मत्ती 22:27-40

मत्ती 22:27-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिनीहरू सबै मरेपछि त्‍यस स्‍त्रीको पनि मृत्‍यु भयो। यसकारण मृतकहरूको पुनरुत्‍थान हुँदा ती सातै जनामध्‍ये त्‍यो स्‍त्री कसकी पत्‍नी हुनेछ? किनभने त्‍यो सबैकी पत्‍नी भइसकेकी थिई।” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू भ्रममा परेका छौ, किनकि तिमीहरू धर्मशास्‍त्र र परमेश्‍वरको शक्ति जान्‍दैनौ। किनकि मृतकहरूको पुनरुत्‍थानमा मानिसहरूले विवाह गर्दैनन्, न विवाह गरिदिन्‍छन्, तर तिनीहरू स्‍वर्गका स्‍वर्गदूतहरूजस्‍ता हुन्‍छन्‌। तर मृतकहरूका पुनरुत्‍थानको विषयमा परमेश्‍वरले तिमीहरूलाई के भन्‍नुभएको छ, त्‍यो तिमीहरूले पढ़ेका छैनौ? ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ।’ परमेश्‍वर मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्‍छ।” यो सुनेर भीड़हरू उहाँको शिक्षामा छक्‍क परे। उहाँले सदुकीहरूलाई चूप पार्नुभयो भन्‍ने सुनेर फरिसीहरू उहाँकहाँ भेला भए। तिनीहरूमध्‍ये एक जना व्‍यवस्‍थाका अध्‍यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे, “गुरुज्‍यू, व्‍यवस्‍थामा महान्‌ आज्ञा कुन हो?” उहाँले तिनलाई भन्‍नुभयो, “तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, र आफ्‍नो सारा प्राणले, र आफ्‍नो सारा समझले प्रेम गर्नू। महान्‌ र प्रथम आज्ञा यही हो। दोस्रो पनि त्‍यस्‍तै छ, तैंले आफ्‍नो छिमेकीलाई आफैलाई जस्‍तै प्रेम गर्नू। सारा व्‍यवस्‍था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्‌।”

शेयर गर्नुहोस्
मत्ती 22 पढ्नुहोस्

मत्ती 22:27-40 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अन्त्यमा त्यो स्त्री पनि मरी। अब पुनरुत्थानमा त्यो स्त्री सात जनामध्ये कसकी पत्नी हुनेछे? किनकि त्यसको विवाह ती सबैसँग भएको थियो।” येशूले जवाफ दिनुभयो, “तिमीहरू धर्मशास्त्र अथवा परमेश्‍वरको शक्तिलाई नजानेकाले भ्रममा परेका छौ। पुनरुत्थानमा मानिसहरू न विवाह गर्छन्, न त विवाहमा दिइन्छन्: तिनीहरू स्वर्गमा भएका दूतहरूजस्ता हुनेछन्। तर मरेकाहरूको पुनरुत्थानको विषयमा परमेश्‍वरले तिमीहरूलाई के भन्‍नुभएको छ, के तिमीहरूले पढेका छैनौ? ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर, र याकोबका परमेश्‍वर हुँ।’ उहाँ मरेकाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ।” जब भीडहरूले यो सुने, तिनीहरू उहाँका शिक्षामा छक्‍क परे। येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्‍ने सुनेर फरिसीहरू एकसाथ भेला भए। तीमध्ये एक जना व्यवस्थाका विशेषज्ञले यो प्रश्न गरेर उहाँलाई जाँच गरे: “हे गुरु, व्यवस्थामा सबैभन्दा महान् आज्ञा कुनचाहिँ हो?” येशूले जवाफ दिनुभयो: “ ‘परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, र सम्पूर्ण मनले प्रेम गर।’ यही नै पहिलो र सबैभन्दा महान् आज्ञा हो। अनि दोस्रो पनि उत्तिकै महत्त्वपूर्ण छ: ‘तिमीहरूले आफ्ना छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर।’ सबै व्यवस्था र अगमवक्ताहरू यी दुई आज्ञाहरूमा नै आधारित छन्।”

शेयर गर्नुहोस्
मत्ती 22 पढ्नुहोस्

मत्ती 22:27-40 पवित्र बाइबल (NERV)

तिनीहरू सबै मरेपछि त्यो आईमाई पनि मरी। तर ती सातैजना दाज्यू-भाइहरूले त्यस आईमाईलाई विवाह गरेका थिए। तब पुनरूत्थनामा त्यो स्त्रीको पति कुन चाही हुनेछ?” येशूले जवाफ दिनुभयो, “तिमीहरू योकुरा बुझ्दैनौ किनभने धर्मशास्त्रमा के लेखेको छ त्यो तिमीहरू जान्दैनौ। परमेश्वरको शक्तिको विषयमा पनि तिमीहरू केही जान्दैनौ। त्यसबेला जब मानिसहरू मृत्युबाट बौरिउठ्छन् त्यहाँ विवाहको प्रश्न नै आँउदैन। मानिसहरू त्यहाँ एक-अर्का संग विवाह गर्ने छैनन्। सबै मानिसहरू स्वर्गका स्वर्गदूतहरू झैं हुनेछन्। यसकारण पुनरूत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नु भएको छ त्यो पढेका छैनौ। परमेश्वरले भन्नुभएको छ, ‘म अब्राहामको परमेश्वर, इसहाकको परमेश्वर, अनि याकूब का परमेश्वर हुँ।’ यसको मतलब परमेश्वर मृत मानिसहरूका परमेश्वर हुनुहुन्न तर जिउँदा मानिसहरूको परमेश्वर हुनुहुन्छ।” मानिसहरूले सुने र येशूको शिक्षामा तिनीहरू छक्क परे। येशूले सदुकीहरूदलाई यसरी जवाफ दिएर तिनीहरूलाई चुप बनाई दिनू भएको सुनेर फरिसीहरू जम्मा भए। एकजना फरिसी मोशाको व्यवस्था प्रति निकै ज्ञान भएको थियो। त्यो फरिसीले येशूलाई परीक्षा गर्ने इच्छा गर्यो। त्यस फरिसीले येशूलाई सोध्यो, “गुरूज्यू, व्यवस्थामा सबैभन्दा ठूलो आज्ञा कुन हो?” येशूले जवाफ दिनुभयो, “‘तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई प्रेम गर्नुपर्छ। आफ्नो सम्पूर्ण हृदयदेखि, सम्पूर्ण आत्मादेखि र सम्पूर्ण मनदेखि प्रेम गर्नुपर्छ।’ यहीनै पहिलो र सबै भन्दा महान आज्ञा हो। दोस्रो आज्ञा पहिलो जस्तै छ ‘आफूलाई जस्तै अरू मानिसलाई पनि प्रेम गर्नु।’ अगमवक्ताहरूका सबै व्यवस्था र रचनाहरू यिनै दुइ आज्ञाहरूमा आधारित छन्।”

शेयर गर्नुहोस्
मत्ती 22 पढ्नुहोस्

मत्ती 22:27-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

आखिरमा त्‍यो स्‍वास्‍नी मानिस पनि मरी। अब सबै जना मरेकोबाट बिउँते भने त्‍यो कसकी स्‍वास्‍नी हुन्‍छे? उसलाई त सातै भाइले बिहे गरेका थिए!” येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू भुलमा परेछौ। तिमीहरूले न धर्मशास्‍त्र नता परमेश्‍वरको शक्तिको बारेमा नै बुझेका रहेछौ। मरेका मानिसहरू बिउँतेपछि त तिनीहरूको बिहे गर्ने र गराउने कुरै हुनेछैन। तिनीहरू त स्‍वर्गमा रहने स्‍वर्गदूतहरूजस्‍तै हुन्‍छन्। मरेकोबाट बिउँतने बारेमा अझै भन्‍ने हो भने ‘म अब्राहाम, इसहाक र याकूबको परमेश्‍वर हुँ’ भनेर परमेश्‍वरले तिमीहरूलाई भन्‍नुभएको कुरा के तिमीहरूले पढेका छैनौ? परमेश्‍वर त मरेकाहरूको होइन, तर जिउँदाहरूको पो परमेश्‍वर हुनुहुन्‍छ।” यसरी उहाँको शिक्षा सुनेर सबै मानिसहरू छक्‍क परे। येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्‍ने कुरा सुनेर फरिसीहरू एक गुट बाँधेर येशूकहाँ आए। तिनीहरूमध्‍ये एक जना धर्म-गुरुले येशूलाई फसाउने विचारले सोधे, “हे गुरु, व्यवस्थाको सबैभन्दा ठूलो आज्ञाचाहिँ कुन हो?” येशूले जवाफ दिनुभयो, “तैँले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो पूरा हृदय, पूरा प्राण र पूरा मनले प्रेम गर। सबैभन्दा मुख्‍य र ठूलो आज्ञा यही हो। अनि यस्‍तै अर्को मुख्‍य र ठूलो आज्ञाचाहिँ, ‘आफ्‍नो छिमेकीलाई आफैंलाई जस्‍तै प्रेम गर।’ मोशाका सबै व्यवस्था र अगमवक्ताका शिक्षाहरूको आधार यी दुई आज्ञा हुन्।”

शेयर गर्नुहोस्
मत्ती 22 पढ्नुहोस्