प्रस्‍थान 8:6-24

प्रस्‍थान 8:6-24 सरल नेपाली

अनि हारूनले आफ्‍नो लट्ठी पानीमाथि पसारे र भ्‍यागुताले देश भरियो। तर ती जादूगरहरूले पनि जादू गरे र देशमा भ्‍यागुता ल्‍याए। राजाले हारून र मोशालाई बोलाउन पठाए र भने, “परमप्रभुलाई यी भ्‍यागुताहरू हटाइदिन प्रार्थना गरिदेओ र म तिम्रा मानिसहरूलाई परमप्रभुकहाँ बलि चढाउन जान दिनेछु।” मोशाले उत्तर दिए, “म खुसीसाथ तपाईंको निम्‍ति प्रार्थना गर्नेछु। तपाईं, तपाईंका भारदार र प्रजाहरूका निम्‍ति मैले कति बेला प्रार्थना गर्नुपर्ने हो, सो समय तोकिदिनुहोस्। तब सबै भ्‍यागुताहरू हट्‍नेछन् र नील नदीमा बाहेक अरू कहीँ पनि भ्‍यागुता पाइनेछैन।” राजाले भने, “भोलि मेरो निम्‍ति प्रार्थना गरिदेऊ।” मोशाले भने, “म तपाईंले भन्‍नुभएअनुसार गर्नेछु, तब तपाईंले जान्‍नुहुनेछ कि परमप्रभु हाम्रा परमेश्‍वरजस्‍तो अर्को कोही छैन। तपाईं, तपाईंका भारदार र प्रजाहरूदेखि भ्‍यागुता हट्‍नेछन् र नील नदीमा मात्र ती रहनेछन्।” तब मोशा र हारून राजाबाट बिदा भएर गए र देशमा आएका भ्‍यागुताहरू हटून्‌ भनी मोशाले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभुले मोशाको प्रार्थना सुन्‍नुभयो र घर-घर, आँगन र खेतबारीहरूमा भएका भ्‍यागुताहरू मरे। ती मरेका भ्‍यागुताहरूलाई मिश्रीहरूले बटुलेर राश लाए र दुर्गन्‍ध फैलियो। जब राजाले भ्यागुताहरू मरेका देखे, तब परमप्रभुले भन्‍नुभएझैँ उनले आफ्‍नो हृदय कठोर पारे र मोशा र हारूनका कुरा सुनेनन्। परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन् कि त्‍यसले आफ्‍नो लट्ठीले जमिनमा हिर्काओस् र सारा मिश्रको धुलो भुसुना बनोस्‌।” हारूनले जमिनमा लट्ठीले हिर्काए र मिश्रमा भएको सारा धुलो भुसुना भएर मानिस र पशुहरूलाई ढाके। जादूगरहरूले पनि आफ्‍ना जादूमन्‍त्रले भुसुना बनाउन खोजे तर तिनीहरूले सकेनन्। जहीँ-तहीँ भुसुनै-भुसुना भयो र जादूगरहरूले राजालाई भने, “यो कामचाहिँ परमेश्‍वरले गर्नुभएको हो!” तर राजा ढिट नै भइबसे र परमप्रभुले भन्‍नुभएअनुसार मोशा र हारूनका कुरा मानेनन्। परमप्रभुले मोशालाई भन्‍नुभयो, “भोलि बिहानै गएर राजा नदीमा जाँदा उसलाई भेट् र भन्, ‘परमप्रभु भन्‍नुहुन्‍छ, मेरा प्रजालाई जान दे र तिनीहरूले मलाई पुजून्। तैँले मेरा कुरा मानिनस्‌ भने म तेरो घरमा, तेरा भारदारहरू र प्रजाको घरमा झिँगा पठाएर तँलाई दण्‍ड दिनेछु। मिश्रीहरूका घर, जमिन सबै झिँगाले भरिनेछन्, यो मेरो चेतावनी सुन्‌। तर म त्‍यो दिन मेरो प्रजा बसेको गोशेन प्रदेशलाई जोगाउनेछु र त्‍यहाँ झिँगा हुनेछैन। म त्‍यसो गर्नेछु र तैँले जान्‍नेछस्‌ कि तेरो देशमा म परमप्रभुले नै यी कामहरू गरिरहेको छु। म तेरा र मेरा प्रजाहरूलाई अलग-अलग छुट्ट्याउनेछु। यो अचम्‍मको काम भोलि हुनेछ’।” परमप्रभुले राजमहल र भारदारहरूका घरमा हुलका हुल झिँगाहरू पठाउनुभयो। झिँगाले सारा मिश्रदेशलाई हैरान पार्‍यो।

प्रस्‍थान 8 पढ्नुहोस्