गन्ती 9

9
निस्तार चाड
1इस्राएलीहरू इजिप्टबाट निस्किआएको दोस्रो वर्षको पहिलो महिनामा याहवेह सीनैको उजाडस्थानमा मोशासँग बोल्नुभयो। उहाँले मोशालाई आज्ञा दिनुभयो, 2“इस्राएलीहरूलाई तोकिएको समयमा निस्तार चाड मनाउन लगाउनू। 3निस्तार चाडलाई तोकिएको समयमा अर्थात् यसै महिनाको चौधौँ दिनको साँझमा त्यसका सबै नियम र विधिअनुसार मान्‍नू।”
4यसकारण मोशाले इस्राएलीहरूलाई निस्तार चाड मनाउन लगाए। 5अनि तिनीहरूले सीनैको उजाडस्थानमा पहिलो महिनाको चौधौँ दिनको साँझमा निस्तार चाड मनाए। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार नै इस्राएलीहरूले सबै गरे।
6तर तिनीहरूमध्ये कति मानिसले लासलाई छोए। त्यसकारण विधिपूर्वक अशुद्ध भएकाले त्यस दिन निस्तार चाड मनाउन सकेनन्। यसकारण तिनीहरू त्यही दिन मोशा र हारूनकहाँ आए। 7अनि तिनीहरूले मोशालाई भने, “हामीले लासलाई छोएको कारण अशुद्ध भएका छौँ; तर तोकिएको समयमा अरू इस्राएलीहरूसँग याहवेहको भेटी चढाउन हामीले किन पाउँदैनौँ?”
8मोशाले तिनीहरूलाई जवाफ दिए, “मैले याहवेहबाट तिमीहरूका निम्ति आज्ञा नपाउन्जेल यहीँ पर्खिरहो।”
9त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो, 10“इस्राएलीहरूलाई यसो भन्: ‘तिमीहरूमध्ये कोही अथवा तिमीहरूका सन्तान लासलाई छोएको कारण अशुद्ध भयो भने अथवा टाढाको यात्रामा छन् भने पनि तिनीहरूले याहवेहको निस्तार चाड मनाउन सक्छन्। 11तर तिनीहरूले त्यो दोस्रो महिनाको चौधौँ दिनको साँझमा मनाऊन्। तिनीहरूले थुमासँगै अखमिरी रोटी र तिते साग खाऊन्। 12तिनीहरूले त्यसको केही अंश पनि बिहानसम्म नराखून्, अर्थात् थुमाको कुनै हड्डी नभाचून्। तिनीहरूले निस्तार चाड मनाउँदा सबै नियमहरू पालन गरून्। 13तर यदि कोही विधिपूर्वक शुद्ध छ र यात्रामा पनि गएको छैन भने त्यस मानिसले निस्तार चाड मनाएन भने, र त्यसले तोकिएको समयमा याहवेहको भेटी चढाएन भने त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरून्। त्यसले आफ्नो पापको प्रतिफल भोग्नुपर्छ।
14“ ‘तिमीहरूसँग बासोबास गर्ने विदेशीले पनि याहवेहको निस्तार चाड मनाउन चाहन्छ भने तिनीहरूले पनि सबै नियम र विधिअनुसार मनाउनुपर्छ। विदेशी होस् वा स्वदेशी, तिमीहरू सबैका निम्ति एउटै नियम लागू हुनैपर्छ।’ ”
समागम पालमाथि बादल
15समागम पाल, साक्षी पाटीको पाल स्थापना गरेको दिन बादलले त्यसलाई ढाक्यो। साँझदेखि बिहानसम्म समागम पालमाथिको बादल आगोजस्तै देखिन्थ्यो। 16यस्तै निरन्तर भइरह्‍यो। 17जहिले-जहिले त्यो बादल समागम पालबाट उठ्थ्यो, तब इस्राएलीहरू प्रस्थान गर्थे। जब बादल अडिन्थ्यो, तब इस्राएलीहरूले पाल टाँग्ने गर्थे। 18यसरी याहवेहको आज्ञाअनुसार इस्राएलीहरू प्रस्थान गर्थे; र उहाँकै आज्ञामा तिनीहरूले पाल टाँग्ने गर्थे। जबसम्म बादल समागम पालमाथि रहन्थ्यो, तबसम्म तिनीहरू छाउनीमै रहन्थे। 19जब समागम पालमाथि बादल लामो समयसम्म रहन्थ्यो, तब इस्राएलीहरूले याहवेहको आज्ञा मान्दथे, र प्रस्थान गर्दैनथे। 20कहिलेकाहीँ बादल समागम पालमाथि केही दिनका लागि मात्र रहन्थ्यो। याहवेहको आज्ञामा तिनीहरूले पाल टाँग्ने गर्थे, र त्यसपछि उहाँकै आज्ञामा तिनीहरू प्रस्थान गर्थे। 21कहिलेकाहीँ बादल साँझदेखि बिहानसम्म मात्र रहन्थ्यो। अनि बिहान बादल हटेपछि तिनीहरू प्रस्थान गर्थे। चाहे दिन होस् अथवा रात, जब बादल हट्थ्यो, तब तिनीहरू प्रस्थान गर्थे। 22चाहे बादल दुई दिन अथवा एक महिना वा एक वर्षसम्म समागम पालमाथि रहिरहोस्, तापनि इस्राएलीहरू प्रस्थान नगरी पालमै बस्दथे। तर जब बादल हट्थ्यो, तब तिनीहरू फेरि प्रस्थान गर्थे। 23याहवेहको आज्ञामा तिनीहरूले पाल टाँग्थे र याहवेहकै आज्ञामा तिनीहरू प्रस्थान गर्थे। मोशाद्वारा याहवेहले दिनुभएको आज्ञाअनुसार तिनीहरूले उहाँको आदेश पालन गर्थे।

Kleurmerk

Kopieer

Vergelyk

Deel

None

Wil jy jou kleurmerke oor al jou toestelle gestoor hê? Teken in of teken aan