मर्कूस 2:13-22
मर्कूस 2:13-22 NNRV
उहाँ फेरि एक पल्ट समुद्रको किनारमा जानुभयो। अनि मानिसहरूको एउटा ठूलो भीड उहाँकहाँ आयो, र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो। त्यसपछि जाँदैगर्दा उहाँले अल्फयसका छोरा लेवीलाई कर उठाउनेहरूको ठाउँमा बसिरहेका देख्नुभयो र तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” तिनी उठेर उहाँको पछि लागे। उहाँ लेवीको घरमा भोजन गर्न बस्नुहुँदा कर उठाउने धेरै जना र पापीहरू पनि येशू र उहाँका चेलाहरूका साथमा बसिरहेका थिए। किनकि उहाँलाई पछ्याउनेहरू धेरै थिए। उहाँ पापीहरू र कर उठाउनेहरूसँग खाइरहनुभएको देखेर फरिसी दलका शास्त्रीहरूले उहाँका चेलाहरूलाई भने, “तिनी किन कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन्?” यो सुनेर येशूले तिनीहरूलाई भन्नुभयो, “निरोगीहरूलाई वैद्यको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।” यूहन्नाका चेलाहरू र फरिसीहरू उपवास बस्तथिए। मानिसहरूले आएर उहाँलाई भने, “यूहन्नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्तछन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?” येशूले तिनीहरूलाई भन्नुभयो, “के दुलहा तिनीहरूका साथमा रहुञ्जेल जन्तीहरू उपवास बस्छन् र? जहिलेसम्म दुलहा तिनीहरूका साथमा हुन्छन् तिनीहरू उपवास बस्दैनन्। तर समय आउनेछ, जब दुलहा तिनीहरूबाट अलग गराइनेछन्, तब तिनीहरू त्यस दिन उपवास बस्नेछन्। “कसैले पुरानो लुगामा नयाँ कपड़ाको टालो हाल्दैन, नत्रता टालेको कपड़ा फाटिनिस्कन्छ, अर्थात् नयाँ पुरानोबाट फाटेर निस्कन्छ, र फटाइ झन् नराम्रो हुनेछ। अनि कसैले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्दैन, नत्रता त्यस दाखमद्यले छालाका मशकहरू फुटाइदिन्छ, र दाखमद्य र मशक पनि नष्ट हुन्छन्। तर नयाँ दाखमद्यचाहिँ नयैँ भाँड़ामा हालिन्छ।”

