लूका 12:16-34
लूका 12:16-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, “कुनै एक जना धनी मानिसको जमिनमा प्रशस्त उब्जनी भयो। त्यसले मनमनै गुन्न लाग्यो, ‘मेरो अन्न राख्ने ठाउँ मसित छैन, अब म के गरूँ?’ तब त्यसले भन्यो, ‘म यसो गर्नेछु— आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु, र मेरा सबै अनाज र मालसामान त्यहीँ राख्नेछु। अनि म आफ्नो प्राणलाई भन्नेछु, “ए प्राण, धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति तेरो निम्ति थुप्रिएको छ। सुख-चैनमा बस्। खा, पि, र मोज गर्’।” “तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘ए मूर्ख, आज राती नै तेरो प्राण तँबाट लिइनेछ, र जे कुराहरू तैंले आफ्नो निम्ति थुपारेको छस्, ती कसको हुने?’ “आफ्नो निम्ति धन-सम्पत्ति थुपार्ने, तर परमेश्वरको दृष्टिमा धनी नहुने मान्छेको अवस्था यस्तै हुन्छ।” उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसैकारण म तिमीहरूलाई भन्दछु, आफ्नो प्राणको निम्ति के खाऔं र शरीरको निम्ति के पहिरौं भनी चिन्तित नहोओ। किनकि प्राण भोजनभन्दा र शरीर वस्त्रभन्दा ठूलो हो। कागहरूलाई विचार गर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, तिनीहरूको न त भण्डार न ढुकुटी नै छ, तर पनि परमेश्वरले तिनलाई खुवाउनुहुन्छ। तिमीहरू चराचुरुङ्गीभन्दा ज्यादै बढ़ी मोलका छौ! तिमीहरूमध्ये कसले फिक्री गरेर आफ्नो आयुमा एक घड़ीसम्म पनि थप्न सक्छ? यसकारण तिमीहरू त्यतिको सानो काम पनि गर्न सक्दैनौ भने, अरू कुराको चिन्ता किन गर्दछौ? “लिली फूललाई विचार गर, कसरी तिनीहरू न त परिश्रम गर्छन् न कात्छन्, तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्नो सारा गौरवमा यीमध्ये एउटा जतिको पनि विभूषित थिएनन्। तर आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई परमेश्वरले यसरी आभूषित गर्नुहुन्छ भने, ए अल्पविश्वासी हो, उहाँले तिमीहरूलाई झन् कति बढ़ी आभूषित गर्नुहुनेछ। के खाऔंला कि के पिऔंला भनी तिमीहरू खोजीमा नबस, र चिन्तित पनि नहोओ। किनकि संसारका सबै मानिसहरू यी कुराहरूको खोजीमा रहन्छन्। तिमीहरूका पिताले जान्नुहुन्छ कि तिमीहरूलाई यी कुराहरूको खाँचो छ। तर परमेश्वरका राज्यको खोजी गर, र यी सबै कुराहरू पनि तिमीहरूलाई दिइनेछन्। “सानो बगाल, नडराओ! किनभने तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुहुन्छ। तिमीहरूको सम्पत्ति बेचेर दान देओ। आफ्नो निम्ति थोत्रो नहुने थैलीहरू बनाओ। स्वर्गमा कहिल्यै नष्ट नहुने धन स्वर्गमा सञ्चय गर। त्यहाँ चोर आउँदैन र कीरा पनि लाग्दैन। किनकि जहाँ तिम्रो धन छ, त्यहीँ तिम्रो मन पनि हुनेछ।
लूका 12:16-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: “एउटा धनी मानिसको जमिनले प्रशस्त उब्जनी दियो। त्यसले आफ्नो मनमा गुन्न थाल्यो, ‘अब म के गरूँ? मेरो अन्न राख्ने मसँग ठाउँ नै छैन।’ “त्यसपछि त्यसले भन्यो, ‘म यसो गर्नेछु। मैले आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु; र म मेरा सबै अन्न र मालसामान त्यहाँ राख्नेछु; अनि म आफैँलाई भन्नेछु, “तेरा निम्ति धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति थुप्रिएका छन्; सुख-चैनको जीवन बिता, खा, पी र मोज गर्।” ’ “तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘ए मूर्ख! आज राति नै तेरो प्राण तँबाट लिइनेछ; अनि तैँले आफ्ना निम्ति तयार गरेका कुराहरू कसले प्राप्त गर्ला?’ “आफ्ना निम्ति धनसम्पत्ति थुपार्ने, तर परमेश्वरका कुराहरूमा धनी नहुने हरेक मानिसको अवस्था यस्तै हुनेछ।” त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर। भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण र लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण हो। कागहरूलाई विचार गर: तिनीहरूले न त छर्दछन्, न कटनी गर्दछन्। तिनीहरूको न त भण्डार छ, न ढुकुटी नै; तर पनि परमेश्वरले तिनीहरूलाई खुवाउनुहुन्छ। तिमीहरू त चराचुरुङ्गीभन्दा कति धेरै मूल्यवान् छौ! तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एकक्षण थप्न सक्छ र? त्यसकारण यति सानो काम पनि गर्न सक्दैनौ भने अन्य कुराहरूका निम्ति तिमीहरू किन चिन्ता गर्दछौ? “लिली फूलहरू कसरी हुर्कन्छन्, सो विचार गर। तिनीहरू परिश्रम गर्दैनन्, न धागो कात्छन्; तापनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्। आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, हे अल्पविश्वासीहरू हो, उहाँले तिमीहरूलाई झन् कत्ति बढी पहिराउनुहुन्छ होला! के खाऔँला अथवा के पिऔँला भनी त्यसैको खोजीमा मन नलगाओ, न त त्यस बारेमा चिन्तित नै होओ। किनकि संसारका मानिसहरू पो यस्ता कुराहरूका पछि लाग्दछन्, तर तिमीहरूका पिताले तिमीहरूलाई यस्ता कुराहरू चाहिन्छ भनी जान्नुहुन्छ। तर उहाँको राज्यको खोजी गर, र यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्। “ए सानो बगाल, नडराओ! किनकि तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुभएको छ। तिमीहरूका सम्पत्ति बेचेर गरिबहरूलाई देओ। आफ्ना निम्ति कहिल्यै नरित्तिने थैलीहरू अर्थात् स्वर्गमा कहिल्यै नसकिने धनसम्पत्ति तयार पार, जहाँ चोर लाग्दैन; अनि किराले पनि नाश पार्दैन। किनकि जहाँ तिमीहरूको धनसम्पत्ति हुन्छ, त्यहीँ तिमीहरूको मन पनि हुनेछ।
लूका 12:16-34 पवित्र बाइबल (NERV)
अनि उहाँले यस्तो एउटा दृष्टान्त भन्नुभयोः “कुनै समयमा एक जना धनी मानिस थियो। त्यसको जमीनमा असल अनि प्रशस्त अन्नाबाली उब्जन्थ्यो। त्यो मानिस आफैं सोच्दथ्यो, ‘मैले के गर्ने मसित भएका यति प्रशस्त अन्न राख्ने ठाउँ नै छैन।’ “तब त्यस धनी मानसले भन्यो, ‘म जान्दछु मैले के गर्नु पर्ने हो। म मेरा भकारीहरू भत्काउँछु र त्यसलाई अझ ठूलो पार्छु। ती नयाँ भकारीहरूमा म सबै अन्नहरू र अरू मेरा राम्रो चीजहरू राख्नेछु। तब म आफैंलाई भन्नेछु, मेरोमा प्रशस्त राम्रो राम्रो समानहरू छन्। आउने धेरै वर्षको लागी मैले थुपारेको छु। आरामसित बस, खाउ, पीउ अनि जीवनमा आनन्द मनाऊ।’ “तर परमेश्वरले त्यस मानिसलाई भन्नुभयो, ‘तिमी मूर्ख हौ, आज रातीनै तिमी मर्नेछौ। अनि तिमीले आफ्नै लागि तयार पारेका चीजहरू कसको हुनेछ?’ “यसर्थ जसले आफ्नो निम्ति मात्र धन सम्पत्ती थुपार्छ त्यसले त्यो मानिसलाई के हुन्छ र परमेश्वरको अघि यस्ता मानिसहरू धनि होइनन्।” येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसकारण म तिमीरूलाई भन्दछु, बाँच्नका निम्ति खानेकुरा चाहिन्छ भन्ने विषयमा चिन्ता नगर। तिम्रो शरीरको विषयमा पनि चिन्ता नगर कि तिमी के लगाउँछौ? खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीरको महत्व धेरै छ। चराचुरूङ्गीहरूलाई हेर। तिनीहरू बीउ छर्दैनन् अनि वाली लाउँदैनन्। चराचुरूङ्गीहरूले भँण्डार अथवा भकारीहरूमा खानेकुरा थुपार्दैनन्। तर परमेश्वरले तिनीहरूलाई पेट भरी खुवाउँनुहुनेछ। अनि चराचुरुङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान हौ। तिमीहरू कसैले चिन्ताद्वारा आफ्नो आयुमा केही समय थप्नसक्छ? यदि तिमीहरू स-साना कुराहरू नै गर्न सक्दैनौ भने ठूलो विषयको किन फिक्री गर्छौ? “जंङ्गली फूलहरूलाई हेर। सोच, तिनीहरू कसरी उम्रन्छन्। तिनीहरू आफ्नै लागि केही गर्दैनन् न त वस्त्र नै बनाउँछन्। म तिमीहरूलाई भन्दछु कि सुलेमान जस्ता राजा आफ्नो समस्त वैभवको साथ पनि यी फूलहरूमा झैं एउटा वस्त्र पहिरिएको थिएन। परमेश्वरले नै जमीनमा ती घाँसलाई वस्त्र लगाइदिनुहुन्छ, जुन आज यहाँ छ भोलि त्यसलाई आगोमा फालिन्छ। यसैले तिमीहरूले जान्नु पर्छ कि परमेश्वरले नै तिमीहरूलाई अझ धेरै राम्रो वस्त्र पहिराई दिनुहुनेछ। तिम्रो एकदमै थोरै विश्वास छ। “त्यसरी नै तिमीहरूले के खाऔंला अनि के पिऔल भनी चिन्ता नगर। यस विषयमा कुनै चिन्ता नगर। संसारका सबै मानिसहरू यी चीजहरूको पछि लाग्छन् तर तिमीहरूका पिताले जान्दछन् कि तिमीहरूले यी सब चाहन्छौ। यसकारण तिमीहरूले खोज्नु पर्ने मुख्य त परमेश्वरको राज्य नै हो। तब तिमीहरूलाई यी सबै बस्तुहरू पनि दिइनेछ। “हे साना बगाल! नडराऊ! तिमीहरूका पिताले तिमीहरूलाई राज्य दिन चाहुनुहुन्छ। आफ्नोमा भएका सबै सम्पत्ति बेचेर जसलाई चाहिन्छ तिनीहरूलाई पैसा देऊ। धन त यो संसारमा स्थायी रहँदैन। तर स्वर्गको भँण्डार हासिल गर। त्यो भण्डार सधैँका लागी रहन्छ। स्वर्गमा तिम्रो भँण्डार चोरहरूले चोर्न सक्तैन, न त किराहरूले नै नष्ट पार्न सक्छ। तिम्रो हृदय त्यहीं हुनेछ जहाँ तिम्रो भण्डार हुनेछ।
लूका 12:16-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि येशूले एउटा दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, “एक जना धनी मानिसको जमिनमा प्रशस्त उब्जनी भयो। तिनले मनमनै विचार गरे, ‘यी सबै अन्न कहाँ राख्ने होला? ठाउँ नै छैन। के गरूँ? अब म यसो गर्छु, ससाना भण्डार र भकारीहरू भत्काएर ठूला-ठूला बनाउँछु र त्यहीँ नै सबै अन्न र चीजबीज राख्छु। त्यसपछि म आफैंलाई भन्नेछु, तँ कति भाग्यमानी छस्! तँसँग वषौं-वर्षसम्म पुग्ने सम्पत्ति छ, सुखसँग खा, पी र मोज-मज्जा गर्’। तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘ए मूर्ख, आजै राती तेरो प्राण जानेछ र तैँले साँचेर राखेको धन-सम्पत्ति कसले खाला’?” अनि येशूले यो दृष्टान्त टुङ्ग्याउँदै भन्नुभयो, “आफ्नो लागि धन थुपारेर राख्ने मानिसको गति यस्तै हुन्छ। परमेश्वरले यस्ताहरूलाई धनी सम्झनुहुन्न।” त्यसपछि येशूले चेलाहरूलाई भन्नुभयो, “यसैकारण जिउनको लागि चाहिने खाने, लाउने कुराको बारेमा चिन्ता नगर। खानेकुराभन्दा जीवन नै ठूलो र लुगाफाटाभन्दा शरीर नै ठूलो हो। कागहरूलाई हेर! तिनीहरूले खेती गर्दैनन्, बालीनाली काट्ने, थन्क्याउने पनि गर्दैनन्। तिनीहरूका भण्डार, भकारी पनि हुँदैन, तैपनि परमेश्वरले तिनीहरूलाई खुवाउँदै हुनुहुन्छ। तिमीहरू त ती चरा-चुरुङ्गीहरू भन्दा धेरै नै मूल्यवान् छौ। तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो आयु थोरै समय बढाउन सक्छौ र? यति सानो काम पनि गर्न सक्दैनौ भने त अरू कुराको चिन्ता किन गर्छौ? जङ्गलका लहलह परेका लिली फूलहरूलाई हेर, तिनीहरू त काम पनि गर्दैनन्, लाउनलाई लुगा पनि बुन्दैनन्। तर म तिमीहरूलाई भन्छु, सोलोमन राजासित त्यत्रो धन-सम्पत्ति छँदाछँदै पनि उनी त ती फूलहरूजस्तो सजिसजाउ भएका थिएनन्। आज मौलाउने अनि भोलि नै ओइलाएर डढाइने झारलाई पनि परमेश्वरले यसरी सिँगार्नुहुन्छ भने के झन् उहाँले तिमीहरूलाई लगाउने लुगा दिनुहुन्न र? खै तिमीहरूको विश्वास? यसैकारण के खाऔं, के लाऔं भनेर चिन्ता नगर। परमेश्वरलाई नचिन्नेहरूले पो यस्तो चिन्ता गर्छन्। यी सबै कुरा तिमीहरूलाई चाहिन्छ भनेर परमेश्वर पितालाई थाहा छ। पहिले परमेश्वरको राज्यको खोजी गर अनि उहाँले यी सबै कुरा तिमीहरूलाई थपिदिनुहुनेछ।” येशूले फेरि भन्नुभयो, “ए सानो बगाल, नडराओ! किनभने परमेश्वरले तिमीहरूलाई आफ्नो राज्य दिन खुसी हुनुभएको छ। तिमीहरूले आफ्नो सम्पत्ति बेचेर आएको पैसा गरीबहरूलाई देओ। आफ्नो लागि सधैँ रहने भण्डार बनाओ र कहिल्यै नसकिने धन स्वर्गमा जम्मा गर। त्यहाँ त चोर पनि लाग्दैन, किराले पनि खाँदैन किनकि जहाँ तिमीहरूको धन छ, त्यहीँ नै तिमीहरूको मन पनि रहनेछ।”