मत्ती 22:27-40
मत्ती 22:27-40 NCV
अन्त्यमा त्यो स्त्री पनि मरी। अब पुनरुत्थानमा त्यो स्त्री सात जनामध्ये कसकी पत्नी हुनेछे? किनकि त्यसको विवाह ती सबैसँग भएको थियो।” येशूले जवाफ दिनुभयो, “तिमीहरू धर्मशास्त्र अथवा परमेश्वरको शक्तिलाई नजानेकाले भ्रममा परेका छौ। पुनरुत्थानमा मानिसहरू न विवाह गर्छन्, न त विवाहमा दिइन्छन्: तिनीहरू स्वर्गमा भएका दूतहरूजस्ता हुनेछन्। तर मरेकाहरूको पुनरुत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नुभएको छ, के तिमीहरूले पढेका छैनौ? ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, र याकोबका परमेश्वर हुँ।’ उहाँ मरेकाहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ।” जब भीडहरूले यो सुने, तिनीहरू उहाँका शिक्षामा छक्क परे। येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्ने सुनेर फरिसीहरू एकसाथ भेला भए। तीमध्ये एक जना व्यवस्थाका विशेषज्ञले यो प्रश्न गरेर उहाँलाई जाँच गरे: “हे गुरु, व्यवस्थामा सबैभन्दा महान् आज्ञा कुनचाहिँ हो?” येशूले जवाफ दिनुभयो: “ ‘परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, र सम्पूर्ण मनले प्रेम गर।’ यही नै पहिलो र सबैभन्दा महान् आज्ञा हो। अनि दोस्रो पनि उत्तिकै महत्त्वपूर्ण छ: ‘तिमीहरूले आफ्ना छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर।’ सबै व्यवस्था र अगमवक्ताहरू यी दुई आज्ञाहरूमा नै आधारित छन्।”

