मर्कूस 1

1
बप्‍तिस्मा दिने यूहन्‍नाले बाटो तयार पारेका
1परमेश्‍वरका पुत्र,#1:1 केही प्राचीन पा.लि.हरूमा परमेश्‍वरका पुत्र भन्‍ने शब्द पाइँदैन येशू ख्रीष्‍टको विषयमा सुसमाचारको सुरुवात, 2यशैया अगमवक्ताको पुस्तकमा यसरी लेखिएको छ:
“म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु,
जसले तिम्रो बाटो तयार पार्नेछन्।”#1:2 मला 3:1
3“उजाडस्थानमा एक जना कराउनेको आवाज,
‘प्रभुका निम्ति बाटो तयार पार,
उहाँका निम्ति मार्ग सीधा बनाओ।’#1:3 यशै 40:3
4यसरी बप्‍तिस्मा दिने यूहन्‍ना उजाडस्थानका इलाकामा पाप क्षमाका लागि पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए। 5यहूदियाका सम्पूर्ण गाउँका मानिसहरू र यरूशलेमका मानिसहरू तिनीकहाँ गए, र आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिए। 6यूहन्‍नाले ऊँटको रौँबाट बनेको वस्त्र लाउँथे। कम्मरमा छालाको पेटी बाँध्दथे; अनि तिनले सलह र वन-मह खान्थे। 7तिनको सन्देश यस्तो थियो: “म पछि मभन्दा शक्तिशाली एक जना आउनुहुनेछ, जसका जुत्ताको फित्ता निहुरेर फुकाउन योग्यको म छैनँ।#1:7 म उहाँका सेवकहरूमध्येको एक हुन पनि लायकको छैन 8म तिमीहरूलाई पानीले मात्र बप्‍तिस्मा दिन्छु, तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुनेछ।”
येशूको बप्‍तिस्मा र परीक्षा
9त्यस बेला येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाद्वारा यर्दनमा बप्‍तिस्मा लिनुभयो। 10जब येशू पानीबाट बाहिर निस्केर आउँदैहुनुहुन्थ्यो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मालाई ढुकुरझैँ उहाँमाथि ओर्लंदै गर्नुभएको देख्नुभयो। 11अनि स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, जसलाई म प्रेम गर्छु; तिमीसँग म अति प्रसन्‍न छु।”
12पवित्र आत्माले उहाँलाई तुरुन्तै उजाडस्थानमा लैजानुभयो, 13अनि उहाँ उजाडस्थानमा शैतानद्वारा परीक्षित हुँदै चालीस दिनसम्म जङ्गली जनावरहरूसित रहनुभयो। उहाँलाई स्वर्गदूतहरूले सेवाटहल गरे।
प्रथम चेलाहरूको बोलावट
14यूहन्‍ना झ्यालखानामा हालिएपछि येशू परमेश्‍वरको सुसमाचार घोषणा गर्दै गालील प्रदेशमा जानुभयो। 15उहाँले भन्‍नुभयो, “समय पूरा भइसकेको छ, परमेश्‍वरको राज्य नजिकै आइपुगेको छ। पश्‍चात्ताप गर र सुसमाचारमा विश्‍वास गर!”
येशूद्वारा प्रथम चेलाहरूको बोलावट
16जब येशू गालील समुद्रको किनारमा हिँड्दैहुनुहुन्थ्यो, उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई तालमा जाल हान्दै गरेका देख्नुभयो; किनकि तिनीहरू मछुवा थिए। 17येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” 18त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडे, र उहाँको पछि लागे।
19उहाँ अलि पर पुगेपछि, उहाँले जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्‍नालाई डुङ्गामा आफ्ना जाल तयार गरिरहेका देख्नुभयो। 20तुरुन्तै उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले आफ्ना बुबा जब्दीलाई ज्यालादारहरूको साथमा डुङ्गामा छोडेर उहाँको पछि लागे।
येशूले अशुद्ध आत्मा निकाल्नुभएको
21उहाँहरू कफर्नहुममा जानुभयो, अनि शब्बाथ सुरु हुनेबित्तिकै येशू सभाघरमा गएर शिक्षा दिन थाल्नुभयो। 22मानिसहरू उहाँको शिक्षामा छक्‍क परे; किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैँ होइन, तर अधिकार भएको व्यक्तिले झैँ सिकाउनुभयो। 23त्यति नै बेला अशुद्ध आत्मा लागेको एक जना मानिस सभाघरमा यसरी करायो, 24“हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्‍ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु, तपाईं परमेश्‍वरको पवित्र जन हुनुहुन्छ!”
25येशूले त्यसलाई हकारेर भन्‍नुभयो, “चुप लाग्! त्यसबाट निस्किजा!” 26अशुद्ध आत्माले त्यस मानिसलाई जोडसित हल्‍लायो, र चिच्याएर त्यसबाट निस्क्यो।
27तब ती मानिसहरू अति छक्‍क परे, तिनीहरूले एक-अर्कालाई भने, “यो के हो? अधिकार सहितको नयाँ शिक्षा हो? यिनले त अशुद्ध आत्माहरूलाई पनि आज्ञा दिन्छन्, र तिनीहरूले यिनको आज्ञा मान्दछन्।” 28उहाँको विषयमा यो खबर सारा गालील प्रदेशभरि फैलियो।
येशूले धेरैलाई निको पार्नुभएको
29उहाँहरूले सभाघर छोड्नसाथ उहाँहरू याकोब र यूहन्‍नासित सिमोन र अन्द्रियासको घरमा जानुभयो। 30त्यस ठाउँमा सिमोनकी सासू ज्वरोले थलिएकी थिइन्, र तुरुन्तै तिनीहरूले येशूलाई तिनको विषयमा भने। 31येशू तिनीकहाँ जानुभयो, र तिनको हात पक्रेर उठ्नलाई सहायता गर्नुभयो। ज्वरोले तिनलाई छोडिहाल्यो; अनि तिनले उहाँहरूको सेवा गरिन्।
32त्यो साँझ घाम अस्ताएपछि मानिसहरूले सबै रोगीहरू र दुष्‍ट आत्मा लागेका धेरैजनालाई येशूकहाँ ल्याए। 33सहरका सारा मानिसहरू ढोकामा नै भेला भए; 34अनि येशूले विभिन्‍न किसिमका रोग लागेका धेरैलाई निको पार्नुभयो। उहाँले धेरै भूतहरूलाई धपाउनुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन; किनभने तिनीहरूले उहाँ को हुनुहुन्छ भनी जान्दथे।
येशूले एकान्तमा प्रार्थना गर्नुभएको
35एकाबिहानै, उज्यालो हुनुभन्दा पहिले नै येशू उठेर घरबाट निस्कनुभयो र एउटा एकान्त ठाउँमा गएर त्यहाँ उहाँले प्रार्थना गर्नुभयो। 36सिमोन र तिनका साथीहरू उहाँलाई खोज्न गए। 37जब उहाँलाई भेट्टाए, तिनीहरूले भने: “सबैले तपाईंलाई खोज्दैछन्!”
38येशूले जवाफ दिनुभयो, “हामी अरू नै कतै छेउछाउका गाउँहरूमा जाऔँ, ताकि त्यहाँ पनि म प्रचार गर्न सकूँ; किनकि म यसैका लागि आएको हुँ।” 39यसरी उहाँ गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरू निकाल्दै यात्रा गर्नुभयो।
येशूले कुष्‍ठरोग लागेको मानिसलाई निको पार्नुभएको
40एक जना कुष्‍ठरोग लागेको मानिस उहाँकहाँ आएर घुँडा टेक्दै उहाँसित बिन्ती गर्‍यो, “यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।”
41दयाले भरिएर येशूले आफ्नो हात पसारेर त्यस मानिसलाई छुनुभयो र उहाँले भन्‍नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ!” 42तुरुन्तै कुष्‍ठरोगले त्यसलाई छोड्यो, र त्यो शुद्ध भयो।
43येशूले त्यसलाई कडा चेतावनी दिँदै पठाउनुभयो: 44“यो कुरा कसैलाई नभन्‍नू; तर जाऊ, आफैँलाई पुजारीकहाँ देखाऊ, र मोशाले तिमीहरूको शुद्धीकरणका निम्ति दिएका आज्ञाअनुसार तिनीहरूका साक्षीको लागि बलिदानहरू चढाऊ।” 45तर त्यो बाहिर गयो, र खुल्‍लमखुल्‍ला त्यो खबर फैलाउन थाल्यो। त्यसकारण उहाँ सहरमा पस्‍न सक्नुभएन, र बाहिर एकान्त ठाउँहरूमा रहनुभयो। तैपनि हरेक ठाउँबाट मानिसहरू उहाँकहाँ आए।

Kleurmerk

Kopieer

Vergelyk

Deel

None

Wil jy jou kleurmerke oor al jou toestelle gestoor hê? Teken in of teken aan

Video vir मर्कूस 1