भजनसंग्रह 107:23-43

भजनसंग्रह 107:23-43 सरल नेपाली

कति जना महासागरमा जहाजहरू चलाएर गए र समुद्रमा आफ्‍नो जीविका चलाउने कमाइ गरे। परमप्रभुले के कसो गर्न सक्‍नुहुन्‍छ, तिनीहरूले देखे, समुद्रमा उहाँका उदेकका कामहरू तिनीहरूले देखे। उहाँको आज्ञाले एउटा तेज बतास बग्‍न सुरु भयो र पानीका लहरहरू उठ्‍न थाले। जहाजहरू हावामा माथि उचालिन्‍थे र समुद्रमा गहिरोसम्‍म डुबिजाँदथे। यस्‍तो विपत्तिको समयमा मानिसहरूले साहस हराए। मातेका मानिसहरूझैँ तिनीहरू लरबरिन्‍थे र लड्थे, तिनीहरूको केही सीप चलेन। तब तिनीहरूले परमप्रभुलाई आफ्‍ना कष्‍टमा पुकारे र उहाँले तिनीहरूलाई सबै दु:ख-कष्‍टबाट बचाउनुभयो। उर्लंदो आँधीलाई उहाँले थाम्‍नुभयो र पानीका लहरहरू शान्‍त भए। सबै शान्‍त भएको हुनाले तिनीहरू खुसी भए र उहाँले तिनीहरूलाई कुशलसित तिनीहरूले चाहेका बन्‍दरगाहमा ल्‍याइपुर्‍याउनुभयो। तिनीहरूले परमप्रभुलाई उहाँको अनन्‍त प्रेमको निम्‍ति र उहाँले तिनीहरूको लागि गर्नुभएको उदेकका कामहरूको निम्‍ति धन्‍यवाद दिनैपर्छ। मानिसहरूका सभामा तिमीहरूले उहाँको महान्‌ताबारे भन्‍ने गर्नुपर्छ र अगुवाहरूका सभाघरमा उहाँको प्रशंसा गर्नुपर्छ। परमप्रभुले नदीहरू पूरै सुकाउनुभयो र खोलाहरू बग्‍न बन्‍द गर्नुभयो। त्‍यहाँका बासिन्‍दाहरूको दुष्‍टताको कारण उहाँले मलिलो जमिनलाई नुनिलो र रूखो बनाउनुभयो। उहाँले मरुभूमिलाई पानीको पोखरी बनाइदिनुभयो र सुखा भूमिलाई बग्‍ने खोलाहरूमा। उहाँले भोका मानिसहरूलाई त्‍यहाँ बस्‍न दिनुभयो र तिनीहरूले आफू बस्‍नलाई एउटा सहर बसाले। तिनीहरूले खेत-बारीमा बिउ छरे, अङ्‌गुरको बोट रोपे र प्रशस्‍त अन्‍न कटनी गरे। उहाँले आफ्‍ना प्रजालाई आशीर्वाद दिनुभयो र तिनीहरूका सन्‍तान धेरै भए, उहाँले तिनीहरूलाई गाई-वस्‍तुका बथानलाई घट्‍न दिनुभएन। जब निष्‍ठुर सतावट र दु:ख-कष्‍टले गर्दा परमेश्‍वरका प्रजाको हार र अपमान भयो, तब तिनीहरूका खेदो गर्नेहरूलाई उहाँले अपमानित तुल्‍याएर बोट नभएको मरुभूमिमा बरालिन लाउनुभो। तर अभावमा परेकाहरूलाई तिनीहरूका कष्‍टदेखि बचाउनुभयो, उहाँले तिनीहरूका परिवारलाई भेडाका बथानझैँ बढाउनुभयो। धर्मीहरूले यो देखेर रमाउँछन्, तर सबै दुष्‍टहरूका मुख चुप पारिन्‍छ। बुद्धिमान्‌हरूले यी कुराहरूबारे विचार गरून्, तिनीहरूले परमप्रभुको अनन्‍त प्रेमलाई मानिलिऊन्।

भजनसंग्रह 107 पढ्नुहोस्