भजनसंग्रह 145:13-21
भजनसंग्रह 145:13-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंको राज्य अनन्तको राज्य हो, र तपाईंका प्रभुत्व पुस्तौँ-पुस्तौँसम्म रहिरहनेछ। परमप्रभु आफ्ना सबै प्रतिज्ञाहरूमा विश्वसनीय हुनुहुन्छ, र आफूले रचेका सबै थोकप्रति कृपामय हुनुहुन्छ। लड़ेकाहरू सबैलाई परमप्रभुले सहारा दिनुहुन्छ, दबिएकाहरू सबैलाई उठाउनुहुन्छ। सबै प्राणीहरूका आँखाले तपाईंतिर हेर्दछन्, अनि तपाईंले तिनीहरूको भोजन ठीक समयमा दिनुहुन्छ। तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ, र सबै प्राणीहरूका मनोरथ सन्तुष्ट पार्नुहुन्छ। परमप्रभु आफ्ना सबै मार्गमा धर्मी हुनुहुन्छ, र आफूले रचेका सबै थोकप्रति कृपालु हुनुहुन्छ। परमप्रभुलाई पुकारा गर्नेहरू सबैका नजिक उहाँ हुनुहुन्छ, सबैका नजिक ज-जसले उहाँलाई सत्यतामा पुकार्दछन्। उहाँको भय मान्नेहरू सबैका मनोरथ उहाँले पूरा गर्नुहुन्छ, उहाँले तिनीहरूको पुकारा सुन्नुहुन्छ, र तिनीहरूलाई बचाउनुहुन्छ। उहाँलाई प्रेम गर्ने सबैलाई परमप्रभुले रक्षा गर्नुहुन्छ, तर सबै दुष्टहरूलाई उहाँले नाश गर्नुहुनेछ। मेरो मुखले परमप्रभुको प्रशंसामा बोल्नेछ। प्रत्येक प्राणीले सदासर्वदा उहाँको पवित्र नाउँको प्रशंसा गरून्।
भजनसंग्रह 145:13-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंको राज्य अनन्तको राज्य हो, र तपाईंको प्रभुत्व पुस्तौँ-पुस्तासम्म रहिरहन्छ। आफ्ना सबै प्रतिज्ञामा याहवेह भरोसायोग्य हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै थोकप्रति विश्वासयोग्य हुनुहुन्छ। लडेकाहरू सबैलाई याहवेहले सहारा दिनुहुन्छ; दबिएकाहरू सबैलाई उठाउनुहुन्छ। सबैका आँखाहरूले तपाईंकै बाटो हेर्दछन्; अनि तपाईंले तिनीहरूलाई उचित समयमा तिनीहरूको भोजन दिनुहुन्छ। तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ, र हरेक जीवित प्राणीका इच्छाहरूलाई तृप्त पार्नुहुन्छ। याहवेह उहाँका सबै मार्गहरूमा धर्मी हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै थोकप्रति विश्वासयोग्य हुनुहुन्छ। याहवेहलाई पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ, उहाँलाई सत्यतामा पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ। उहाँको भय मान्नेहरूका इच्छालाई उहाँले पूरा गर्नुहुन्छ; उहाँले तिनीहरूको पुकार सुन्नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ। उहाँलाई प्रेम गर्ने सबैलाई याहवेहले रक्षा गर्नुहुन्छ; तर सबै दुष्टहरूलाई उहाँले नाश पार्नुहुनेछ। मेरो मुखले याहवेहको प्रशंसा गर्नेछ; हरेक प्राणीले सदासर्वदा उहाँको पवित्र नामको प्रशंसा गरून्!
भजनसंग्रह 145:13-21 पवित्र बाइबल (NERV)
परमप्रभु, तपाईंको राज्य सदा-सर्वदा रहनेछ। तपाईंको प्रभुत्व सदा-सर्वदा रहिरहनेछ। पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ। परमप्रभु जो सङ्कटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ। परमप्रभु, सम्पूर्ण जीवित प्राणीहरूले आफ्नो भोजनको लागि तपाईंलाई नै खोज्दछन् अनि तपाईंले तिनीहरूलाई ठीक समयमा नै आहार दिनुहुन्छ। परमप्रभु, तपाईं आफ्ना हातहरू खुल्ला पार्नुहोस् अनि तपाईंले प्रत्येक जीवित प्राणीहरूलाई उनीहरूको आवश्यकता अनुसार सबै थोकहरू दिनुहोस्। परमप्रभुले गर्नुभएको प्रत्येक कुरा धार्मिक अनि उचित छ। प्रत्येक कुराहरूबाट उहाँ कति भलो हुनुहुन्छ, भन्ने दर्शन्छ। जसले परमप्रभुको साथ माग्छ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ। जसले परमप्रभुलाई साँच्चो मनले पूज्दछ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ। परमप्रभुले त्यही गर्नुहुन्छ जो भक्तजनहरूले चाहन्छन्। परमप्रभुले उहाँका भक्तजनहरूले सहायताको निम्ति गरेको पुकार सुन्नु हुन्छ। उहाँले उनीहरूको प्रार्थनालाई जवाफ दिनुहुन्छ र तिनीहरूलाई बचाउनुहुनेछ। जसले उहाँलाई प्रेम गर्दछ परमप्रभुले तिनीहरूकै रक्षा गर्नुहुन्छ तर परमप्रभुले दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ। म परमप्रभुको प्रशंसा गर्नेछु! म, प्रत्येकले सदा-सर्वदा र अनन्त उहाँको प्रशंसा गरेको चाहन्छु।
भजनसंग्रह 145:13-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईंको राज्यको अन्त छैन र तपाईं सदासर्वदाको लागि राजा हुनुहुन्छ। परमप्रभुले आफ्ना प्रतिज्ञाहरू पूरा गर्न विश्वासयोग्य हुनुहुन्छ र उहाँ आफ्ना सबै कामहरूमा दयालु हुनुहुन्छ। कष्टमा परेकाहरूलाई उहाँ सहायता गर्नुहुन्छ, उहाँले लडेकाहरूलाई उठाउनुहुन्छ। सबै जीवित प्राणीहरूले तपाईंलाई आशा गरेर हेर्दछन् र तिनीहरूलाई चाहिएका बेलामा तपाईं भोजन दिनुहुन्छ। तिनीहरूलाई तपाईंले पेटभरि खुवाउनुहुन्छ र तिनीहरू सबैका अभावहरू पूरा गरिदिनुहुन्छ। आफूले गर्नुभएका सारा कामहरूमा परमप्रभु धार्मिक हुनुहुन्छ, आफ्ना सबै काममा उहाँ कृपालु हुनुहुन्छ। उहाँलाई पुकार्नेहरू उहाँलाई साँचो मनले पुकार्नेहरू, सबैका नजिक उहाँ हुनुहुन्छ। उहाँलाई आदर गर्नेहरूका अभावहरू उहाँले भरिदिनुहुन्छ, उहाँले तिनीहरूको पुकार सुन्नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ। उहाँलाई प्रेम गर्ने हरेकलाई उहाँले रक्षा गर्नुहुन्छ, तर दुष्टहरूलाई भने उहाँले नाश गर्नुहुनेछ। म सधैँ परमप्रभुको प्रशंसा गर्नेछु, उहाँका सारा सृष्टिले सदासर्वदा उहाँको पवित्र नामको प्रशंसा गरोस्।