त्यसपछि याहवेहले मोशालाई भन्नुभयो, इस्राएलका मानिसहरूलाई भन्: “यदि कुनै मानिसकी पत्नी बरालिएर त्यसले आफ्नो पतिलाई विश्वासघात गरी, र यसरी त्यसले अर्को मानिससँग शारीरिक सम्बन्ध राखेर पतिसँग अविश्वासयोग्य भई, तर त्यसको पतिले थाहा पाएन। अनि त्यसको अशुद्धता गुप्तमै रहेको छ भने (त्यस स्त्रीको विरुद्धमा कुनै साक्षी छैन, र कुकर्म गर्दागर्दै रङ्गेहात पक्राऊ पनि परेको छैन भने), तर त्यसको पतिलाई डाहको भावना जागेकोले त्यसकी पत्नी अशुद्ध छ भन्ने शङ्का गर्यो भने—अर्थात् यदि त्यसले डाहको कारण त्यसकी पत्नी अशुद्ध नभए तापनि शङ्का गर्यो भने, त्यसले आफ्नी पत्नीलाई पुजारीकहाँ लैजाओस्। त्यसले पत्नीका निम्ति एपाको दशौँ भाग जौको मसिनो पिठोको भेटी पनि ल्याओस्। त्यसले पिठोमा जैतुनको तेल नखन्याओस् र सुगन्ध पनि नहालोस्। किनभने त्यो डाहको निम्ति अन्नबलि अर्थात् अधर्म सम्झना गराउने बलि हो। “ ‘पुजारीले त्यस स्त्रीलाई ल्याओस् र याहवेहको सामु खडा हुन लगाओस्। त्यसपछि पुजारीले माटोको भाँडामा केही पवित्र पानी लेओस् र समागम पालको भुइँबाट केही धुलो त्यसमा हालोस्। पुजारीले त्यस स्त्रीलाई याहवेहको सामु खडा गराएपछि पुजारीले स्त्रीको केश खोलिदेओस्। अनि स्त्रीको हातमा सम्झनाको भेटी अर्थात् डाहको अन्नबलि राखिदेओस्। पुजारीले चाहिँ श्राप ल्याउने तितो पानी आफैँले हातमा लेओस्। त्यसपछि पुजारीले त्यस स्त्रीलाई शपथ खान लगाओस् र स्त्रीलाई भनोस्, “यदि अरू कुनै मानिस तँसित सुतेको छैन; र तेरो विवाह तेरो पतिसित भएपछि तँ बरालिएर अशुद्ध भएकी छैनस् भने श्राप ल्याउने यस तितो पानीले तँलाई हानि नगरोस्। तर यदि तैँले आफ्नो पतिसित विवाह भएपछि तँ बरालिएर आफ्नो पतिबाहेक अर्को मानिससँग यौन सम्बन्ध राखेर तैँले आफूलाई अशुद्ध पारेकी छस् भने”, पुजारीले त्यस स्त्रीलाई यसरी श्रापको शपथ खुवाओस्, “याहवेहले तेरो कोख बाँझो गराएर र तेरो पेट फुल्न दिएर उहाँले तँलाई तेरा मानिसहरूका बीचमा सरापको कारण तुल्याऊन्। श्राप ल्याउने यो पानी तेरो शरीरभित्र पसोस् र तेरो पेट सुनियोस्; अनि तेरो कोख बाँझो होस्।” “ ‘त्यसपछि त्यस स्त्रीले, “आमेन, यस्तै होस्” भनोस्। “ ‘पुजारीले यी श्रापहरू एउटा चर्मपत्रमा लेखेर त्यस तितो पानीमा त्यसलाई पखालिदेओस्। पुजारीले श्राप ल्याउने त्यो पानी त्यस स्त्रीलाई पिउन देओस्। यदि त्यो दोषी भएमा त्यस पानी त्यसभित्र पसेर कठोर पीडा दिनेछ। पुजारीले स्त्रीको हातबाट डाहको अन्नबलि लिएर त्यसलाई याहवेहको सामु उचालोस् र त्यो वेदीमा ल्याओस्। त्यसपछि पुजारीले त्यस अन्नबलिबाट एक मुठी अन्न सम्झनाको भेटीको रूपमा लिएर त्यसलाई वेदीमा जलाओस्। त्यसपछि पुजारीले त्यस स्त्रीलाई त्यो पानी पिउन लगाओस्। यदि त्यस स्त्रीले आफ्नो पतिप्रति विश्वासयोग्य नभई आफूलाई अशुद्ध पारेकी छे भने यस्तो परिणाम ल्याउनेछ: जब त्यस स्त्रीलाई श्राप ल्याउने त्यो पानी पिउन दिइन्छ, तब पानी त्यसभित्र पसेर तितो भई कठोर पीडा ल्याउनेछ। त्यसको पेट सुनिनेछ र त्यसको कोख बाँझो हुनेछ। अनि त्यो आफ्ना मानिसहरूका बीचमा श्राप लागेको हुनेछे। तर यदि त्यसले आफूलाई अशुद्ध पारेकी छैन र शुद्ध छे भने त्यो आफ्नो दोषबाट मुक्त भएर छोराछोरीहरू जन्माउन सक्ने हुनेछे। “ ‘यसकारण जब कुनै स्त्रीले आफ्नो पतिसित विवाह भइसकेपछि बरालिएर आफूलाई अशुद्ध पार्छे भने डाहको नियम यही हो, अर्थात् जब कुनै मानिसमा आफ्नी पत्नीप्रति शङ्का गरेर डाहको भावना आउँछ भने डाहको नियम यही हो। पुजारीले त्यस स्त्रीलाई याहवेहको सामु खडा गराउनुपर्छ। अनि त्यस स्त्रीमाथि यो सम्पूर्ण नियम लागू गरिनुपर्छ। तब त्यस मानिसलाई केही दोष लाग्नेछैन, तर त्यो स्त्रीले चाहिँ आफ्नो अधर्मको दण्ड भोग्नेछ।’ ”
गन्ती 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 5:11-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू