उत्‍पत्ति 50:18-26

उत्‍पत्ति 50:18-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिनका दाजुहरू पनि आएर तिनका सामुन्‍ने घोप्‍टो परेर भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौं।” तर योसेफले उनीहरूलाई भने, “नडराओ, के म परमेश्‍वरको स्‍थानमा छु र? तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्‍वरले त्‍यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्‍यसरी नै धेरै जना मानिसहरू बाँचिरहून्‌। यसकारण नडराओ, तिमीहरूलाई तिमीहरूका बालबच्‍चासमेत म पालनपोषण गर्नेछु।” यसरी तिनले उनीहरूलाई ढाड़स र सान्‍त्‍वना दिए। योसेफ र तिनका बुबाका परिवारहरू मिश्रमै बसे, र योसेफ एक सय दश वर्षसम्‍म बाँचे। योसेफले एफ्राइमको पनातिसम्‍म पनि देखे। मनश्‍शेका छोरा माकीरका भर्खर जन्‍मेका बालबच्‍चा पनि योसेफकै घुँड़ामा राखिए। तब योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो, तर परमेश्‍वरले निश्‍चय नै तिमीहरूको हेर-विचार गर्नुहुनेछ, र उहाँले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई लैजानुहुनेछ।” अनि योसेफले इस्राएलका सन्‍तानलाई शपथ खान लाएर भने, “परमेश्‍वरले तिमीहरूको हेर-विचार गर्नुहुनेछ, र त्‍यो बेला तिमीहरूले मेरा अस्‍थिहरू यहाँबाट लैजानू।” यसरी योसेफ एक सय दश वर्षको भएर मरे, र उनीहरूले तिनको लाश सुगन्‍धित लेप मलेर बाकसमा हालेर मिश्रमा नै राखे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 50 पढ्नुहोस्

उत्‍पत्ति 50:18-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब तिनका दाजुभाइहरू तिनीकहाँ आएर तिनको अगि घोप्टो परेर भने, “हामी तपाईंका दासहरू हौँ।” तर योसेफले उनीहरूलाई भने, “नडराओ; के म परमेश्‍वरको स्थानमा छु र? तिमीहरूले मलाई हानि गर्ने विचार गर्‍यौ; तर अहिले धेरैको प्राण बाँच्ने जुन काम भइरहेको छ, त्यो काम परमेश्‍वरले भलाइका निम्ति गर्नुभयो। यसकारण अब नडराओ; म तिमीहरू र तिमीहरूका बालबच्‍चाहरूको पालनपोषण गर्नेछु।” अनि तिनले उनीहरूलाई फेरि आश्‍वासन दिए, र उनीहरूसित दयालु भएर कुराकानी गरे। योसेफ आफ्ना पिताका सम्पूर्ण परिवारसित इजिप्टमा बसे। तिनी एक सय दश वर्षसम्म बाँचे। तिनले एफ्राइमका छोराछोरीहरूका तेस्रो पुस्तासम्मलाई देखे। मनश्शेका छोरा माकीरका छोराछोरीहरूलाई पनि तिनले काखमा लिए, जसलाई तिनले आफ्नै ठान्दथे। तब योसेफले आफ्ना दाजुभाइहरूलाई भने, “मेरो मृत्यु हुन लागेको छ; तर परमेश्‍वर निश्‍चय तिमीहरूलाई सहायता दिन आउनुहुनेछ; र तिमीहरूलाई यस देशबाट उहाँले अब्राहाम, इसहाक र याकोबलाई शपथद्वारा प्रतिज्ञा गर्नुभएको देशमा लैजानुहुनेछ।” अनि योसेफले इस्राएलका छोराहरूलाई शपथ खान लगाएर भने, “परमेश्‍वर निश्‍चय तिमीहरूको सहायताका लागि आउनुहुनेछ, र तिमीहरूले मेरा हड्डीहरू यस ठाउँबाट माथि लैजानू।” यसरी योसेफको एक सय दश वर्ष उमेर पुगेर मृत्यु भयो। अनि उनीहरूले तिनलाई सुगन्धित लेप लगाएपछि बाकसमा हालेर इजिप्टमा नै राखे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 50 पढ्नुहोस्

उत्‍पत्ति 50:18-26 पवित्र बाइबल (NERV)

तिनका दाज्यू-भाइहरू तिनीकहाँ गए अनि तिनी अघि निहुरिएर भने, “हामी तपाईंका दास हुनेछौं।” तब यूसुफले तिनीहरूलाई भने, “नडराओ। म परमेश्वर होइन। तिमीहरूलाई दण्ड दिने मेरो कुनै अधिकार छैन। यो सत्य हो तिमीहरूले मेरो विरूद्धमा हानि गर्ने योजना गरेका थियौ। तर वास्तवमा, परमेश्वरले राम्रोको निम्ति योजना बनाउनु भएको थियो। परमेश्वरको योजना अनुसार धेरै मानिसहरूको जीवन बचाउँन मलाई प्रयोग गर्नु थियो। अनि उहाँको योजना जस्तो थियो त्यस्तै भयो। यसर्थ तिमीहरू नडराओ। म तिमीहरू र तिमीहरूका नानीहरूको हेरचाह गर्नेछु।” यसरी यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई राम्रा कुराहरू भने। यसले दाज्यू-भाइहरूले धेरै शान्ति पाए। यूसुफ उनको परिवारसित मिश्रमा बसे। यूसुफ एक सय दश बर्ष पुगेर मरे। यूसुफकै जीवन कालमा एप्रैमको छोरा-छोरी तथा नाति-नातिनीहरू जन्मेका थिए। अनि तिनको छोरो मनश्शेबाट छोरो जन्मियो जसको नाउँ माकीर थियो। यूसुफ माकीरका नानीहरूको मुख हेर्न बाँचिरहे। जब यूसुफको मर्ने बेला भएको थियो, उनले आफ्ना दाज्यू-भाइहरूलाई भने, “प्रायः मेरो मृत्युको समय भयो। तर म जान्दछु परमेश्वरले तिमीहरूको हेरचाह गर्नु हुनेछ, अनि यस देशबाट बाहिर लैजानु हुनेछ। परमेश्वरले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा तिमीहरूलाई लैजानु हुनेछ।” तब यूसुफले मानिसहरूलाई एउटा प्रतिज्ञा गर्नु लगाए। उनले भने, “जब परमेश्वरले तिमीहरूलाई त्यो नयाँ भूमिमा लानु हुनेछ त्यस बेला मेरा अस्थिहरू तिमीहरूसित लिएर जानेछौं भनी प्रतिज्ञा गर।” यूसुफ जब एक सय दश बर्ष पुगेपछि तिनको मृत्यु भयो। अन्तिम संस्कारको निम्ति वैद्यहरूले तिनको लाश तयार पारे अनि तिनको शरीरलाई मिश्रमा एउटा कफनमा राखे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 50 पढ्नुहोस्

उत्‍पत्ति 50:18-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तब तिनका दाजुभाइहरू आफैं गएर तिनको अघि शिर निहुराएर भने, “हामी तपाईंका कमाराहरू यहाँ तपाईंको अघि हाजिर छौं।” योसेफले तिनीहरूलाई भने, “नडराओ, म परमेश्‍वरको स्‍थानमा छैनँ। तिमीहरूले मेरो विरुद्धमा खराब जाल रच्‍यौ तर परमेश्‍वरले त्‍यसलाई भलाइमा बदल्‍नुभयो, जसले गर्दा उहाँले धेरै मानिसहरूको प्राण जोगाउनुभयो र आज तिनीहरू बाँचेका छन्। तिमीहरू डराउने केही काम छैन। म तिम्रा र तिम्रा छोरा-छोरीहरूको हेरचाह गर्नेछु।” यसरी योसेफले दयाको शब्‍द बोलेर तिनीहरूलाई ढाडस दिए। ती शब्‍दले तिनीहरूको हृदय छोयो। आफ्‍नो बुबाको परिवार लिएर योसेफ मिश्रमा बसिरहे। उहाँको मृत्‍यु हुँदा उनको उमेर ११० वर्ष भएको थियो। एफ्राइमका छोरा-छोरी, नाति-नातिनीहरू पनि उनले देखे। मनश्‍शेको छोरो माकीरका छोरा-छोरीहरू पनि परिवारमा थपिञ्‍जेलसम्‍म उनी बाँचिरहे। उनले दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो तर परमेश्‍वरले निश्‍चय नै उहाँले अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञाअनुसार तिमीहरूलाई यस देशबाट डोर्‍याएर निकालिलैजानुहुनेछ।” त्‍यसपछि योसेफले आफ्‍ना मानिसहरूलाई शपथ खान लाए। उनले भने, “परमेश्‍वरले तिमीहरूलाई त्‍यस देशमा लैजानुहुँदा मेरो लाश पनि लिएर जानेछौ भनी मसँग प्रतिज्ञा गर।” योसेफ मिश्रदेशमा ११० वर्ष उमेर पुगेर मरे। तिनीहरूले सुगन्‍धित तेल र लेप तिनको लाशमा मलेर लाश एउटा बाकसमा हालेर राखे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 50 पढ्नुहोस्