भजनसंग्रह 145:13-21

भजनसंग्रह 145:13-21 NCV

तपाईंको राज्य अनन्तको राज्य हो, र तपाईंको प्रभुत्व पुस्तौँ-पुस्तासम्म रहिरहन्छ। आफ्ना सबै प्रतिज्ञामा याहवेह भरोसायोग्य हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै थोकप्रति विश्‍वासयोग्य हुनुहुन्छ। लडेकाहरू सबैलाई याहवेहले सहारा दिनुहुन्छ; दबिएकाहरू सबैलाई उठाउनुहुन्छ। सबैका आँखाहरूले तपाईंकै बाटो हेर्दछन्; अनि तपाईंले तिनीहरूलाई उचित समयमा तिनीहरूको भोजन दिनुहुन्छ। तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ, र हरेक जीवित प्राणीका इच्छाहरूलाई तृप्‍त पार्नुहुन्छ। याहवेह उहाँका सबै मार्गहरूमा धर्मी हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै थोकप्रति विश्‍वासयोग्य हुनुहुन्छ। याहवेहलाई पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ, उहाँलाई सत्यतामा पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ। उहाँको भय मान्‍नेहरूका इच्छालाई उहाँले पूरा गर्नुहुन्छ; उहाँले तिनीहरूको पुकार सुन्‍नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ। उहाँलाई प्रेम गर्ने सबैलाई याहवेहले रक्षा गर्नुहुन्छ; तर सबै दुष्‍टहरूलाई उहाँले नाश पार्नुहुनेछ। मेरो मुखले याहवेहको प्रशंसा गर्नेछ; हरेक प्राणीले सदासर्वदा उहाँको पवित्र नामको प्रशंसा गरून्!

भजनसंग्रह 145 पढ्नुहोस्