उत्पत्ति 50:18-26

उत्पत्ति 50:18-26 NCV

तब तिनका दाजुभाइहरू तिनीकहाँ आएर तिनको अगि घोप्टो परेर भने, “हामी तपाईंका दासहरू हौँ।” तर योसेफले उनीहरूलाई भने, “नडराओ; के म परमेश्‍वरको स्थानमा छु र? तिमीहरूले मलाई हानि गर्ने विचार गर्‍यौ; तर अहिले धेरैको प्राण बाँच्ने जुन काम भइरहेको छ, त्यो काम परमेश्‍वरले भलाइका निम्ति गर्नुभयो। यसकारण अब नडराओ; म तिमीहरू र तिमीहरूका बालबच्‍चाहरूको पालनपोषण गर्नेछु।” अनि तिनले उनीहरूलाई फेरि आश्‍वासन दिए, र उनीहरूसित दयालु भएर कुराकानी गरे। योसेफ आफ्ना पिताका सम्पूर्ण परिवारसित इजिप्टमा बसे। तिनी एक सय दश वर्षसम्म बाँचे। तिनले एफ्राइमका छोराछोरीहरूका तेस्रो पुस्तासम्मलाई देखे। मनश्शेका छोरा माकीरका छोराछोरीहरूलाई पनि तिनले काखमा लिए, जसलाई तिनले आफ्नै ठान्दथे। तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो मृत्यु हुन लागेको छ; तर परमेश्‍वर निश्‍चय तिमीहरूलाई सहायता दिन आउनुहुनेछ; र तिमीहरूलाई यस देशबाट उहाँले अब्राहाम, इसहाक र याकोबलाई शपथद्वारा प्रतिज्ञा गर्नुभएको देशमा लैजानुहुनेछ।” अनि योसेफले इस्राएलका छोराहरूलाई शपथ खान लगाएर भने, “परमेश्‍वर निश्‍चय तिमीहरूको सहायताका लागि आउनुहुनेछ, र तिमीहरूले मेरा हड्डीहरू यस ठाउँबाट माथि लैजानू।” यसरी योसेफको एक सय दश वर्ष उमेर पुगेर मृत्यु भयो। अनि उनीहरूले तिनलाई सुगन्धित लेप लगाएपछि बाकसमा हालेर इजिप्टमा नै राखे।

उत्पत्ति 50 पढ्नुहोस्