प्रेरित 1

1
येशू स्वर्गमा उठाइलगिनुभएको
1प्रिय थियोफिलस, मैले मेरो पहिलो पुस्तकमा येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका बारेमा लेखेको छु। 2उहाँले चुन्‍नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा आज्ञा दिनुभएको दिनदेखि उहाँ स्वर्गमा उठाएर लगिनुभएको दिनसम्मको वृत्तान्त मैले मेरो त्यसै पुस्तकमा वर्णन गरिसकेको छु। 3आफूले दुःख सहनुभएपछि, उहाँ ती मानिसहरूका सामु प्रकट हुनुभयो र आफू जीवित हुनुभएको विश्‍वासलाग्दा धेरै प्रमाणहरू तिनीहरूलाई दिनुभयो। तिनीहरूका सामु उहाँ चालीस दिनसम्म देखा परिरहनुभयो र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो। 4तिनीहरूसँगै भोजन गरिरहेको बेला एक पल्ट तिनीहरूलाई उहाँले यस्तो आज्ञा दिनुभयो: “मैले तिमीहरूलाई भनेका मेरा पिताको प्रतिज्ञाको वरदानलाई पर्खेर बस्‍नू। त्यो प्राप्‍त नभएसम्म यरूशलेमलाई नछोड्नू। 5किनकि यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर केही दिनमा तिमीहरूले पवित्र आत्माले बप्‍तिस्मा पाउनेछौ।”
6तब तिनीहरू उहाँको वरिपरि भेला भए र उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले यसै समयमा इस्राएलको राज्य पुनर्स्थापना गराउनुहुन्छ?”
7उहाँले तिनीहरूलाई भन्‍नुभयो: “पिताले आफ्नो अधिकारद्वारा तोक्नुभएको समय वा मिति जान्‍ने काम तिमीहरूको होइन। 8तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ; र तिमीहरू यरूशलेममा, सम्पूर्ण यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म नै मेरा साक्षी हुनेछौ।”
9उहाँले यति भनिसक्नुभएपछि तिनीहरूका आँखाकै सामु उहाँ माथि स्वर्गमा लगिनुभयो। अनि तिनीहरूको दृष्‍टिबाट उहाँ बादलभित्र लोप हुनुभयो।
10उहाँ आकाशतिर माथि जाँदै गर्नुहुँदा तिनीहरू एक टकले हेरिरहेका थिए, तब त्यसै बेला अकस्मात् सेता पोशाकमा दुई जना मानिस तिनीहरूका नजिक प्रकट भए। 11तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, आकाशतिर हेर्दै तिमीहरू किन उभिरहेका छौ? तिमीहरूका बीचबाट स्वर्ग लगिइनुभएको यही येशू, जसरी अहिले स्वर्ग जानुभएको तिमीहरूले देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ।”
यहूदाको साटो मतियासको छनौट
12त्यसपछि प्रेरितहरू जैतुनको पहाड भनिने डाँडाबाट यरूशलेम फर्के। यो ठाउँ यरूशलेम सहरदेखि झण्डै एक शब्बाथको बाटो#1:12 करिब एक किलोमिटर टाढा पर्दछ। 13तिनीहरू त्यहाँ आइपुगेपछि, तिनीहरू आफू बसेको माथिल्‍लो तलाको कोठामा गए।
पत्रुस, यूहन्‍ना, याकोब र अन्द्रियास,
फिलिप र थोमा,
बारथोलोमाइ र मत्ती,
अल्फयसको छोरा याकोब र सिमोन कनानी र याकोबको छोरा यहूदा उपस्थित थिए।
14येशूकी आमा मरियम, उहाँका भाइहरू र अन्य महिलाहरूसँग मिलेर तिनीहरू निरन्तर प्रार्थनामा लागिरहे।
15ती दिनमा पत्रुस, दाजुभाइ-दिदीबहिनीहरूका (तिनीहरूका संख्या करिब एक सय बीस थियो) बीचमा उभिए, 16र भने, “दाजुभाइ-दिदीबहिनीहरू हो, येशूलाई पक्राउनेहरूको अगुवा यहूदाको बारेमा पवित्र आत्माले दावीदको मुखद्वारा जे वचन धेरै पहिल्यै बोल्नुभएको थियो, पवित्रशास्त्रको त्यो वचन पूरा हुनैपर्थ्यो। 17किनकि त्यो पनि हामीहरूमध्येकै एक थियो, र त्यो हाम्रै सेवाको एउटा साझेदार पनि थियो।”
18(आफ्नो दुष्‍टतापूर्ण कामको इनामबाट यहूदाले एउटा खेत किन्यो। त्यही खेतमा त्यो उँधोमुन्टो भई खस्यो र त्यसको भुँडी फुट्यो, र त्यसका सबै आन्द्राभुँडी बाहिर छरपस्ट भए। 19यरूशलेमका हरेक मानिसले यो कुरा थाहा पाए। यसैकारण तिनीहरूले आफ्नो भाषामा त्यस खेतलाई आखेल्दामा अर्थात् रगतको खेत भनी नाम राखे।)
20पत्रुसले भने, “किनकि भजनहरूको पुस्तकमा लेखिएको छ,
“ ‘त्यसको ठाउँ उजाड होस्;
त्यहाँ बास गर्ने कोही नहोस्,’#1:20 भजन 69:25
र,
“ ‘त्यसको नेतृत्वको ठाउँ अरूले लेओस्।’#1:20 भजन 109:8
21यसैकारण एक जना यस्तो व्यक्ति छान्‍नु आवश्यक छ, जो प्रभु येशू हाम्रा साथमा हुनुहुँदा सबै कुराको साक्षी थियो। 22त्यो मानिस यूहन्‍नाको बप्‍तिस्माको समयदेखि सुरु गरेर येशू हामीबाट माथि उठाइ लगिइनुभएको बेलासम्म हामीसँगै रहेको हुनुपर्दछ। किनकि तीमध्ये एक जना हामीसँगै उहाँ पुनरुत्थान हुनुभएको साक्षी हुनैपर्दछ।”
23त्यसैले तिनीहरूले बर्साबास भनिने योसेफ (जसलाई युस्तस पनि भनिन्थ्यो) र मतियास गरी दुई जनालाई प्रस्ताव गरे। 24अनि तिनीहरूले प्रार्थना गरे, “प्रभु, तपाईं सबै मानिसहरूका हृदयका कुरा जान्‍नुहुन्छ। यी दुईमध्ये कसलाई तपाईंले छनौट गर्नुभएको छ, हामीलाई देखाइदिनुहोस्। 25अनि त्यसले यो प्रेरितको सेवाको काम गर्न सकोस्, जुन सेवाका निम्ति छानिएको ठाउँ छोडेर यहूदा आफ्नो निज ठाउँमा गयो।” 26त्यसपछि तिनीहरूले गोला हाले, र गोला मतियासको नाममा पर्‍यो। त्यसैले तिनी एघार प्रेरितहरूसँग थपिए।

Označeno

Kopiraj

Primerjaj

Deli

None

Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi