हे मेरो छोरा, यदि तँ आफ्नो छिमेकीको जमानी बसेको छस् वा कसैसँग करार बाँधेको छस् भने,
यदि आफ्नो प्रतिज्ञाको वचनले तँ फसिस्,
र आफ्नै मुखको वचनले पासोमा परिस् भने,
तब, हे मेरो छोरा, आफूलाई जोगाउन मैले भनेजस्तो गर्, किनकि तँ आफ्नो छिमेकीको पन्जामा परेको छस्:
आफूलाई नम्र तुल्याएर झट्टै जा,
र छिमेकीसँग खुरन्धार बिन्ती गर्!
आँखामा निद्रा पर्न नदे,
र पटल बन्द हुन नदे।
शिकारीको हातबाट हरिण उम्केझैँ, व्याधाको पासोबाट चरा फुत्केझैँ तैंले आफूलाई मुक्त गर्।
ए अल्छे, कमिलाकहाँ गएर त्यसको चाल-ढङ्ग हेर् र बुद्धिमानी बन्!
त्यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन,
तापनि ग्रीष्म ऋतुमा त्यसले अन्नको भण्डार तयार गर्छ
र कटनीको समयमा आफ्नो खानेकुरो सञ्चय गर्छ।
ए अल्छे, तँ कहिलेसम्म सुतिरहन्छस्? तँ कहिले आफ्नो निद्राबाट जाग्छस्?
क्षणिक सुताइ र क्षणिक उँघाइले, हात बाँधेर केहीबेरको आराम गराइले
दरिद्रता तँमाथि डाँकूझैँ
र अभावचाहिँ हतियार भिरेको मानिसझैँ आइलाग्नेछ।
बदमाश र दुष्ट मानिस त्यही हो जो भ्रष्ट कुराकानी गरिहिँड्छ,
जसले आँखा झिम्क्याउँछ,
र खुट्टा र औँलाले इशारा गर्दछ।
आफ्नो छली हृदयमा त्यसले दुष्ट कुरा रच्दछ। त्यसले सधैँ विवाद उत्पन्न गराउँछ।
त्यसैले त्यसमाथि अचानक विपत्ति आइलाग्नेछ, उपायविना नै त्यो एक्कासि नष्ट हुनेछ।
छ वटा कुराहरू छन्, जसलाई परमप्रभुले घृणा गर्नुहुन्छ, सातौँचाहिँ जो उहाँको दृष्टिमा घृणित छन्:
अहङ्कारी आँखा, झूट बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात,
दुष्ट योजनाहरू रच्ने हृदय, खराबी काम गर्न झट्टै अग्रसर हुने पाइला,
असत्य बोल्ने झूटो साक्षी,
र दाजुभाइहरूका माझमा झगड़ा उठाउने मानिस।