यूहन्ना 21
21
येशू र सात जना चेलाहरू
1यसपछि येशू तिबेरियास तालको किनारमा फेरि चेलाहरूकहाँ देखा पर्नुभयो; अनि यो यस प्रकारले भयो: 2सिमोन पत्रुस, थोमा (दिदुमस), गालीलको कानाका नथानेल, जब्दीका छोराहरू र अरू दुई चेलाहरू सँगसँगै थिए। 3सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जान्छु।” अनि तिनीहरूले भने, “हामी पनि तिमीसँगै जान्छौँ।” अनि तिनीहरू गए, र डुङ्गामा चढे; तर तिनीहरूले रातभरि पनि एउटै माछा मार्न सकेनन्।
4बिहानको मिरमिरेमा येशू किनारमा उभिनुभएको थियो; तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिन्न सकेनन्।
5उहाँले तिनीहरूलाई बोलाएर भन्नुभयो, “हे बालकहरू हो! तिमीहरूसँग केही माछाहरू छन् कि?”
“छैन,” तिनीहरूले उत्तर दिए।
6उहाँले फेरि भन्नुभयो, “डुङ्गाको दाहिनेपट्टि जाल हान, र तिमीहरूले केही भेट्टाउनेछौ।” तिनीहरूले त्यसै गरे, र जालमा यति धेरै माछाहरू पर्यो कि तिनीहरूले जाल तान्नै सकेनन्।
7तब येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु नै हुनुहुन्छ! उहाँ प्रभु हुनुहुन्छ,” भन्ने सुन्नसाथ सिमोन पत्रुसले आफ्नो खास्टो कम्मरमा बेह्रेर पानीमा हाम फाले (किनकि तिनले लुगा फुकालेका थिए)। 8अरू चेलाहरू एउटा सानो डुङ्गामा माछाले भरिएका जाललाई तान्दै आए। किनकि किनार प्रायः नब्बे मिटर जति मात्र टाढा थियो। 9किनारमा आइपुगेपछि तिनीहरूले आगोको भुङ्ग्रोमा माछा राखिएका र केही रोटी देखे।
10येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले भर्खरै पक्रेका माछाबाट केही ल्याओ।” 11सिमोन पत्रुसले डुङ्गामा चढेर जाललाई तानेर किनारमा ल्याए। गन्ती गर्दा एक सय त्रिपन्न वटा ठूला-ठूला माछा परेका रहेछन्, तर यति धेरै भए तापनि जाल फाटेको थिएन। 12येशूले तिनीहरूलाई भन्नुभयो, “आएर खाओ।” चेलाहरूले उहाँलाई “तपाईं को हुनुहुन्छ?” भनी सोध्ने हिम्मत गरेनन्। उहाँ प्रभु हुनुहुन्छ भनी तिनीहरूले जान्दथे। 13येशू आएर रोटी लिनुभयो; र तिनीहरूलाई दिनुभयो, र माछा पनि दिनुभयो। 14येशू मृत्युबाट जीवित हुनुभएपछि चेलाहरूसँग देखा पर्नुभएको यो तेस्रो पल्ट थियो।
येशूले पत्रुसलाई पुनर्स्थापित गर्नुभएको
15तिनीहरूले भोजन गरिसकेपछि येशूले सिमोन पत्रुसलाई भन्नुभयो, “ए यूहन्नाका छोरा सिमोन, यिनीहरूभन्दा के तिमी मलाई बढ्ता प्रेम गर्छौ?”
पत्रुसले भने, “ज्यू प्रभु, म तपाईंलाई प्रेम गर्छु भन्ने कुरा तपाईं जान्नुहुन्छ।”
येशूले भन्नुभयो, “मेरा साना भेडाहरूलाई खुवाऊ।”
16येशूले प्रश्न दोहोर्याउनुभयो, “ए यूहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?”
पत्रुसले भने, “हजुर प्रभु, म तपाईंलाई प्रेम गर्छु भन्ने कुरा तपाईं जान्नुहुन्छ।”
“मेरा भेडाहरूको राम्ररी हेरचाह गर,” येशूले भन्नुभयो।
17उहाँले तेस्रो पल्ट तिनलाई भन्नुभयो, “ए यूहन्नाका छोरा सिमोन, के तिमी मलाई साँच्चै प्रेम गर्छौ?”
येशूले तेस्रो पल्ट “के तिमी मलाई प्रेम गर्दछौ?” भनी सोध्नुभएकोमा पत्रुस दुःखित भए। उनले भने, “प्रभु! तपाईं सबै कुरा जान्नुहुन्छ। तपाईंलाई थाहा छ, म तपाईंलाई प्रेम गर्छु।”
येशूले भन्नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ। 18म तिमीलाई साँचो-साँचो भन्दछु, जब तिमी जवान थियौ, तब आफैँ लुगा लगाउँथ्यौ, र आफ्नो इच्छाअनुसार जहाँकहीँ पुग्न सक्थ्यौ। तर जब तिमी बूढा हुनेछौ, तब तिमीले आफ्ना हातहरू पसार्नेछौ, र अरूले तिमीलाई लुगा लगाइदिनेछ र तिमीले नचाहेको ठाउँमा तिमीलाई लैजानेछ।” 19पत्रुसको मृत्युद्वारा कसरी परमेश्वरको महिमा हुनेछ भनी त्यसको जानकारी दिन येशूले उनलाई यसो भन्नुभएको थियो। त्यसपछि उहाँले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ!”
20पत्रुसले पछिल्तिर फर्केर हेर्दा येशूले प्रेम गर्नुभएको चेलाले उहाँहरूलाई पछ्याउँदै गरेको देखे। (बेलुकीको भोजनमा उहाँसँग अडिएर, “गुरुज्यू, हामीमध्ये तपाईंलाई कसले चाहिँ विश्वासघात गर्नेछ?” भनेर सोध्ने व्यक्ति यिनै थिए।) 21तिनलाई देखेर पत्रुसले येशूलाई सोधे, “प्रभु! यिनको चाहिँ के हुने हो?”
22येशूले उत्तर दिनुभयो, “यदि मैले म फर्किनआउन्जेल उनी बाँचिरहून् भनी चाहना गरेँ भने पनि यसको तिमीलाई के सरोकार? तिमीले चाहिँ मलाई पछ्याऊ!” 23यसकारण विश्वासीहरूका बीचमा त्यो चेलाचाहिँ मर्नेछैन भन्ने हल्ला फिँजियो, तर येशूले तिनी मर्नेछैनन् भनी भन्नुभएको थिएन। उहाँले यति मात्र भन्नुभएको थियो, “यदि मैले म फर्किनआउन्जेल उनी बाँचिरहून् भन्ने चाहना गरेँ भने तापनि यसको तिमीलाई के सरोकार?”
24यी कुराको विषयमा साक्षी दिने, र लेख्ने चेला यिनै हुन्। अनि हामी जान्दछौँ, यिनको साक्षी सत्य छ।
25येशूले गर्नुभएका अरू पनि धेरै कामहरू छन्। यदि ती सबै एक-एक गरी लेखिएका भए मेरो अनुमानमा लेखिएका ती पुस्तकहरू संसारभरि पनि अटाउनेथिएनन् होला।
Trenutno izbrano:
यूहन्ना 21: NCV
Označeno
Kopiraj
Primerjaj
Deli
Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.