मत्ती 22:27-40
मत्ती 22:27-40 NNRV
तिनीहरू सबै मरेपछि त्यस स्त्रीको पनि मृत्यु भयो। यसकारण मृतकहरूको पुनरुत्थान हुँदा ती सातै जनामध्ये त्यो स्त्री कसकी पत्नी हुनेछ? किनभने त्यो सबैकी पत्नी भइसकेकी थिई।” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू भ्रममा परेका छौ, किनकि तिमीहरू धर्मशास्त्र र परमेश्वरको शक्ति जान्दैनौ। किनकि मृतकहरूको पुनरुत्थानमा मानिसहरूले विवाह गर्दैनन्, न विवाह गरिदिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरूजस्ता हुन्छन्। तर मृतकहरूका पुनरुत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नुभएको छ, त्यो तिमीहरूले पढ़ेका छैनौ? ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ।’ परमेश्वर मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ।” यो सुनेर भीड़हरू उहाँको शिक्षामा छक्क परे। उहाँले सदुकीहरूलाई चूप पार्नुभयो भन्ने सुनेर फरिसीहरू उहाँकहाँ भेला भए। तिनीहरूमध्ये एक जना व्यवस्थाका अध्यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे, “गुरुज्यू, व्यवस्थामा महान् आज्ञा कुन हो?” उहाँले तिनलाई भन्नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू। महान् र प्रथम आज्ञा यही हो। दोस्रो पनि त्यस्तै छ, तैंले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू। सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्।”

