प्रस्थान 40:18-34
प्रस्थान 40:18-34 NCV
जब मोशाले समागम पाल खडा गरे, तिनले त्यसका आधारहरू र फल्याकहरू खडा गरी बारहरू लगाए, र त्यसका खाँबाहरू गाडे। त्यसपछि याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनले समागम पालमाथि पाल फैलाएर त्यसको माथिपट्टि छत लगाए। तिनले साक्षी पाटी ल्याई त्यसलाई सन्दुकभित्र राखे, र त्यसमा डण्डाहरू राखे, र सन्दुकमाथि पाप समाधान-स्थान राखे। त्यसपछि तिनले त्यो सन्दुकलाई समागम पालभित्र ल्याए, र त्यसलाई पर्दाले ढाकिदिए; जस्तो याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो। मोशाले भेट हुने पालमा समागम पालको उत्तरपट्टिको पर्दाको बाहिरपट्टि टेबुल राखे। याहवेहले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले याहवेहको सामु टेबुलमा रोटी सजाएर राखे। मोशाले भेट हुने पालभित्र समागम पालको दक्षिणतर्फको भागमा टेबुलको विपरीत सामदान राखे; अनि याहवेहले आज्ञा गर्नुभएअनुसार तिनले याहवेहको सामु दियाहरू बाले। भेट हुने पालको पर्दाको सामु मोशाले सुनको वेदी बनाए; अनि याहवेहले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले सुगन्धित धूप बाले। त्यसपछि तिनले समागम पालको ढोकामा पर्दा लगाए। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनले समागम पालको भेट हुने पालको ढोकाको नजिक वेदी बनाएर होमबलि र अन्नबलि चढाए। तिनले समागम पाल र वेदीको बीचमा बाटा राखेर धुनलाई त्यसमा पानी भरे। अनि मोशा, हारून र तिनका छोराहरूले त्यसबाट आ-आफ्ना हातहरू र खुट्टाहरू धोए। तिनीहरू जहिले-जहिले भेट हुने पाल, अर्थात् वेदीको नजिक आउँथे, तब तिनीहरूले आ-आफ्ना हातहरू र खुट्टाहरू धुने गर्दथे; जस्तो याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो। त्यसपछि मोशाले याहवेहले आज्ञा गर्नुभएअनुसार वेदी खडा गरे र आँगनको ढोकामा पर्दा लगाए। यसरी मोशाले काम सिद्ध्याए। तब भेट हुने पाललाई बादलले ढाक्यो, र समागम पाल याहवेहको महिमाले भरियो।

