त्यसपछि उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: “एउटा धनी मानिसको जमिनले प्रशस्त उब्जनी दियो। त्यसले आफ्नो मनमा गुन्न थाल्यो, ‘अब म के गरूँ? मेरो अन्न राख्ने मसँग ठाउँ नै छैन।’ “त्यसपछि त्यसले भन्यो, ‘म यसो गर्नेछु। मैले आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु; र म मेरा सबै अन्न र मालसामान त्यहाँ राख्नेछु; अनि म आफैँलाई भन्नेछु, “तेरा निम्ति धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति थुप्रिएका छन्; सुख-चैनको जीवन बिता, खा, पी र मोज गर्।” ’ “तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘ए मूर्ख! आज राति नै तेरो प्राण तँबाट लिइनेछ; अनि तैँले आफ्ना निम्ति तयार गरेका कुराहरू कसले प्राप्त गर्ला?’ “आफ्ना निम्ति धनसम्पत्ति थुपार्ने, तर परमेश्वरका कुराहरूमा धनी नहुने हरेक मानिसको अवस्था यस्तै हुनेछ।” त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर। भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण हो। कागहरूलाई विचार गर: तिनीहरूले न त छर्दछन्, न कटनी गर्दछन्। तिनीहरूको न त भण्डार छ, न ढुकुटी नै; तर पनि परमेश्वरले तिनीहरूलाई खुवाउनुहुन्छ। तिमीहरू त चराचुरुङ्गीभन्दा कति धेरै मूल्यवान् छौ! तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एकक्षण थप्न सक्छ र? त्यसकारण यति सानो काम पनि गर्न सक्दैनौ भने अन्य कुराहरूका निम्ति तिमीहरू किन चिन्ता गर्दछौ? “लिली फूलहरू कसरी हुर्कन्छन्, सो विचार गर। तिनीहरू परिश्रम गर्दैनन्, न धागो कात्छन्; तापनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्। आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, हे अल्पविश्वासीहरू हो, उहाँले तिमीहरूलाई झन् कत्ति बढी पहिराउनुहुन्छ होला! के खाऔँला अथवा के पिऔँला भनी त्यसैको खोजीमा मन नलगाओ, न त त्यस बारेमा चिन्तित नै होओ। किनकि संसारका मानिसहरू पो यस्ता कुराहरूका पछि लाग्दछन्, तर तिमीहरूका पिताले तिमीहरूलाई यस्ता कुराहरू चाहिन्छ भनी जान्नुहुन्छ। तर उहाँको राज्यको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्। “ए सानो बगाल, नडराओ! किनकि तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुभएको छ। तिमीहरूका सम्पत्ति बेचेर गरिबहरूलाई देओ। आफ्ना निम्ति कहिल्यै नरित्तिने थैलीहरू अर्थात् स्वर्गमा कहिल्यै नसकिने धनसम्पत्ति तयार पार, जहाँ चोर लाग्दैन; अनि किराले पनि नाश पार्दैन। किनकि जहाँ तिमीहरूको धनसम्पत्ति हुन्छ, त्यहीँ तिमीहरूको मन पनि हुनेछ।
लूका 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 12:16-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू