हितोपदेश 6:1-19

हितोपदेश 6:1-19 सरल नेपाली

ए मेरो छोरो, के तँ कसैको ऋणको जमानी बसेको छस्? के तँ आफ्‍नै बोलीले पक्राउ परेको छस्? के आफूले दिएको वचनको पासोमा आफैं परेको छस्? त्‍यसो भए, ए मेरो छोरो, तँ त्‍यस मानिसको हातमा परेको छस्? अब उम्‍कने यही उपाय छ– झट्टै त्‍यसकहाँ जा र आफूलाई छोडिदिनुहोस् भनी त्‍यसलाई बिन्‍ती गर्‌। आँखामा निद्रा आउन नदे, एकछिन पनि विश्राम नगर्‌, चरा पासोबाट फुत्‍केझैँ वा शिकारीका हातबाट हरिण उम्‍केझैँ तँ त्‍यसबाट निस्‍किहाल्। हे अल्‍छी मानिस! कमिलाका चाल-ढङ्गबाट पाठ सिक्। तिनीहरूका कुनै अगुवा, मुखिया वा शासक हुँदैन, तर ग्रीष्‍म ऋतुमा तिनीहरूले आफ्‍ना खाना बटुल्‍दछन् र जाडोको समयको लागि भण्‍डार तयारी गर्छन्। अल्‍छी मानिस कहिलेसम्‍म ओछ्यानमा लडिरहने हो? त्‍यो कहिले उठ्‍ने हो? त्‍यसले भन्‍छ, “म एकैछिन सुत्‍नेछु। एकैछिन हात बाँधेर विश्राम गर्नेछु।” तर त्‍यो सुतेको बेला हातमा हतियार लिएको डाकाझैँ दरिद्रता त्‍यसमाथि आइलाग्‍नेछ। बेकामका र दुष्‍ट मानिसहरू झूटो कुरा गर्दै घुमिहिँड्छन्। तिनीहरूले आँखा झिम्‍क्‍याउँछन् र छल्‍ने इशारा गर्छन् र सबै समय आफ्‍ना दुष्‍ट मनमा जालका कुरा रचिरहेका हुन्‍छन् र झगडा निकाल्‍छन्। त्‍यसले गर्दा चालै नपाई विपत्ति तिनीहरूमाथि आइलाग्‍नेछ र तिनीहरू घाइते भई मर्नेछन्। सात वटा कुरालाई परमप्रभुले घृणा गर्नुहुन्‍छ र सहन सक्‍नुहुन्‍न: अहङ्कारी आँखा, झूटो बोल्‍ने जिब्रो, निर्दोषको हत्‍या गर्ने हात, दुष्‍ट जाल रच्‍ने मन, दुष्‍ट काम गर्न हतार गर्ने खुट्टा, झूटै-झूट बोल्‍ने गवाह र मित्रहरूका बीचमा झगडा लाउने मानिस।

हितोपदेश 6 पढ्नुहोस्