लूका 12:16-34

लूका 12:16-34 सरल नेपाली

त्‍यसपछि येशूले एउटा दृष्‍टान्‍तको रूपमा यस्‍तो कथा भन्‍नुभयो, “एक जना धनी मानिसको जमिनमा प्रशस्‍त उब्‍जनी भयो। तिनले मनमनै विचार गरे, ‘यी सबै अन्‍न कहाँ राख्‍ने होला? ठाउँ नै छैन। के गरूँ? अब म यसो गर्छु, ससाना भण्‍डार र भकारीहरू भत्‍काएर ठूला-ठूला बनाउँछु र त्‍यहीँ नै सबै अन्‍न र चीजबीज राख्‍छु। त्‍यसपछि म आफैंलाई भन्‍नेछु, तँ कति भाग्‍यमानी छस्! तँसँग वषौं-वर्षसम्‍म पुग्‍ने सम्‍पत्ति छ, सुखसँग खा, पी र मोज-मज्‍जा गर्‌’। तर परमेश्‍वरले त्‍यसलाई भन्‍नुभयो, ‘ए मूर्ख, आजै राती तेरो प्राण जानेछ र तैँले साँचेर राखेको धन-सम्‍पत्ति कसले खाला’?” अनि येशूले यो दृष्‍टान्‍त टुङ्ग्‍याउँदै भन्‍नुभयो, “आफ्‍नो लागि धन थुपारेर राख्‍ने मानिसको गति यस्‍तै हुन्‍छ। परमेश्‍वरले यस्‍ताहरूलाई धनी सम्‍झनुहुन्‍न।” त्‍यसपछि येशूले चेलाहरूलाई भन्‍नुभयो, “यसैकारण जिउनको लागि चाहिने खाने, लाउने कुराको बारेमा चिन्‍ता नगर। खानेकुराभन्दा जीवन नै ठूलो र लुगाफाटाभन्दा शरीर नै ठूलो हो। कागहरूलाई हेर! तिनीहरूले खेती गर्दैनन्, बालीनाली काट्‍ने, थन्‍क्‍याउने पनि गर्दैनन्। तिनीहरूका भण्‍डार, भकारी पनि हुँदैन, तैपनि परमेश्‍वरले तिनीहरूलाई खुवाउँदै हुनुहुन्‍छ। तिमीहरू त ती चरा-चुरुङ्गीहरू भन्दा धेरै नै मूल्‍यवान् छौ। तिमीहरूमध्‍ये कसैले चिन्‍ता गरेर आफ्‍नो आयु थोरै समय बढाउन सक्‍छौ र? यति सानो काम पनि गर्न सक्‍दैनौ भने त अरू कुराको चिन्‍ता किन गर्छौ? जङ्गलका लहलह परेका लिली फूलहरूलाई हेर, तिनीहरू त काम पनि गर्दैनन्, लाउनलाई लुगा पनि बुन्‍दैनन्। तर म तिमीहरूलाई भन्‍छु, सोलोमन राजासित त्‍यत्रो धन-सम्‍पत्ति छँदाछँदै पनि उनी त ती फूलहरूजस्‍तो सजिसजाउ भएका थिएनन्। आज मौलाउने अनि भोलि नै ओइलाएर डढाइने झारलाई पनि परमेश्‍वरले यसरी सिँगार्नुहुन्‍छ भने के झन् उहाँले तिमीहरूलाई लगाउने लुगा दिनुहुन्‍न र? खै तिमीहरूको विश्‍वास? यसैकारण के खाऔं, के लाऔं भनेर चिन्‍ता नगर। परमेश्‍वरलाई नचिन्‍नेहरूले पो यस्‍तो चिन्‍ता गर्छन्। यी सबै कुरा तिमीहरूलाई चाहिन्‍छ भनेर परमेश्‍वर पितालाई थाहा छ। पहिले परमेश्‍वरको राज्‍यको खोजी गर अनि उहाँले यी सबै कुरा तिमीहरूलाई थपिदिनुहुनेछ।” येशूले फेरि भन्‍नुभयो, “ए सानो बगाल, नडराओ! किनभने परमेश्‍वरले तिमीहरूलाई आफ्‍नो राज्‍य दिन खुसी हुनुभएको छ। तिमीहरूले आफ्‍नो सम्‍पत्ति बेचेर आएको पैसा गरीबहरूलाई देओ। आफ्‍नो लागि सधैँ रहने भण्‍डार बनाओ र कहिल्‍यै नसकिने धन स्‍वर्गमा जम्‍मा गर। त्‍यहाँ त चोर पनि लाग्‍दैन, किराले पनि खाँदैन किनकि जहाँ तिमीहरूको धन छ, त्‍यहीँ नै तिमीहरूको मन पनि रहनेछ।”

लूका 12 पढ्नुहोस्