कोही-कोही जहाजहरूमा चढी सामुद्रिक यात्रामा गए; तिनीहरू महासागरका व्यापारीहरू थिए। तिनीहरूले याहवेहका कामहरू देखे, गहिरो सागरमा तिनीहरूले उहाँका अद्भुत कार्यहरू देखे। किनकि उहाँले आज्ञा गर्नुभयो, र प्रचण्ड आँधी चल्यो, जसले गर्दा समुद्रका छालहरू माथिसम्म उठे। छालहरू आकाशसम्म नै उठे, र फेरि सागरको गहिराइहरूमा झरे; यस्तो जोखिममा तिनीहरूको साहस हराएर गयो। तिनीहरू मदिराले मातेको मानिसझैँ धरमरिँन्थे; तिनीहरूका सबै सिपहरू बेकार साबित भए। तब आफ्ना कष्टहरूमा तिनीहरूले याहवेहलाई पुकारे, र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्टहरूबाट छुटाउनुभयो। उहाँले आँधीलाई शान्त पार्नुभयो; समुद्रका छालहरू साम्य भए। आँधी शान्त हुँदा तिनीहरू खुशी भए; र उहाँले तिनीहरूलाई तिनीहरूले इच्छा गरेको बन्दरगाहमा पुर्याउनुभयो। उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्भुत कार्यहरूका निम्ति तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्! तिनीहरूले मानिसहरूको समुदायमा उहाँलाई उच्च पारून्, र प्रधानहरूका सभामा उहाँको प्रशंसा गरून्! उहाँले नदीहरूलाई मरुभूमिमा, र पानीका मूलहरूलाई सुक्खा भूमिमा परिवर्तन गर्नुभयो। त्यहाँका बासिन्दाहरूका दुष्टताको कारणले गर्दा, मलिला जमिनलाई नुनिलो मरुस्थलमा परिवर्तन गरिदिनुभयो। उहाँले मरुभूमिलाई तालमा र सुक्खा जमिनलाई पानीका मूलमा परिवर्तन गर्नुभयो; उहाँले त्यहाँ भोकाहरूलाई बासको निम्ति ल्याउनुभयो, र तिनीहरूले बसोबास गर्न सक्ने एउटा सहर निर्माण गरे। तिनीहरूले खेतबारीमा बिउ छरे, र दाखबारी लगाए, अनि प्रशस्त उब्जनी कटनी गरे; उहाँले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूको जनसंख्या बढाउनुभयो; अनि तिनीहरूका गाईबस्तुका बथान घट्न दिनुभएन। त्यसपछि अत्याचार, विपत्ति र शोकले गर्दा, तिनीहरूको जनसंख्या घट्यो र तिनीहरू होच्याइए; उहाँले शासकहरूमाथि अपमान खन्याउनुहुन्छ, र तिनीहरूलाई पथविहीन उजाड ठाउँहरूमा भौँतारिँदै हिँड्ने बनाउनुभयो। तर गरिबहरूलाई उहाँले तिनीहरूका दुःखबाट उठाउनुभयो, र तिनीहरूका परिवारहरूलाई भेडाका बगालझैँ बढाउनुभयो। धर्मी मानिसहरू यो देखेर हर्षित हुन्छन्, तर सबै दुष्टहरूचाहिँ आफ्नो मुख बन्द गर्छन्। जो बुद्धिमान् छ, त्यसले यी कुराहरूमा ध्यान देओस्, र याहवेहको महान् प्रेममाथि चिन्तन गरोस्।
भजनसंग्रह 107 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 107:23-43
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू