उत्पत्ति 18

18
तीन आगन्तुकहरू
1दिउँसोको गर्मीमा मम्रेका ठूला फलाँटका रूखहरू नजिक आफ्नो पालको प्रवेशद्वारमा अब्राहाम बसिरहेका बेला याहवेह तिनीकहाँ देखा पर्नुभयो। 2अब्राहामले आँखा उठाएर हेरे; र तीन जना मानिसहरूलाई तिनको छेउमा उभिरहेका देखे। जब तिनले उहाँहरूलाई देखे, तब तिनी आफ्नो पालको प्रवेशद्वारबाट उहाँहरूलाई भेट्न भनी दौडेर गए; र भुइँसम्मै घोप्टो परेर दण्डवत् गरे।
3तिनले भने, “हे मेरा प्रभु, यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने तपाईंको सेवककहाँ एकछिन नबसी यत्तिकै नगइदिनुहोस्। 4मलाई पानी ल्याउन दिनुहोस्, र आफ्ना पाउ धोएर यस रूखमुनि आराम गर्नुहोस्। 5अब तपाईंहरू आफ्ना सेवककहाँ आउनुभएकोले मलाई केही खानेकुरा ल्याउन दिनुहोस्; अनि तपाईंहरू खानुहोस् र थकाइ मार्नुहोस्, र त्यसपछि आफ्नो बाटो लाग्नुहोला।”
उहाँहरूले भने, “हुन्छ, तिमीले भनेझैँ गर।”
6यसकारण अब्राहाम हतार-हतार गर्दै पालभित्र साराकहाँ गएर भने, “लौ झट्टै तीन सिया#18:6 लगभग 16 किलो मसिनो पिठो तयार पारी मुछेर केही रोटी बनाऊ।”
7तब अब्राहाम बगाल भएको ठाउँमा दौडेर गए, र एउटा कलिलो बाछो छानेर आफ्नो सेवकलाई दिए। उसले तुरुन्तै काटकुट गरेर पकायो। 8तब तिनले दही, दूध र बाछाको मासु ल्याए, र उहाँहरूका सामु टक्र्याइदिए। अनि उहाँहरूले खाउन्जेल तिनीचाहिँ उहाँहरूकै छेउमा रूखमुनि उभिरहे।
9तब उहाँहरूले अब्राहामलाई सोधे “तिम्री पत्नी सारा कहाँ छिन्?”
तिनले भने, “त्यहीँ पालभित्र छिन्।”
10उहाँहरूमध्ये एक जनाले भने, “निश्‍चय नै म आउँदो वर्ष यसै समयमा तिमीकहाँ फर्किआउनेछु; तब तिम्री पत्नी साराको साथमा एउटा छोरा हुनेछ।”
अब साराले चाहिँ यो कुरा अब्राहामको पछिल्तिर भएको पालको प्रवेशद्वारबाट सुनिरहेकी थिइन्। 11अब्राहाम र सारा निकै बुढाबुढी भइसकेका थिए; अनि साराको बच्‍चा जन्माउने उमेर पनि कटिसकेको थियो। 12यसकारण सारा मनमनै हाँसिन् र भनिन्, “म बुढी भइसकेकी छु, र मेरा पति पनि वृद्ध भइसक्नुभएको छ; अब के मलाई साँच्‍चै यो सुख प्राप्‍त होला?”
13तब याहवेहले अब्राहामलाई भन्‍नुभयो, “म बुढी भइसकेकीले के साँच्‍चै बच्‍चा जन्माउन सकुँली र? भन्दै सारा किन हाँसी? 14के याहवेहका निम्ति कुनै कुरा कठिन छ र? म तोकिएको समयमा अर्को वर्ष तिमीकहाँ फर्किआउनेछु, र साराको एउटा छोरा हुनेछ।”
15सारा डराइन्, र ढाँट्दै यसो भनिन्, “अहँ, म हाँसिनँ।”
तर उहाँले भन्‍नुभयो, “हो, तँ हाँसेकै थिइस्।”
सदोमका लागि अब्राहामको अन्तर्बिन्ती
16जब ती मानिसहरू जान तयार भए, तब तिनीहरूले तल सदोमतिर हेरे; अनि उहाँहरूलाई अलिक परसम्म पुर्‍याउन अब्राहाम पनि सँगै गए। 17तब याहवेहले भन्‍नुभयो, “मैले जे गर्न लागेको छु, के म त्यो कुरा अब्राहामबाट लुकाऊँ? 18निश्‍चय नै अब्राहामको वंश एउटा महान् र शक्तिशाली राष्ट्र बन्‍नेछ, र पृथ्वीका सबै राष्ट्रहरूले ऊद्वारा नै आशिष् पाउनेछन्। 19किनकि मैले उसलाई चुनेको छु, ताकि उसले आफ्ना छोराछोरी र त्यसपछिका आफ्ना घरानालाई जे ठिक र न्यायसङ्गत छ, सो गर्दै याहवेहको वचनको पालन गर्न आदेश गर्नेछ। त्यसपछि म अब्राहामका निम्ति सबै कुरा पूरा गर्नेछु, जुन मैले प्रतिज्ञा गरेको छु।”
20तब याहवेहले भन्‍नुभयो, “सदोम र गमोराको विरुद्धमा उठेको आक्रोश अत्यन्तै ठूलो छ; अनि तिनीहरूको कुकर्म अति नै भएकोले, 21मकहाँ आएको तिनीहरूको गुनासो सही हो कि होइन भनी हेर्न अब म तल जानेछु। यदि होइन रहेछ भने म थाहा गर्नेछु।”
22यसकारण ती मानिसहरू फर्केर सदोमतिर गए; तर अब्राहामचाहिँ याहवेहकै सामु उभिरहे। 23तब अब्राहाम उहाँको नजिक गएर भने: “के तपाईंले दुष्‍टहरूसँगै धर्मीलाई पनि नाश गर्नुहुन्छ? 24यदि त्यस सहरमा पचास जना धर्मी मानिस रहेछन् भने के तपाईंले त्यस सहरलाई साँच्‍चै नाश गर्नुहुनेछ? के ती पचास धर्मी मानिसको खातिर त्यस ठाउँलाई छोडिदिनुहुन्‍न? 25तपाईंबाट यस्तो पटक्‍कै नहोस्—धर्मीलाई पापीसँग मार्ने, र धर्मी र पापीलाई एउटै व्यवहार गर्ने काम तपाईंबाट नहोस्! तपाईंबाट यस्तो कदापि नहोस्! के सारा पृथ्वीका न्यायकर्ताले ठिक न्याय गर्नुहुन्‍न र?”
26तब याहवेहले भन्‍नुभयो, “यदि मैले सदोम सहरमा पचास जना धर्मी मानिस पाएँ भने म तिनीहरूका खातिर सम्पूर्ण सहरलाई नाश गर्नेछैनँ।”
27त्यसपछि अब्राहामले फेरि भने: “हुन त म धुलो र खरानीबाहेक केही होइनँ, तापनि मैले प्रभुसँग बोल्ने साहस गरेको छु। 28यदि त्यस सहरमा पाँच कम पचास जना धर्मी मानिस रहेछन् भने के पाँच जना धर्मी कम भएको कारण तपाईंले सम्पूर्ण सहरलाई नाश गर्नुहुनेछ?”
उहाँले भन्‍नुभयो, “यदि मैले पैँतालीस जना पाएँ भने पनि म त्यसलाई नाश गर्नेछैनँ।”
29एक पल्ट फेरि तिनले भने, “यदि चालीस जना मात्र पाइए भने नि?”
उहाँले भन्‍नुभयो, “चालीस जनाको खातिर पनि म त्यसो गर्नेछैनँ।”
30तब तिनले भने, “प्रभु, रिसानी माफ पाऊँ, तर म अझै बोल्न पाऊँ। यदि तीस जना मात्र पाइए भने?”
उहाँले जवाफ दिनुभयो “यदि तीस जना मात्र पाएँ भने तापनि म त्यसो गर्नेछैनँ।”
31अब्राहामले भने, “मैले फेरि प्रभुसित बोल्न साहस गरेको छु; यदि त्यहाँ बीस जना मात्रै पाइए भने नि?”
उहाँले भन्‍नुभयो, “बीस जनाको खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ।”
32तब तिनले भने, “प्रभु रिसानी माफ पाऊँ; तर अब एक पल्ट मात्रै बोल्न पाऊँ। यदि दश जना मात्र त्यहाँ पाइए भने?”
अनि उहाँले भन्‍नुभयो, “दश जनाको खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ।”
33अब्राहामसित कुरा गरिसक्नुभएपछि याहवेह गइहाल्नुभयो; अनि अब्राहामचाहिँ आफ्नो घरमा फर्के।

Kleurmerk

Kopieer

Vergelyk

Deel

None

Wil jy jou kleurmerke oor al jou toestelle gestoor hê? Teken in of teken aan

Video vir उत्पत्ति 18