यर्मिया 31:23-40

यर्मिया 31:23-40 सरल नेपाली

इस्राएलका परमेश्‍वर सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “जब म मेरा मानिसहरूलाई आफ्‍नो देशमा फर्काएर ल्‍याउनेछु, तिनीहरूले फेरि एक पल्‍ट यहूदा देश र त्‍यसका सहरहरूमा यसो भन्‍नेछन्, ‘परमप्रभुले आफू बास गर्ने यरूशलेमको पवित्र डाँडालाई आशीर्वाद देऊन्।’ मानिसहरू यहूदा र त्‍यसका सहरहरूमा एकसाथ बास गर्नेछन् र त्‍यहाँ किसानहरू र आफ्‍ना बगालसाथ गोठालाहरू हुनेछन्। म थाकेकाहरूलाई नयाँ गरी फुर्तिला बनाउनेछु र भोकले दुर्बल भएकाहरूलाई भोजनले तृप्‍त गराउनेछु। त्‍यसपछि मानिसहरूले भन्‍नेछन्, ‘म बिउँझेर हेरें र मलाई मेरो निद्रा मीठो लाग्‍यो’।” परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यो दिन आउँदै छ, जब म इस्राएल र यहूदा देशलाई मानिसहरू र पशुहरूले भरिभराउ गराउनेछु। अनि जसरी मैले तिनीहरूलाई मिहेनतसित उखेलें, ढालें, फ्‍याँकें, नाश गरें र ध्‍वस्‍त पारें, त्‍यसरी नै मिहिनेतसित रोप्‍नेछु, हेरचाह गर्नेछु र हुर्काउनेछु। जब त्‍यो दिन आउनेछ, तब मानिसहरूले फेरि यसो कहिल्‍यै भन्‍नेछैनन्, ‘आमा-बुबाले अमिलो अङ्‌गुर खाए, तर छोरा-छोरीका दाँत कुँडिए।’ त्‍यसको सट्टामा, जसले अमिलो अङ्‌गुर खान्‍छ, त्‍यसैको दाँत कुँडिन्‍छ र हरेक मानिस आफ्‍नै पापले गर्दा आफैं मर्नेछ।” परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यो दिन आउँदै छ, जब म इस्राएल र यहूदाका मानिसहरूसित एउटा नयाँ करार बाँध्‍नेछु, त्‍यो करार मैले तिनीहरूका पिता-पुर्खालाई हातमा समातेर मिश्रबाट निकालेर ल्‍याउँदा तिनीहरूसित बाँधेको पुरानो करारजस्‍तो हुनेछैन। म तिनीहरूका स्‍वामीझैँ थिएँ तापनि तिनीहरूले त्‍यो करार तोडे। मैले इस्राएलका प्रजासित बाँध्‍न लागेको नयाँ करार यस्‍तो हुनेछ: म मेरो व्‍यवस्‍था तिनीहरूका मनमा हालिदिनेछु र तिनीहरूका हृदयमा लेखिदिनेछु। म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्। तिनीहरू कसैले आफ्‍ना छिमेकी वा दाजुभाइलाई परमप्रभु चिनाउनुपर्नेछैन किनभने साना-ठूला सबैले मलाई चिन्‍नेछन्। म तिनीहरूका दुष्‍कर्म क्षमा गर्नेछु र तिनीहरूका पापहरू कहिल्‍यै सम्‍झनेछैनँ। म परमप्रभु बोलेको छु।” परमप्रभुले दिउँसो उज्‍यालो दिन घाम र राती चम्‍कन जून र ताराहरू राख्‍नुभएको छ। उहाँले समुद्रलाई चलाउनुहुन्‍छ र त्‍यसका छालहरू गर्जन लाउनुहुन्‍छ। उहाँको नाम सर्वशक्तिमान् परमप्रभु हो। जबसम्‍म प्रकृतिको नियम रहला, तबसम्‍म इस्राएल एउटा स्‍थिर जाति भई रहनेछ भनी उहाँले प्रतिज्ञा गर्नुहुन्‍छ। यदि कुनै दिन आकाशको नाप लिन सकिन्‍छ र पृथ्‍वीको जगको खोजी गर्न सकिन्‍छ भने त्‍यही दिन मात्र उहाँले इस्राएलका सबै मानिसहरूलाई तिनीहरूका दुष्‍कर्मका कारणले त्‍याग्‍नुहुनेछ। परमप्रभु बोल्‍नुभएको छ, “त्‍यो समय आउँदै छ, जब हननेलका धरहरादेखि कुनाको मूल-ढोकासम्‍म फेरि सारा यरूशलेम मेरो सहर बनिनेछ। अनि त्‍यसको साँध-सिमाना त्‍यहाँबाट अरू पश्‍चिमतिर गारेब डाँडासम्‍म पुग्‍नेछ र त्‍यहाँबाट घुमेर गोआसम्‍म जानेछ। लाश गाड्‍ने र कसिङ्गर फालिने सारा बेसी र किद्रोन खोल्‍सामाथिका सबै खेत र पूर्वमा घोडे मूल-ढोकासम्‍म भएका सबै इलाका मेरो निम्‍ति पवित्र हुनेछ र त्‍यो सहर फेरि कहिल्‍यै भत्‍काइनेछैन।”

यर्मिया 31 पढ्नुहोस्