प्रस्थानको पुस्तक 40:18-34
प्रस्थानको पुस्तक 40:18-34 NERV
मोशाले पवित्र पाल स्थापित गरे। तिनले पहिले आधारहरू राखे अनि त्यसपछि आधारहरूमाथि फल्याकहरू राखे। तब उसले बार र तक्ताहरू भित्र लगाए अनि खम्बाहरू ठडाए। तब मोशाले पवित्र पालमाथि कृपा-आसान राखे परमप्रभुले दिनु भएको आज्ञा अनुसार तिनले यसो गरे। मोशाले करार पत्र पवित्र सन्दूकभित्र राखे। मोशाले सन्दूकमाथि डण्डाहरू राखे अनि ढकनीले ढाके। तब मोशाले पवित्र सन्दूक पवित्र पालभित्र राखे अनि यसको अघि पर्दा झुण्डाइदिए। यस प्रकारले पर्दा पछाडी करारको सन्दूकलाई तिनले सुरक्षित पारे। तिनले परमप्रभुले दिनु भएको निर्देशन अनुसार गरे। तब मोशाले भेट हुने पालमा टेबल राखे। यो तिनले पवित्र सन्दूकको उत्तर तिर राखे। यो तिनले पवित्र पालभित्र पर्दाको अघाडी राखे। तब उनले टेबलमाथि परमप्रभुको सामने रोटी राखे। तिनले परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार यसो गरे। उनले सामदान भेट हुने पालको दक्षिण भागमा टेबलको अघाडी राखे। उनले परमप्रभुको अघि दियोहरू बाले। तिनले यी सब कामहरू परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार गरे। तब तिनले सुनको वेदी भेट हुने पाल भित्र राखे। वेदी पर्दाको अघिललातिर राखे। तब तिनले वेदीमा सुगन्धित धूप बाले। उनले यो परमप्रभुले दिनु भएको आज्ञा अनुसार गरे। तब मोशाले पवित्र पालको प्रवेश द्वारमा पर्दा लगाए। मोशाले होमबलिहरूका निम्ति वेदीलाई पवित्र पालको, (जसलाई भेट हुने पाल पनि भनिन्छ) प्रवेशद्वारमा राखे। उनले वेदीमाथि होमबलि र अन्नबलिहरू चढाए। उनले यो सबै परमप्रभुले आज्ञा गरे अनुसार नै गरे। तब मोशाले बाटा भेट हुने पाल र वेदीको माझमा राखे। तिनले बाटामा हात धुनलाई पानी पनि राखे। मोशा, हारून र तिनका छोराहरूले आफ्नो हात-खुट्टा धुन यो बाटामा प्रयोग गरे। तिनीहरू भेट हुने पालमा पस्दा प्रत्येक पल्ट आफ्नो हात-खुट्टा धोए अनि त्यसरी नै तिनीहरू वेदी सामने जाँदा पनि हात-खुट्टा धोए। तिनीहरूले परमप्रभुले आज्ञा गरे अनुसार यसो गरे। मोशाले पवित्र पालको आँगन वरिपरि पर्दा लगाए। तिनले आँगनमा वेदी राखे। अनि आँगनको प्रवेशद्वारमा पर्दा लगाए। मोशाले यी सबै काम समाप्त गरे। भेट हुने पाललाई बादलले ढाक्यो र परमप्रभुको महिमाले पवित्र पाल भरिपूर्ण भयो।

