यर्मिया 31:23-40
यर्मिया 31:23-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “जब म तिनीहरूलाई कैदबाट फर्काएर ल्याउनेछु, तब मानिसहरूले यहूदाको देश र त्यसका नगरहरूमा यी वचन फेरि प्रयोग गर्नेछन्, ‘हे धर्मी वासस्थान, हे पवित्र पर्वत, तँलाई परमप्रभुले आशिष् देऊन्’। यहूदा र त्यसका सबै नगरहरूमा मानिसहरू एकैसाथ बस्नेछन्— किसानहरू, र आफ्ना बगालसँग घुम्ने गोठालाहरू। थाकेकाहरूलाई म फेरि ताजा बनाउनेछु र मूर्च्छा खानेहरूलाई सन्तुष्ट तुल्याउनेछु।” यतिमै म बिउँझें र चारैतिर हेरें। मेरो निद्रा मलाई मीठो लागेको थियो। परमप्रभु भन्नुहुन्छ, “दिन आउँदैछन्, जब म मानिस र पशुका बच्चाहरूले इस्राएलका घराना र यहूदाका घरानालाई रोप्नेछु। जसरी तिनीहरूलाई उखेल्न, लछार्न र फ्याँक्न, र तिनीहरूमाथि सर्वनाश ल्याउनलाई मैले मेरो दृष्टि तिनीहरूमाथि राखें, त्यसरी नै तिनीहरूलाई निर्माण गर्न र रोप्नलाई मेरो दृष्टि तिनीहरूमाथि राख्नेछु,” परमप्रभु भन्नुहुन्छ। “ती दिनमा मानिसहरूले फेरि कहिल्यै यसो भन्नेछैनन्, ‘अमिलो अङ्गूर खाए बुबाले अनि दाँत कुँड़िनेचाहिँ छोराछोरीको’। त्यसको सट्टामा हरेक आफ्नै पापको निम्ति मर्नेछ। जसले अमिलो अङ्गूर खान्छ त्यसैको दाँत कुँड़िन्छ। परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु। तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करारजस्तै यो हुनेछैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्रदेशबाट डोर्याएर ल्याएको थिएँ।” परमप्रभु भन्नुहुन्छ, “तिनीहरूले मेरो करार भङ्ग गरे, यद्यपि म तिनीहरूका पिता थिएँ।” परमप्रभु भन्नुहुन्छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्। ‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्ना दाजुभाइलाई सिकाउनेछैन। किनकि सानादेखि लिएर ठूलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्,” परमप्रभु भन्नुहुन्छ। “किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र म तिनीहरूका पाप फेरि कहिल्यै सम्झनेछैनँ।” परमप्रभु यसो भन्नुहुन्छ: जसले दिन उज्यालो पार्नलाई सूर्य नियुक्त गर्नुहुन्छ, र राती प्रकाश दिनलाई चन्द्रमा र ताराहरूलाई आज्ञा गर्नुहुन्छ, जसले छालहरू गर्जाउनलाई समुद्र चलाउनुहुन्छ— उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो। “यी विधिहरू मेरो दृष्टिबाट लुप्त भए भने मात्र इस्राएलको वंश मेरो सामु एक जाति हुनदेखि खतम हुनेछ,” परमप्रभु भन्नुहुन्छ। परमप्रभु यसो भन्नुहुन्छ: “आकाशलाई नाप्न सकियो भने, र पृथ्वीको जगलाई खोजेर निकाल्न सकियो भने मात्र तिनीहरूले गरेका सबै अधर्मको कारण म इस्राएलका सन्तानलाई फालिदिनेछु,” परमप्रभु भन्नुहुन्छ। परमप्रभु भन्नुहुन्छ, “दिनहरू आउँदैछन्, जब हननेलको बुर्जादेखि कुने-ढोकासम्मै सहर फेरि मेरो निम्ति बनाइनेछ। नाप्ने डोरी त्यहाँबाट सीधै गारेब डाँड़ासम्म पुग्नेछ, र त्यहाँबाट घुमेर गोआसम्म जानेछ। लाशहरू र खरानी फालिने सारा उपत्यका, र पूर्वतिर किद्रोन खोल्सासम्मका सबै खेतहरू अश्व ढोकाको कुनासम्म परमप्रभुको निम्ति पवित्र हुनेछ। त्यो सहर फेरि कहिल्यै उखेलिनेछैन अथवा भत्काइनेछैन।”
यर्मिया 31:23-40 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
इस्राएलका परमेश्वर, सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “जब म तिनीहरूलाई कैदबाट फर्काएर ल्याउनेछु, तब यहूदाको देश र त्यसका सहरहरूमा भएका मानिसहरूले फेरि यी वचनहरू भन्नेछन्: ‘हे समृद्ध यरूशलेम, हे पवित्र पर्वत, याहवेहले तँलाई आशिष् देऊन्।’ यहूदा र त्यसका सबै सहरहरूमा भएका मानिसहरू, किसानहरू र आफ्ना बगालहरू लिएर यताउता डुलिहिँड्नेहरू सबै एकसाथ बस्नेछन्। थाकेकाहरूलाई म फेरि ताजा बनाउनेछु र मूर्च्छा परेकाहरूलाई तृप्त पार्नेछु।” यतिकैमा म बिउँझेँ, र मैले चारैतिर हेरेँ। मेरो निन्द्रा मलाई मिठो लागेको थियो। याहवेह घोषणा गर्नुहुन्छ, “हेर, यस्ता दिनहरू आउँछन्, जब म इस्राएल र यहूदाका मानिसहरूलाई तिनीहरूका सन्तान र पशुहरूका बच्चाहरूसमेत वृद्धि गर्नेछु। जसरी मैले तिनीहरूलाई उखेल्न, च्यातचुत पार्न र फ्याँक्न, विनाश गर्न र विपत्ति ल्याउन नियालेर हेरेँ; त्यसरी नै म तिनीहरूलाई निर्माण गर्न र रोप्नलाई पनि नियालेर हेर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “ती दिनहरूमा मानिसहरूले फेरि यसो कहिल्यै भन्नेछैनन्, ‘अमिलो अङ्गुर खाने आमाबुबा; अनि दाँत कुँडिने छोराछोरीहरूको।’ त्यसको सट्टामा, हरेक मानिस उसको आफ्नै पापको कारणले मर्नेछ; जसले अमिलो अङ्गुर खान्छ, त्यसकै दाँत कुँडिनेछ। “हेर, यस्ता दिनहरू आउनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ, “जब म इस्राएलका मानिसहरू र यहूदाका मानिसहरूसँग नयाँ करार स्थापित गर्नेछु। यो त्यो करारजस्तै हुनेछैन, जुन मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेँ; जब मैले तिनीहरूलाई हात समातेर, इजिप्टबाट डोर्याएर ल्याएको थिएँ; किनकि म तिनीहरूको पति भए तापनि तिनीहरूले मेरो करार भङ्ग गरे,” याहवेह घोषणा गर्नुहुन्छ। “त्यसपछि म इस्राएलका मानिसहरूसँग यो करार बाँध्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “म आफ्नो व्यवस्था तिनीहरूका मनमा राखिदिनेछु, र त्यसलाई तिनीहरूका हृदयमा लेखिदिनेछु। म तिनीहरूका परमेश्वर हुनेछु; र तिनीहरू मेरा मानिसहरू हुनेछन्। अब उसो कुनै पनि मानिसले आफ्नो छिमेकीलाई अथवा एक-अर्कालाई, ‘याहवेहलाई चिन,’ भनी सिकाउनेछैन; किनकि सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ। “किनकि म तिनीहरूका दुष्टता क्षमा गरिदिनेछु, र तिनीहरूका पापहरू फेरि सम्झनेछैनँ।” याहवेह यसो भन्नुहुन्छ, जसले सूर्यलाई दिउँसो प्रकाश दिन नियुक्त गर्नुहुन्छ, जसले जुन र ताराहरूलाई राति चम्कनलाई आदेश दिनुहुन्छ, जसले समुद्रलाई हल्लाउनुहुन्छ, ताकि छालहरू गर्जून्; उहाँको नाम सेनाहरूका याहवेह हो: याहवेह घोषणा गर्नुहुन्छ, “जसरी मेरो दृष्टिबाट यी उर्दीहरू कहिल्यै रद्द हुँदैनन्, त्यसरी नै इस्राएल मेरो सामु सधैँभरि एक स्थिर राष्ट्र भई रहनेछ।” याहवेह यसो भन्नुहुन्छ: “यदि माथिका आकाशहरू नाप्न सकिन्छ, र मुनि पृथ्वीका जगहरू खोजेर निकाल्न सकिन्छ भने मात्र, म इस्राएलले गरेका पापहरूको कारण तिनीहरूका सन्तानहरूलाई इन्कार गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। याहवेह घोषणा गर्नुहुन्छ, “यस्ता दिनहरू आउँदैछन्, जब हननेलको धरहरादेखि कुने मूलढोकासम्म यो सहर मेरा निम्ति पुनर्निर्माण हुनेछ। नाप्ने डोरी त्यहाँबाट सीधा गारेबको डाँडामा पुगेर गोआसम्म जानेछ। समस्त बेँसीमा लासहरू र खरानीहरू फ्याँकिनेछ। अनि यरूशलेमको पूर्वतिरको किद्रोन खोल्सामाथि भएका मृत्युका खेतहरू र घोडे-ढोकासम्म भएका सबै इलाका याहवेहका निम्ति पवित्र हुनेछन्। त्यो सहर फेरि कहिल्यै उखेलिनेछैन, न त भत्काइनेछ।”
यर्मिया 31:23-40 पवित्र बाइबल (NERV)
सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “म ती मानिसहरूलाई फर्काई ल्याउनेछु, जसलाई कैदी बनाएर टाढा लगिएका थिए। त्यस बेला, यहूदाको देशमा भएका मानिसहरू अनि यसका शहरहरूले पुन: एकपल्ट यी शब्दहरू प्रयोग गर्नेछन्। ‘हे धार्मिकताको वासस्थान, हे पवित्र पर्वत, परमेश्वरको आशिष तिमीहरूमा रहोस्।’ “मानिसहरू यहूदामा र यसका शहरहरूमा एक साथ बस्नेछन्, खेतीवाल अनि जो आफ्नो भेंडा़का बथानहरूसित वरिपरि घुमिहिँड्छन्। थाकेकाहरूलाई म आराम र कमजोरहरूलाई बल दिनेछु।” यो सुन पछि म, उठेर चारैतिर हेरे। त्यो निद्रा आनन्दमय थियो। “हो दिनहरू आईरहेछ,” यो परमेश्वरको सन्देश “जब म इस्राएल र यहूदाका परिवारलाई उन्नति साथ भनेर मद्दत गर्नेछु। म तिनीहरूका नानीहरू र पशु प्राणीहरू बढाउनेछु। बितेका दिनमा, मैले तिमीहरूलाई उखाल्न, तल झार्न, च्यात-च्युत पार्न, नष्ट पार्न र नोक्सान गर्न नियालें। तर अहिले तिनीहरूलाई निमार्ण गर्न र तिनीहरूको र जग बासाउनँ म तिनीहरूलाई नियाली रहेछु।” यो परमप्रभुबाट आएको सन्देश हो। “ती दिनहरूमा, मानिसहरूले भन्ने छैनन्: ‘पिता-पुर्खाहरूले अमीलो अङ्गुर खाए, अनि नानीहरूले अमीलो स्वाद पाए।’ तर हरेक मानिस आफ्नो दुष्टताको कारणले मर्नेछ। त्यो मानिस जसले अमीलो अङ्गुरहरू खाँदछ र अमीलै स्वाद पाउँदछ।” परमप्रभुले ती कुराहरू भन्नुभयो, “त्यो समय आईरहेछ जब म यहूदा र इस्राएलका परिवारहरूसँग नयाँ करार स्थापित गर्नेछु। यो उनीहरूका पिता-पुर्खाहरूसँग मैले गरेको करार जस्तो हुनेछैन। मैले त्यसबेला त्यो करार गरेको थिएँ जब मैले तिनीहरूलाई तिनीहरूको हात समातेर मिश्रबाट निकाली ल्याएको थिएँ। म तिनीहरूका मालिक थिएँ तापनि तिनीहरूले मेरो करार भङ्ग गरेका थिए।” यो सन्देश परमप्रभुको थियो। “म भविष्यमा यही करार इस्राएलका मानिसहरूसित गर्नेछु। म मेरो शिक्षाहरू तिनीहरूका विवेकमा राख्नेछु अनि तिनीहरूका हृदयमा लेख्नेछु। म तिनीहरूका परमप्रभु हुनेछ अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्। तिनीहरूका शाखा-सन्तानहरू र छिमेकीहरूलाई परमेश्वरको बारेमा सिकाउनु पर्दैन् किनभने मानिस ठूलो होस् अथवा सानो, प्रत्येकले मलाई चिन्छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “म तिनीहरूको कुकर्महरू क्षमा गरिदिनेछु, म तिनीहरूका पापहरूलाई याद गर्ने छैन।” उहाँले दिनमा सूर्य उदाउने गराउनु हुन्छ, अनि रातमा चन्द्र र ताराहरू उदाउने गराउनु हुन्छ। उहाँले समुद्रलाई उत्तेजित र छालहरूलाई गर्जने पार्नु हुन्छ। सेनाहरूका परमप्रभु उहाँको नाउँ हो। परमप्रभुले यी कुराहरू भन्नुभयो: परमप्रभुले यी कुराहरू भन्नुहुन्छ, “यदि मैले मेरो आफ्नो नियन्त्रण सूर्य, चन्द्र, तारा र समुद्रमाथि हटाएँ भने मात्र इस्राएलका भावी सन्तानहरू एक जातिमा परिणत हुन रोक्नेछन्।” परमप्रभु भन्नुहुन्छ “म इस्राएलका भावी सन्ताहनरूलाई कहिल्यै अस्वीकार गर्नेछैन। त्यो त्यसबेला मात्र घट्न सक्ला यदि मानिसहरूले माथि आकाश नाप्न सक्यो भने, अनि पृथ्वी मुनीका सारा रहस्यहरू जान्न सक्यो भने। त्यसबेला मात्र म इस्राएलका सन्तानहरूलाई, तिनीहरूले गरेको कुकर्महरूका निम्ति अस्वीकार गर्नेछु।” यो सन्देश परमेश्वरबाट आएको थियो। यो सन्देश परमप्रभुबाट आएको हो, “ती दिनहरू आईरहेछन् जब यरूशलेमको शहर परमप्रभुको लागि पुनःर्निर्माण गरिनेछ। हनानेलको धरहरादेखि कुनाको प्रवेशद्वारसम्म नै सम्पूर्ण शहर पुनःर्निर्माण गरिनेछ। जोखिने रेखा कुना त्यहाँदेखि सोझै गारेब डाँडासम्म जानेछ अनि त्यहाँबाट घुमेर गोर्हा नाउँका ठाउँसम्म जानेछ। समस्त बेंसी जहाँ लाशहरू र खरानी फ्याँकिन्छन् परमप्रभुको लागि पवित्र हुनेछ। पूर्वका सबै मैदानहरू किंद्रोन खोल्चाबाट घोडे ढोकाको कुनासम्म नै परमप्रभुका निम्ति पवित्र हुनेछ। त्यो भूमि फेरि कहिल्यै उखालिने र भत्काइने छैन।”
यर्मिया 31:23-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
इस्राएलका परमेश्वर सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “जब म मेरा मानिसहरूलाई आफ्नो देशमा फर्काएर ल्याउनेछु, तिनीहरूले फेरि एक पल्ट यहूदा देश र त्यसका सहरहरूमा यसो भन्नेछन्, ‘परमप्रभुले आफू बास गर्ने यरूशलेमको पवित्र डाँडालाई आशीर्वाद देऊन्।’ मानिसहरू यहूदा र त्यसका सहरहरूमा एकसाथ बास गर्नेछन् र त्यहाँ किसानहरू र आफ्ना बगालसाथ गोठालाहरू हुनेछन्। म थाकेकाहरूलाई नयाँ गरी फुर्तिला बनाउनेछु र भोकले दुर्बल भएकाहरूलाई भोजनले तृप्त गराउनेछु। त्यसपछि मानिसहरूले भन्नेछन्, ‘म बिउँझेर हेरें र मलाई मेरो निद्रा मीठो लाग्यो’।” परमप्रभु भन्नुहुन्छ, “त्यो दिन आउँदै छ, जब म इस्राएल र यहूदा देशलाई मानिसहरू र पशुहरूले भरिभराउ गराउनेछु। अनि जसरी मैले तिनीहरूलाई मिहेनतसित उखेलें, ढालें, फ्याँकें, नाश गरें र ध्वस्त पारें, त्यसरी नै मिहिनेतसित रोप्नेछु, हेरचाह गर्नेछु र हुर्काउनेछु। जब त्यो दिन आउनेछ, तब मानिसहरूले फेरि यसो कहिल्यै भन्नेछैनन्, ‘आमा-बुबाले अमिलो अङ्गुर खाए, तर छोरा-छोरीका दाँत कुँडिए।’ त्यसको सट्टामा, जसले अमिलो अङ्गुर खान्छ, त्यसैको दाँत कुँडिन्छ र हरेक मानिस आफ्नै पापले गर्दा आफैं मर्नेछ।” परमप्रभु भन्नुहुन्छ, “त्यो दिन आउँदै छ, जब म इस्राएल र यहूदाका मानिसहरूसित एउटा नयाँ करार बाँध्नेछु, त्यो करार मैले तिनीहरूका पिता-पुर्खालाई हातमा समातेर मिश्रबाट निकालेर ल्याउँदा तिनीहरूसित बाँधेको पुरानो करारजस्तो हुनेछैन। म तिनीहरूका स्वामीझैँ थिएँ तापनि तिनीहरूले त्यो करार तोडे। मैले इस्राएलका प्रजासित बाँध्न लागेको नयाँ करार यस्तो हुनेछ: म मेरो व्यवस्था तिनीहरूका मनमा हालिदिनेछु र तिनीहरूका हृदयमा लेखिदिनेछु। म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्। तिनीहरू कसैले आफ्ना छिमेकी वा दाजुभाइलाई परमप्रभु चिनाउनुपर्नेछैन किनभने साना-ठूला सबैले मलाई चिन्नेछन्। म तिनीहरूका दुष्कर्म क्षमा गर्नेछु र तिनीहरूका पापहरू कहिल्यै सम्झनेछैनँ। म परमप्रभु बोलेको छु।” परमप्रभुले दिउँसो उज्यालो दिन घाम र राती चम्कन जून र ताराहरू राख्नुभएको छ। उहाँले समुद्रलाई चलाउनुहुन्छ र त्यसका छालहरू गर्जन लाउनुहुन्छ। उहाँको नाम सर्वशक्तिमान् परमप्रभु हो। जबसम्म प्रकृतिको नियम रहला, तबसम्म इस्राएल एउटा स्थिर जाति भई रहनेछ भनी उहाँले प्रतिज्ञा गर्नुहुन्छ। यदि कुनै दिन आकाशको नाप लिन सकिन्छ र पृथ्वीको जगको खोजी गर्न सकिन्छ भने त्यही दिन मात्र उहाँले इस्राएलका सबै मानिसहरूलाई तिनीहरूका दुष्कर्मका कारणले त्याग्नुहुनेछ। परमप्रभु बोल्नुभएको छ, “त्यो समय आउँदै छ, जब हननेलका धरहरादेखि कुनाको मूल-ढोकासम्म फेरि सारा यरूशलेम मेरो सहर बनिनेछ। अनि त्यसको साँध-सिमाना त्यहाँबाट अरू पश्चिमतिर गारेब डाँडासम्म पुग्नेछ र त्यहाँबाट घुमेर गोआसम्म जानेछ। लाश गाड्ने र कसिङ्गर फालिने सारा बेसी र किद्रोन खोल्सामाथिका सबै खेत र पूर्वमा घोडे मूल-ढोकासम्म भएका सबै इलाका मेरो निम्ति पवित्र हुनेछ र त्यो सहर फेरि कहिल्यै भत्काइनेछैन।”