अनि तिनले ती पाटीहरूलाई आफ्ना हातबाट फ्याँकिदिएर पर्वतको फेदीमा टुक्रा-टुक्रा पारेर फुटाइदिए। 20तिनले उनीहरूले बनाएको बाछा लिएर त्यसलाई आगोमा जलाइदिए, अनि त्यसलाई धुलोपिठो पारिदिए, र त्यसलाई पानीमा छरिदिए; अनि इस्राएलीहरूलाई त्यो पिउन लाए।
21अनि मोशाले हारूनलाई भने, “यी मानिसहरूले तपाईंलाई के गरे, र तपाईंले तिनीहरूलाई यति ठूलो पाप गर्न लाउनुभयो?”
22हारूनले जवाफ दिए, “मेरा प्रभु, नरिसाउनुहोस्। यी मानिसहरू दुष्टतातिर कतिसम्म झुकेका छन्, त्यो तपाईं जान्नुहुन्छ। 23तिनीहरूले मलाई भने, ‘हाम्रो अगि-अगि जानलाई हाम्रा निम्ति देवी-देवताहरू बनाउनुहोस्। हामीलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने यी मोशाको विषयमा तिनलाई के भयो हामी जान्दैनौँ।’ 24यसकारण मैले तिनीहरूलाई यसो भनेँ, ‘जस-जससित केही सुनका गहना छन्, त्यो फुकालून्।’ तब तिनीहरूले त्यो सुन मलाई दिए; मैले त्यसलाई आगोमा फालिदिएँ, र यसबाट यो बाछा निस्केर आयो।”
25मोशाले मानिसहरू असभ्य भइरहेका, र हारूनले तिनीहरूलाई अधीनबाहिर जान दिएर तिनीहरूका शत्रुको निम्ति हाँसोको पात्र बनेका देखे। 26यसकारण मोशा छाउनीको प्रवेशद्वारमा उभिएर भने, “जो-जो याहवेहको पक्षमा छ, मकहाँ आओस्।” अनि सबै लेवीहरू तिनीकहाँ भेला भए।
27तब तिनले उनीहरूलाई भने, “याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘प्रत्येक मानिसले तरवार भिर्नू। छाउनीको अगि र पछि एक छेउदेखि अर्को छेउसम्म प्रत्येकले आफ्नो दाजुभाइ, मित्र र छिमेकीलाई मार्दै जानू।’ ” 28लेवीहरूले मोशाले हुकुम दिएझैँ गरे; अनि त्यस दिन प्राय: तीन हजार मानिसहरू मरे। 29तब मोशाले भने, “आज तिमीहरू याहवेहका निम्ति अलग गरिएका छौ; किनकि तिमीहरू आफ्नै छोराहरू र दाजुभाइहरूका विरुद्धमा भयौ; अनि उहाँले आजको दिन तिमीहरूलाई आशिष् दिनुभएको छ।”
30भोलिपल्ट मोशाले मानिसहरूलाई भने, “तिमीहरूले ठूलो पाप गरेका छौ। तर अब म याहवेहकहाँ माथि जानेछु; सायद म तिमीहरूका पापको प्रायश्चित गर्न सक्छु कि।”
31यसकारण मोशा फर्केर याहवेहकहाँ गएर भने, “हाय, यी मानिसहरूले कति ठूलो पाप गरेका छन्! तिनीहरूले आफ्ना निम्ति सुनका देवता बनाएका छन्। 32तर अब तिनीहरूका पाप क्षमा गरिदिनुहोस्। यदि गरिदिनुभएन भने त तपाईंले लेख्नुभएको पुस्तकबाट मेरो नामनिशानै मेटिदिनुहोस्।”
33याहवेहले मोशालाई जवाफ दिनुभयो, “जसले मेरो विरुद्ध पाप गरेको छ, त्यसलाई म मेरो पुस्तकबाट मेटाउनेछु। 34अब जा, मानिसहरूलाई मैले भनेको ठाउँमा डोर्याएर लैजा, र मेरा दूत तेरो अगि-अगि जानेछन्। तरै पनि जब मैले दण्ड दिने समय आउँछ, म तिनीहरूका पापको निम्ति तिनीहरूलाई दण्ड दिनेछु।”
35अनि तिनीहरूले हारूनले बनाएका बाछालाई जे गरेका थिए, त्यसैको कारण याहवेहले मानिसहरूलाई रूढीले मार्नुभयो।
Цяпер абрана:
प्रस्थान 32: NCV
Пазнака
Капіяваць
Параўнаць
Падзяліцца
Хочаце, каб вашыя адзнакі былі захаваны на ўсіх вашых прыладах? Зарэгіструйцеся або ўвайдзіце
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.