इस्राएलका परमेश्वर, सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “जब म तिनीहरूलाई कैदबाट फर्काएर ल्याउनेछु, तब यहूदाको देश र त्यसका सहरहरूमा भएका मानिसहरूले फेरि यी वचनहरू भन्नेछन्: ‘हे समृद्ध यरूशलेम, हे पवित्र पर्वत, याहवेहले तँलाई आशिष् देऊन्।’ यहूदा र त्यसका सबै सहरहरूमा भएका मानिसहरू, किसानहरू र आफ्ना बगालहरू लिएर यताउता डुलिहिँड्नेहरू सबै एकसाथ बस्नेछन्। थाकेकाहरूलाई म फेरि ताजा बनाउनेछु र मूर्च्छा परेकाहरूलाई तृप्त पार्नेछु।”
यतिकैमा म बिउँझेँ, र मैले चारैतिर हेरेँ। मेरो निन्द्रा मलाई मिठो लागेको थियो।
याहवेह घोषणा गर्नुहुन्छ, “हेर, यस्ता दिनहरू आउँछन्, जब म इस्राएल र यहूदाका मानिसहरूलाई तिनीहरूका सन्तान र पशुहरूका बच्चाहरूसमेत वृद्धि गर्नेछु। जसरी मैले तिनीहरूलाई उखेल्न, च्यातचुत पार्न र फ्याँक्न, विनाश गर्न र विपत्ति ल्याउन नियालेर हेरेँ; त्यसरी नै म तिनीहरूलाई निर्माण गर्न र रोप्नलाई पनि नियालेर हेर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “ती दिनहरूमा मानिसहरूले फेरि यसो कहिल्यै भन्नेछैनन्,
‘अमिलो अङ्गुर खाने आमाबुबा;
अनि दाँत कुँडिने छोराछोरीहरूको।’
त्यसको सट्टामा, हरेक मानिस उसको आफ्नै पापको कारणले मर्नेछ; जसले अमिलो अङ्गुर खान्छ, त्यसकै दाँत कुँडिनेछ।
“हेर, यस्ता दिनहरू आउनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ,
“जब म इस्राएलका मानिसहरू
र यहूदाका मानिसहरूसँग
नयाँ करार स्थापित गर्नेछु।
यो त्यो करारजस्तै हुनेछैन,
जुन मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेँ;
जब मैले तिनीहरूलाई हात समातेर,
इजिप्टबाट डोर्याएर ल्याएको थिएँ;
किनकि म तिनीहरूको पति भए तापनि
तिनीहरूले मेरो करार भङ्ग गरे,”
याहवेह घोषणा गर्नुहुन्छ।
“त्यसपछि म इस्राएलका मानिसहरूसँग यो करार बाँध्नेछु,”
याहवेह घोषणा गर्नुहुन्छ।
“म आफ्नो व्यवस्था तिनीहरूका मनमा राखिदिनेछु,
र त्यसलाई तिनीहरूका हृदयमा लेखिदिनेछु।
म तिनीहरूका परमेश्वर हुनेछु;
र तिनीहरू मेरा मानिसहरू हुनेछन्।
अब उसो कुनै पनि मानिसले आफ्नो छिमेकीलाई
अथवा एक-अर्कालाई, ‘याहवेहलाई चिन,’ भनी सिकाउनेछैन;
किनकि सानादेखि लिएर
ठूलासम्म सबैले मलाई चिन्नेछन्,”
याहवेह घोषणा गर्नुहुन्छ।
“किनकि म तिनीहरूका दुष्टता क्षमा गरिदिनेछु,
र तिनीहरूका पापहरू फेरि सम्झनेछैनँ।”
याहवेह यसो भन्नुहुन्छ,
जसले सूर्यलाई
दिउँसो प्रकाश दिन नियुक्त गर्नुहुन्छ,
जसले जुन र ताराहरूलाई
राति चम्कनलाई आदेश दिनुहुन्छ,
जसले समुद्रलाई हल्लाउनुहुन्छ,
ताकि छालहरू गर्जून्;
उहाँको नाम सेनाहरूका याहवेह हो:
याहवेह घोषणा गर्नुहुन्छ,
“जसरी मेरो दृष्टिबाट यी उर्दीहरू कहिल्यै रद्द हुँदैनन्,
त्यसरी नै इस्राएल मेरो सामु
सधैँभरि एक स्थिर राष्ट्र भई रहनेछ।”
याहवेह यसो भन्नुहुन्छ:
“यदि माथिका आकाशहरू नाप्न सकिन्छ,
र मुनि पृथ्वीका जगहरू खोजेर निकाल्न सकिन्छ भने मात्र,
म इस्राएलले गरेका पापहरूको कारण
तिनीहरूका सन्तानहरूलाई इन्कार गर्नेछु,”
याहवेह घोषणा गर्नुहुन्छ।
याहवेह घोषणा गर्नुहुन्छ, “यस्ता दिनहरू आउँदैछन्, जब हननेलको धरहरादेखि कुने मूलढोकासम्म यो सहर मेरा निम्ति पुनर्निर्माण हुनेछ। नाप्ने डोरी त्यहाँबाट सीधा गारेबको डाँडामा पुगेर गोआसम्म जानेछ। समस्त बेँसीमा लासहरू र खरानीहरू फ्याँकिनेछ। अनि यरूशलेमको पूर्वतिरको किद्रोन खोल्सामाथि भएका मृत्युका खेतहरू र घोडे-ढोकासम्म भएका सबै इलाका याहवेहका निम्ति पवित्र हुनेछन्। त्यो सहर फेरि कहिल्यै उखेलिनेछैन, न त भत्काइनेछ।”