हितोपदेश 6:1-19

हितोपदेश 6:1-19 NCV

हे मेरो छोराछोरी, यदि तिमी आफ्नो छिमेकीका जमानी बसेका छौ भने, वा पराईसँग वाचा बाँधेका छौ भने, यदि आफूले बोलेको कुरामा तिमी फसेको छौ भने, र आफ्नै मुखको वचनले पासोमा फस्यौ भने, हे मेरो छोराछोरी, तिमी आफ्नो छिमेकीको पन्जामा परेको हुनाले; आफूलाई मुक्त पार्न यसो गर: जाऊ र आफूलाई नम्र पार, र छिमेकीसँग खुरन्धार बिन्ती गर। तिम्रा आँखाहरूलाई सुत्न नदेऊ, र तिम्रा आँखाको पलकलाई निदाउन नदेऊ। शिकारीको हातबाट हरिण उम्केजस्तै, व्याधाको हातबाट चरा फुत्केजस्तै तिमीले आफूलाई मुक्त गर। ए अल्छे, कमिलाकहाँ गएर त्यसको चालढङ्ग हेर्, र बुद्धिमानी बन्! त्यसको कोही सेनापति हुँदैन, न त रेखदेख गर्ने शासक नै हुन्छ, तरै पनि त्यसले ग्रीष्म ऋतुमा अन्‍नको भण्डार तयार गर्छ, र कटनीको समयमा आफ्नो खानेकुरा जम्मा गर्छ। ए अल्छे, कहिलेसम्म तँ त्यहाँ ढल्किरहन्छस्? तँ आफ्नो निद्राबाट कहिले जाग्छस्? एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, हात बाँधेर एकैछिन मारिएको थकाइले, तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ। दुष्‍ट र उपद्रवी मानिस, जो भ्रष्‍ट मुख लिएर यताउति गर्दै हिँड्छ, जसले आँखा झिम्काउँछ, आफ्ना खुट्टाले इसारा गर्छ; र औँलाले चलाउँछ, आफ्नो छली हृदयमा त्यसले दुष्‍ट कुरा रच्दछ। त्यसले सधैँ विवाद उत्पन्‍न गराउँछ। यसकारण विपत्ति त्यसमाथि अचानक आइलाग्नेछ; त्यो अचानक उपायविना नै नष्‍ट हुनेछ। यी छ वटा कुराहरू याहवेहले घृणा गर्नुहुन्छ, सात वटा कुराहरू उहाँमा तुच्छ छन्: अहङ्कारी आँखा, झूटो बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात, दुष्‍ट युक्ति रच्ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाउहरू, असत्य थुपार्ने झूटो साक्षी र समुदायको बीचमा कलह उठाउने मानिस।

हितोपदेश 6 पढ्नुहोस्