प्रस्थान 31
31
बजलेल र ओहोलीआब
1तब याहवेहले मोशालाई भन्नुभयो, 2“हेर्, मैले यहूदा कुलको हूरको नाति ऊरीको छोरा बजलेललाई चुनेको छु। 3अनि मैले त्यसलाई मेरो आत्मा, बुद्धि, समझ, ज्ञान र कारिगरीका सबै दक्षताले भरेको छु। 4त्यसले सुन, चाँदी र काँसोका कामहरू, 5पत्थर काटेर जड्ने काम, काठको काम, र सबै किसिमका कारिगरी गर्नेछ। 6यसबाहेक त्यसलाई सघाउन भनी मैले दानको कुलको अहीसामाकको छोरा ओहोलीआबलाई नियुक्त गरेको छु।
“मैले तँलाई आज्ञा गरेका सबै कुरा बनाउनलाई सबै दक्ष कामदारहरूलाई पनि मैले सिप दिएको छु:
7“समागम पाल,
साक्षी पाटीको सन्दुक, र त्यसमाथि भएको पाप समाधान-स्थान,
र पालका अरू सबै सामग्रीहरू—
8टेबुल र त्यसका सामग्रीहरू,
निखुर सुनको सामदान र त्यसका सबै सामग्रीहरू,
धूपको वेदी,
9होमबलिको वेदी र त्यसका सबै पात्रहरू,
काँसोका बाटा र त्यसलाई उभ्याउने सामानहरू—
10बुनेका पोशाकहरू पनि,
हारून पुजारीका पवित्र पोशाकहरू,
पुजारी भई सेवा गर्दा लगाउने तिनका छोराहरूका पोशाकहरू,
11अभिषेक गर्ने तेल र पवित्रस्थानको लागि सुगन्धित धूप।
“मैले तँलाई आज्ञा गरेअनुसार नै तिनीहरूले यी सबै कुराहरू ठिकठिक बनाउनुपर्छ।”
शब्बाथ
12तब याहवेहले मोशालाई भन्नुभयो, 13“इस्राएलीहरूलाई भन्, ‘तिमीहरूले मेरो शब्बाथ पालन गर्नू। आउने पुस्ताहरूका लागि मेरो र तिमीहरू बीचको चिन्ह यो हुनेछ, ताकि तिमीहरूले जान्नेछौ कि म याहवेह हुँ, जसले तिमीहरूलाई पवित्र बनाउँछु।
14“ ‘शब्बाथ मान्नू; किनकि यो दिन तिमीहरूका लागि पवित्र छ। जसले यसलाई अपवित्र पार्छ, त्यो मारिनुपर्छ; जसले यस दिनमा काम गर्छ, त्यसलाई मानिसहरूबाट बहिष्कार गरिनुपर्छ। 15छ दिनसम्म काम गरिनुपर्छ, तर सातौँ दिनचाहिँ शब्बाथ विश्रामदिन हो, जुन याहवेहका निम्ति पवित्र छ। जसले शब्बाथ विश्रामदिनमा काम गर्छ, त्यो मारिनुपर्छ। 16इस्राएलीहरूले शब्बाथलाई आउने पुस्ताहरूका लागि सधैँको करारको रूपमा मनाउनुपर्छ। 17मेरो र इस्राएलीहरूको बीचमा यो अनन्तका लागि चिन्ह हुनेछ; किनकि याहवेहले छ दिनमा आकाश र पृथ्वी बनाउनुभयो; अनि सातौँ दिनमा उहाँले काम गर्नुभएन, तर आरामले विश्राम लिनुभयो।’ ”
18परमेश्वरले मोशासित सीनै पर्वतमा कुरा गरिसक्नुभएपछि उहाँका आफ्ना औँलाले लेखेका दुई वटा साक्षीका ढुङ्गा पाटीहरू उनलाई दिनुभयो।
Tans Gekies:
प्रस्थान 31: NCV
Kleurmerk
Kopieer
Vergelyk
Deel
Wil jy jou kleurmerke oor al jou toestelle gestoor hê? Teken in of teken aan
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.