मर्कूस 2:13-22

मर्कूस 2:13-22 सरल नेपाली

येशू फेरि गालील तालको किनारमा जानुभयो। थुप्रै मानिसहरू उहाँकहाँ जम्‍मा भए र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो। त्‍यहाँबाट जाँदैगर्दा उहाँले एक जना कर उठाउने मानिसलाई भन्‍सारमा बसिरहेको देख्‍नुभयो। तिनी अल्‍फायसका छोरा लेवी थिए। अनि येशूले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” यो सुनेर लेवी उठेर येशूको पछि लागे। येशू लेवीको घरमा पाहुना भएर चेलाहरूसँगै खान लाग्‍नुभएको थियो। उहाँका पछि लागेका धेरै जना कर उठाउने र अरू पापी मानिसहरू पनि उहाँसँगै खान बसे। फरिसी भन्‍ने कट्टर धार्मिक समूहका केही मानिसहरूले येशूलाई यसरी कर उठाउने मानिस र अरू पापीहरूसँग बसेर खाइरहेका देखेर उहाँका चेलाहरूलाई भने, “उहाँले किन यस्‍ता कर उठाउने र पापी मानिसहरूसँग बसेर खाएको?” तिनीहरूका कुरा सुनेर येशूले जवाफ दिनुभयो, “डाक्‍टर त निरोगीलाई होइन, रोगीलाई पो चाहिन्‍छ। त्‍यसरी नै म धर्मीलाई होइनँ, तर पापीलाई बचाउन आएको हुँ।” केही मानिसहरूले बप्‍तिस्‍मा दिने यूहन्‍नाका चेला र फरिसी भन्‍ने कट्टर धार्मिक समूहका मानिसहरू उपवास बसेका बेलामा येशूकहाँ आएर सोधे, “बप्‍तिस्‍मा दिने यूहन्‍नाका चेला र फरिसीका चेलाहरू उपवास बस्‍छन्, तर तपाईंका चेलाहरूचाहिँ किन उपवास बस्‍दैनन्?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के विवाहमा डाकिएका जन्‍तीहरू भोज नखाईकन जान्‍छन् र? दुलहासँग हुँदा त कोही पनि भोकै बस्‍दैनन् नि! तर त्‍यस्‍ता दिनहरू पनि आउनेछन्, जब दुलहालाई तिनीहरूबाट छुट्टाउनेछन्, तब तिनीहरू उपवास बस्‍नेछन्। “फेरि पुरानो लुगालाई कसैले पनि नयाँ टालाले टाल्‍दैन। नत्र नयाँ टालो खुम्‍चिएर पुरानो लुगालाई च्‍यात्‍छ र झन् ठूलो प्‍वाल पारिदिन्‍छ। “अझै भन्‍ने हो भने, कसले ताजा दाखमद्य पुरानो छालाको थैलामा राख्‍छ र? राख्‍दैन नि! यदि राख्‍यो भने त थैलो पनि फुट्छ र दाखमद्य पनि पोखिन्‍छ। ताजा दाखमद्यचाहिँ नयाँ छालाको थैलामा नै राख्‍नुपर्छ।”

मर्कूस 2 पढ्नुहोस्