प्रस्थान 8:6-24
प्रस्थान 8:6-24 NCV
यसकारण हारूनले इजिप्टका पानीहरूमाथि आफ्नो हात पसारे; अनि भ्यागुताहरू माथि निस्केर आए, र इजिप्ट देशलाई ढाकिदिए। तर जादुगरहरूले पनि आफ्ना गुप्त कलाद्वारा त्यसै गरे; तिनीहरूले पनि इजिप्ट देशमा भ्यागुताहरू ल्याए। तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “म र मेरा मानिसहरूबाट भ्यागुताहरू हटाऊन् भनी याहवेहसित बिन्ती चढाइदेओ, तब म तिम्रा मानिसहरूलाई याहवेहका निम्ति बलिदान चढाउनलाई जान दिनेछु।” मोशाले फारोलाई भने, “मैले तपाईंका निम्ति, तपाईंका अधिकारीहरू र तपाईंका प्रजाका निम्ति नील नदीका बाहेक यी भ्यागुताहरू तपाईं र तपाईंका घरहरूबाट मुक्त गरिऊन् भनेर प्रार्थना गरिदिने समय ठहराउने सम्मानचाहिँ म तपाईंलाई नै दिन्छु।” फारोले भने, “भोलि प्रार्थना गरिदिनुहोला।” मोशाले जवाफ दिए, “तपाईंले भन्नुभएझैँ नै हुनेछ, र तपाईंले याहवेह हाम्रा परमेश्वरझैँ अरू कोही छैन भन्ने जान्न सक्नुहुनेछ। यी भ्यागुताहरूले तपाईं, तपाईंका घरहरू, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूलाई छोड्नेछन्; तर तिनीहरू नील नदीमा मात्र रहनेछन्।” मोशा र हारून फारोकहाँबाट निस्केर गएपछि मोशाले याहवेहकहाँ उहाँले फारोमाथि ल्याउनुभएका भ्यागुताहरूका निम्ति पुकार गरे। अनि याहवेहले मोशाले मागेअनुसार गरिदिनुभयो; अनि ती भ्यागुताहरू घर, आँगन र खेतहरूमा नै मरे। तिनीहरूले ती बटुलेर थुप्रो लगाए; र देश नै दुर्गन्धले ढाकियो। तर जब फारोले सबै शान्त भएको देखे, तब तिनले आफ्नो हृदय कठोर पारे, र याहवेहले भन्नुभएझैँ मोशा र हारूनका कुरा सुनेनन्। फेरि याहवेहले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो पसारेर जमिनको धुलोलाई हिर्काउनुहोस्,’ अनि त्यो सारा इजिप्ट देशभरि भुसुनै-भुसुना बन्नेछ।” तिनीहरूले त्यसै गरे; जब हारूनले लहुरो उठाएर जमिनका धुलोलाई हिर्काए, तब ती भुसुनाहरू मानिसहरू र पशुहरूमाथि आए। जमिनको सबै धुलो सारा इजिप्ट देशभरि भुसुनाहरू बने। तर जब ती जादुगरहरूले तिनीहरूका गुप्त कलाद्वारा भुसुनाहरू निकाल्न खोजे, तिनीहरूले सकेनन्। अनि ती भुसुनाहरू मानिसहरू र पशुहरूमाथि भइरहे। ती जादुगरहरूले फारोलाई भने, “यो सबै कार्यमा परमेश्वरको हात छ।” तर फारोको हृदय याहवेहले भन्नुभएझैँ कठोर थियो, र तिनले सुन्न मानेनन्। फेरि याहवेहले मोशालाई भन्नुभयो, “बिहानै उठ् र फारो नदीमा जाँदा त्यसलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ: मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्। तैँले मेरा मानिसहरूलाई जान दिइनस् भने म तँमाथि र तेरा अधिकारीहरूमाथि, तेरा मानिसहरूमाथि, र तेरा घरहरूमा हुलका हुल झिँगाहरू पठाउनेछु। इजिप्टियनहरूका घरहरू र तिनीहरू बसेका जमिन पनि झिँगाहरूले भरिनेछ। “ ‘तर त्यस दिन म मेरा मानिसहरू बस्ने गोशेनको प्रान्तप्रति बेग्लै किसिमले व्यवहार गर्नेछु; त्यहाँ झिँगाको कुनै हुल हुनेछैन, र तैँले म नै याहवेह, यस देशमा छु भनी जान्नेछस्। म मेरा मानिसहरू र तेरा मानिसहरूको बीचमा भिन्नता पार्नेछु। यो अलौकिक चिन्ह भोलि हुनेछ।’ ” अनि याहवेहले त्यसै गर्नुभयो। फारोको महलमा र तिनका अधिकारीहरूका घरहरूभित्र धेरै मात्रामा झिँगाका हुलका हुल खनिए; र इजिप्टको जमिन झिँगाहरूद्वारा नाश भयो।

