प्रस्‍थान 8:6-24

प्रस्‍थान 8:6-24 NNRV

यसैले हारूनले आफ्‍नो हात मिश्रका पानीहरूमाथि पसारे र भ्‍यागुताहरू निस्‍केर मिश्रदेशै ढाके। तर जादूगरहरूले पनि आफ्‍ना गोप्‍य सीपद्वारा त्‍यसै गरे, र मिश्रमा भ्‍यागुताहरू निकाले। तब फारोले मोशा र हारूनलाई बोलाउन पठाए, र भने, “परमप्रभुसित बिन्‍ती गर, कि उहाँले म र मेरा प्रजाबाट भ्‍यागुताहरू लैजाऊन्, अनि परमप्रभुको निम्‍ति बलि चढ़ाउनलाई तिम्रा मानिसलाई म जान दिनेछु।” मोशाले फारोलाई भने, “हुकुम गर्नुहोस्, कुन बेला म तपाईं र तपाईंका अधिकारीहरू र तपाईंका प्रजाका निम्‍ति बिन्‍ती गरूँ, र भ्‍यागुताहरू तपाईं र तपाईंका घरहरूबाट नष्‍ट भएर जाऊन्‌ र नील नदीमा मात्रै रहून्‌?” उनले भने, “भोलि।” मोशाले भने, “तपाईंको वचनअनुसार होस्, र तपाईंले जान्‍नुहोला कि परमप्रभु हाम्रा परमेश्‍वरजस्‍तो अरू कोही छैन। भ्‍यागुताहरू तपाईं र तपाईंका घरहरू र तपाईंका अधिकारीहरू र तपाईंका प्रजाबाट फर्केर जानेछन्, र केवल नील नदीमा मात्र रहनेछन्‌।” तब मोशा र हारून फारोकहाँबाट निस्‍केर गए। परमप्रभुले फारोमाथि पठाउनुभएका भ्‍यागुताहरूका बारेमा मोशाले पुकारा गरे। अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो। भ्‍यागुताहरू घर, आँगन र मैदानमा मरे। मानिसहरूले ती बटुलेर थुप्रो लगाए, र देश गन्‍हाउन लाग्‍यो। तर जब फारोले सबै शान्‍त भएका देखे, तब परमप्रभुले भन्‍नुभएझैँ उनले आफ्‍नो हृदय कठोर पारे, र मोशा र हारूनका कुरा सुनेनन्‌। फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो लिएर जमिनको धूलोमा हिर्काउनुहोस्, र ती मिश्रभरि भुसुना बनिऊन्‌’।” तिनीहरूले त्‍यसै गरे। जब हारूनले लहुरो लिएर आफ्‍नो हात पसारेर जमिनको धूलोमाथि हिर्काए, तब मानिसहरू र पशुहरूमा भुसुना लागे। सारा मिश्रभरिको धूलो भुसुनै-भुसुना भयो। ती जादूगरहरूले पनि आफ्‍ना गोप्‍य सीपद्वारा भुसुना ल्‍याउन खोजे, तर सकेनन्‌। मानिसहरू र पशुहरूमा भुसुना रहिरहे। तब जादूगरहरूले फारोलाई भने, “यसमा त परमेश्‍वरकै हात छ।” तर परमप्रभुले भन्‍नुभएबमोजिम फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्‌। फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जाँदा त्‍यसको सामु हाजिर हो। त्‍यसलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: मेरो आराधना गर्न मेरा प्रजालाई जान दे। मेरा प्रजालाई जान दिइनस्‌ भने, हेर्, तँ, तेरा अधिकारीहरू र तेरा प्रजामाथि र तेरा घरहरूमा म हूलका हूल झीँगा पठाउनेछु, र मिश्रीहरूका घर-घरमा र तिनीहरू रहेका ठाउँहरूमा समेत हूलका हूल झीँगा थुप्रिनेछन्‌। “‘तर त्‍यस दिन म मेरा मानिसहरू बस्‍ने गोशेन प्रदेशलाई चाहिँ छुट्ट्याउनेछु, र त्‍यहाँ झीँगाका बथान हुनेछैन। तब तैंले जान्‍नेछस्‌ कि म, परमप्रभु यस देशमा छु। यसरी म मेरो प्रजा र तेरो प्रजाको बीचमा भिन्‍नता ल्‍याउनेछु। यो आश्‍चर्यपूर्ण चिन्‍ह भोलि हुनेछ’।” अनि परमप्रभुले त्‍यसै गर्नुभयो। फारोको महल, उनका अधिकारीहरूका घर-घरमा हूलका हूल झीँगाहरू आए, र झीँगाहरूको कारण मिश्र बरबाद भयो।