मर्कूस 2:13-22
मर्कूस 2:13-22 NCV
एक पल्ट फेरि येशू तालको किनारतिर जानुभयो। एउटा ठूलो भीड उहाँकहाँ आयो, र उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवीलाई कर उठाउनेहरूको अड्डामा बसिरहेका देख्नुभयो। येशूले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे र उहाँको पछि लागे। एक दिन येशू लेवीको घरमा भोजन गरिरहनुहुँदा धेरै जना कर उठाउनेहरू, पापीहरू, उहाँ र उहाँका चेलाहरूसित खाइरहेका थिए; किनकि उहाँलाई पछ्याउनेहरू धेरै थिए। जब व्यवस्थाका शिक्षकहरू जो फरिसीहरू थिए, उहाँलाई पापीहरू अनि कर उठाउनेहरूसित खाइरहनुभएको देखे, तब तिनीहरूले उहाँका चेलाहरूलाई सोधे: “तिनी किन कर उठाउनेहरू र पापीहरूसित खान्छन्?” यो सुनेर येशूले तिनीहरूलाई भन्नुभयो, “निरोगीलाई चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।” एक पल्ट यूहन्नाका चेलाहरू र फरिसीहरू उपवास बसेका थिए; केही मानिसहरूले येशूकहाँ आएर उहाँलाई सोधे, “किन यूहन्नाका चेलाहरू र फरिसीहरूका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरूचाहिँ बस्दैनन्?” येशूले जवाफ दिनुभयो, “दुलहा साथमा हुँदा उहाँका पाहुनाहरू कसरी उपवास बस्न सक्छन्? जबसम्म दुलहा तिनीहरूसित हुन्छन्, तिनीहरू त्यसो गर्न सक्दैनन्। तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, र त्यस दिन तिनीहरू उपवास बस्नेछन्। “कसैले पनि पुरानो वस्त्रमा नयाँ टालो सिलाउँदैन। यदि उसले यसो गर्यो भने नयाँ टालो घट्छ र पुरानोबाट च्यात्तिएर जान्छ, र त्यो फटाइ झन् नराम्रो हुन्छ। त्यसै गरी कसैले नयाँ दाखमद्य पुरानो मशकमा खन्याउँदैन, नत्रता नयाँ दाखमद्यले छालाहरू फुट्छन्, दाखमद्य पनि पोखिन्छ, र मशक पनि नष्ट हुन्छ। त्यसो हुन नदिन उसले नयाँ दाखमद्य नयाँ मशकमै राख्नुपर्दछ।”

