लूकाको सुसमाचार 12:16-34

लूकाको सुसमाचार 12:16-34 NERV

अनि उहाँले यस्तो एउटा दृष्टान्त भन्नुभयोः “कुनै समयमा एक जना धनी मानिस थियो। त्यसको जमीनमा असल अनि प्रशस्त अन्नाबाली उब्जन्थ्यो। त्यो मानिस आफैं सोच्दथ्यो, ‘मैले के गर्ने मसित भएका यति प्रशस्त अन्न राख्ने ठाउँ नै छैन।’ “तब त्यस धनी मानसले भन्यो, ‘म जान्दछु मैले के गर्नु पर्ने हो। म मेरा भकारीहरू भत्काउँछु र त्यसलाई अझ ठूलो पार्छु। ती नयाँ भकारीहरूमा म सबै अन्नहरू र अरू मेरा राम्रो चीजहरू राख्नेछु। तब म आफैंलाई भन्नेछु, मेरोमा प्रशस्त राम्रो राम्रो समानहरू छन्। आउने धेरै वर्षको लागी मैले थुपारेको छु। आरामसित बस, खाउ, पीउ अनि जीवनमा आनन्द मनाऊ।’ “तर परमेश्वरले त्यस मानिसलाई भन्नुभयो, ‘तिमी मूर्ख हौ, आज रातीनै तिमी मर्नेछौ। अनि तिमीले आफ्नै लागि तयार पारेका चीजहरू कसको हुनेछ?’ “यसर्थ जसले आफ्नो निम्ति मात्र धन सम्पत्ती थुपार्छ त्यसले त्यो मानिसलाई के हुन्छ र परमेश्वरको अघि यस्ता मानिसहरू धनि होइनन्।” येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसकारण म तिमीरूलाई भन्दछु, बाँच्नका निम्ति खानेकुरा चाहिन्छ भन्ने विषयमा चिन्ता नगर। तिम्रो शरीरको विषयमा पनि चिन्ता नगर कि तिमी के लगाउँछौ? खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीरको महत्व धेरै छ। चराचुरूङ्गीहरूलाई हेर। तिनीहरू बीउ छर्दैनन् अनि वाली लाउँदैनन्। चराचुरूङ्गीहरूले भँण्डार अथवा भकारीहरूमा खानेकुरा थुपार्दैनन्। तर परमेश्वरले तिनीहरूलाई पेट भरी खुवाउँनुहुनेछ। अनि चराचुरुङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान हौ। तिमीहरू कसैले चिन्ताद्वारा आफ्नो आयुमा केही समय थप्नसक्छ? यदि तिमीहरू स-साना कुराहरू नै गर्न सक्दैनौ भने ठूलो विषयको किन फिक्री गर्छौ? “जंङ्गली फूलहरूलाई हेर। सोच, तिनीहरू कसरी उम्रन्छन्। तिनीहरू आफ्नै लागि केही गर्दैनन् न त वस्त्र नै बनाउँछन्। म तिमीहरूलाई भन्दछु कि सुलेमान जस्ता राजा आफ्नो समस्त वैभवको साथ पनि यी फूलहरूमा झैं एउटा वस्त्र पहिरिएको थिएन। परमेश्वरले नै जमीनमा ती घाँसलाई वस्त्र लगाइदिनुहुन्छ, जुन आज यहाँ छ भोलि त्यसलाई आगोमा फालिन्छ। यसैले तिमीहरूले जान्नु पर्छ कि परमेश्वरले नै तिमीहरूलाई अझ धेरै राम्रो वस्त्र पहिराई दिनुहुनेछ। तिम्रो एकदमै थोरै विश्वास छ। “त्यसरी नै तिमीहरूले के खाऔंला अनि के पिऔल भनी चिन्ता नगर। यस विषयमा कुनै चिन्ता नगर। संसारका सबै मानिसहरू यी चीजहरूको पछि लाग्छन् तर तिमीहरूका पिताले जान्दछन् कि तिमीहरूले यी सब चाहन्छौ। यसकारण तिमीहरूले खोज्नु पर्ने मुख्य त परमेश्वरको राज्य नै हो। तब तिमीहरूलाई यी सबै बस्तुहरू पनि दिइनेछ। “हे साना बगाल! नडराऊ! तिमीहरूका पिताले तिमीहरूलाई राज्य दिन चाहुनुहुन्छ। आफ्नोमा भएका सबै सम्पत्ति बेचेर जसलाई चाहिन्छ तिनीहरूलाई पैसा देऊ। धन त यो संसारमा स्थायी रहँदैन। तर स्वर्गको भँण्डार हासिल गर। त्यो भण्डार सधैँका लागी रहन्छ। स्वर्गमा तिम्रो भँण्डार चोरहरूले चोर्न सक्तैन, न त किराहरूले नै नष्ट पार्न सक्छ। तिम्रो हृदय त्यहीं हुनेछ जहाँ तिम्रो भण्डार हुनेछ।