प्रस्‍थान 40:18-34

प्रस्‍थान 40:18-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मोशाले पवित्र वासस्‍थान खड़ा गरे, र त्‍यसका आधारहरू राखेर त्‍यसका फल्‍याकहरू ठाड़ो राखी तिनीहरूमा बार लगाई त्‍यसका खम्‍बाहरू खड़ा गरे। त्‍यसपछि तिनले पवित्र वासस्‍थानमाथि पाल फिँजाएर पालमाथि छत लगाए, जस्‍तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। अनि तिनले गवाही-पाटी ल्‍याई सन्‍दूकभित्र राखेर डन्‍डाहरू सन्‍दूकमा हाले, र कृपा-आसन सन्‍दूकमाथि राखे। तब तिनले सन्‍दूक पवित्र वासस्‍थानभित्र ल्‍याए, र छेक्‍ने पर्दा टाँगेर गवाहीको सन्‍दूक छेके, जस्‍तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। अनि मोशाले भेट हुने पालमा पवित्र वासस्‍थानको उत्तरतर्फ पर्दाको बाहिरपट्टि टेबिल राखे। त्‍यसपछि तिनले त्‍यसमाथि परमप्रभुको सामुन्‍ने रोटी सजाएर राखे, जस्‍तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। तिनले भेट हुने पालमा टेबिलको सामु पवित्र वासस्‍थानको दक्षिणतिर सामदान राखे। तिनले परमप्रभुको सामुन्‍ने दियाहरू मिलाए, जस्‍तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। मोशाले भेट हुने पालमा पर्दाको सामु सुनको वेदी राखे। तिनले त्‍यसमा सुगन्‍धित धूप बाले, जस्‍तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। अनि तिनले पवित्र वासस्‍थानको ढोकामा पर्दा टाँगे। तब तिनले भेट हुने पाल, अर्थात्‌ पवित्र वासस्‍थानको ढोकामा होमबलिको वेदी राखेर त्‍यसमा होमबलि र अन्‍नबलि चढ़ाए, जस्‍तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। तिनले भेट हुने पाल र वेदीको बीचमा बाटा राखेर धुनलाई पानी हाले। मोशा, हारून र तिनका छोराहरूले त्‍यसमा आ-आफ्‍ना हात-खुट्टा धोए। तिनीहरू भेट हुने पालमा पस्‍दा अथवा वेदीमा जाँदा तिनीहरूले हात-खुट्टा धुने गर्थे, जस्‍तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। तब मोशाले पवित्र वासस्‍थान र वेदीका चारैतिर चोकको घेरा खड़ा गरे, र चोकको ढोकाको पर्दा टाँगे। यसरी मोशाले काम समाप्‍त गरे। तब भेट हुने पाल बादलले छोप्‍यो, र परमप्रभुको महिमाले पवित्र वासस्‍थान भरियो।

शेयर गर्नुहोस्
प्रस्‍थान 40 पढ्नुहोस्

प्रस्‍थान 40:18-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब मोशाले समागम पाल खडा गरे, तिनले त्यसका आधारहरू र फल्याकहरू खडा गरी बारहरू लगाए, र त्यसका खाँबाहरू गाडे। त्यसपछि याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनले समागम पालमाथि पाल फैलाएर त्यसको माथिपट्टि छत लगाए। तिनले साक्षी पाटी ल्याई त्यसलाई सन्दुकभित्र राखे, र त्यसमा डण्डाहरू राखे, र सन्दुकमाथि पाप समाधान-स्थान राखे। त्यसपछि तिनले त्यो सन्दुकलाई समागम पालभित्र ल्याए, र त्यसलाई पर्दाले ढाकिदिए; जस्तो याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो। मोशाले भेट हुने पालमा समागम पालको उत्तरपट्टिको पर्दाको बाहिरपट्टि टेबुल राखे। याहवेहले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले याहवेहको सामु टेबुलमा रोटी सजाएर राखे। मोशाले भेट हुने पालभित्र समागम पालको दक्षिणतर्फको भागमा टेबुलको विपरीत सामदान राखे; अनि याहवेहले आज्ञा गर्नुभएअनुसार तिनले याहवेहको सामु दियाहरू बाले। भेट हुने पालको पर्दाको सामु मोशाले सुनको वेदी बनाए; अनि याहवेहले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले सुगन्धित धूप बाले। त्यसपछि तिनले समागम पालको ढोकामा पर्दा लगाए। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनले समागम पालको भेट हुने पालको ढोकाको नजिक वेदी बनाएर होमबलि र अन्‍नबलि चढाए। तिनले समागम पाल र वेदीको बीचमा बाटा राखेर धुनलाई त्यसमा पानी भरे। अनि मोशा, हारून र तिनका छोराहरूले त्यसबाट आ-आफ्ना हातहरू र खुट्टाहरू धोए। तिनीहरू जहिले-जहिले भेट हुने पाल, अर्थात् वेदीको नजिक आउँथे, तब तिनीहरूले आ-आफ्ना हातहरू र खुट्टाहरू धुने गर्दथे; जस्तो याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो। त्यसपछि मोशाले याहवेहले आज्ञा गर्नुभएअनुसार वेदी खडा गरे र आँगनको ढोकामा पर्दा लगाए। यसरी मोशाले काम सिद्ध्याए। तब भेट हुने पाललाई बादलले ढाक्यो, र समागम पाल याहवेहको महिमाले भरियो।

शेयर गर्नुहोस्
प्रस्‍थान 40 पढ्नुहोस्

प्रस्‍थान 40:18-34 पवित्र बाइबल (NERV)

मोशाले पवित्र पाल स्थापित गरे। तिनले पहिले आधारहरू राखे अनि त्यसपछि आधारहरूमाथि फल्याकहरू राखे। तब उसले बार र तक्ताहरू भित्र लगाए अनि खम्बाहरू ठडाए। तब मोशाले पवित्र पालमाथि कृपा-आसान राखे परमप्रभुले दिनु भएको आज्ञा अनुसार तिनले यसो गरे। मोशाले करार पत्र पवित्र सन्दूकभित्र राखे। मोशाले सन्दूकमाथि डण्डाहरू राखे अनि ढकनीले ढाके। तब मोशाले पवित्र सन्दूक पवित्र पालभित्र राखे अनि यसको अघि पर्दा झुण्डाइदिए। यस प्रकारले पर्दा पछाडी करारको सन्दूकलाई तिनले सुरक्षित पारे। तिनले परमप्रभुले दिनु भएको निर्देशन अनुसार गरे। तब मोशाले भेट हुने पालमा टेबल राखे। यो तिनले पवित्र सन्दूकको उत्तर तिर राखे। यो तिनले पवित्र पालभित्र पर्दाको अघाडी राखे। तब उनले टेबलमाथि परमप्रभुको सामने रोटी राखे। तिनले परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार यसो गरे। उनले सामदान भेट हुने पालको दक्षिण भागमा टेबलको अघाडी राखे। उनले परमप्रभुको अघि दियोहरू बाले। तिनले यी सब कामहरू परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार गरे। तब तिनले सुनको वेदी भेट हुने पाल भित्र राखे। वेदी पर्दाको अघिललातिर राखे। तब तिनले वेदीमा सुगन्धित धूप बाले। उनले यो परमप्रभुले दिनु भएको आज्ञा अनुसार गरे। तब मोशाले पवित्र पालको प्रवेश द्वारमा पर्दा लगाए। मोशाले होमबलिहरूका निम्ति वेदीलाई पवित्र पालको, (जसलाई भेट हुने पाल पनि भनिन्छ) प्रवेशद्वारमा राखे। उनले वेदीमाथि होमबलि र अन्नबलिहरू चढाए। उनले यो सबै परमप्रभुले आज्ञा गरे अनुसार नै गरे। तब मोशाले बाटा भेट हुने पाल र वेदीको माझमा राखे। तिनले बाटामा हात धुनलाई पानी पनि राखे। मोशा, हारून र तिनका छोराहरूले आफ्नो हात-खुट्टा धुन यो बाटामा प्रयोग गरे। तिनीहरू भेट हुने पालमा पस्दा प्रत्येक पल्ट आफ्नो हात-खुट्टा धोए अनि त्यसरी नै तिनीहरू वेदी सामने जाँदा पनि हात-खुट्टा धोए। तिनीहरूले परमप्रभुले आज्ञा गरे अनुसार यसो गरे। मोशाले पवित्र पालको आँगन वरिपरि पर्दा लगाए। तिनले आँगनमा वेदी राखे। अनि आँगनको प्रवेशद्वारमा पर्दा लगाए। मोशाले यी सबै काम समाप्त गरे। भेट हुने पाललाई बादलले ढाक्यो र परमप्रभुको महिमाले पवित्र पाल भरिपूर्ण भयो।

शेयर गर्नुहोस्
प्रस्‍थान 40 पढ्नुहोस्

प्रस्‍थान 40:18-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मोशाले त्‍यसका आसन र फल्‍याकहरू तेर्साए, तेर्सा बारहरू लाए र खम्‍बाहरू गाडे। परमप्रभुले आज्ञा गर्नुभएअनुसार पवित्र पालमाथि भित्री र बाहिरी पर्दाले छोपे। तब तिनले दुईवटा ढुङ्गाका पाटीहरू करारका सन्‍दुकमा हाले। सन्‍दुकको कुण्‍डलभित्र डन्‍डाहरू छिराए र त्‍यसमाथि कृपा-आसन लाए। तब तिनले सन्‍दुक पालभित्र राखे र त्‍यसलाई छेल्‍ने गरी पर्दा झुन्‍ड्याए। यसरी परमप्रभुले आज्ञा गर्नुभएअनुसार करारको सन्‍दुकको रक्षा भयो। पवित्र पालभित्र परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले पर्दा बाहिर उत्तरपट्टि टेबिलमा राखे र त्‍यसमाथि परमप्रभुलाई चढाएको रोटी राखे। टेबिलको सामुन्‍ने दक्षिणमा सामदान राखे र त्‍यहाँ परमप्रभुको अघि उहाँले आज्ञा गर्नुभएअनुसार पानसहरू बाले। पर्दाको अघिल्‍तिर डेराभित्र सुनको वेदी राखे र परमप्रभुले आज्ञा गर्नुभएअनुसार मीठो बास्‍ना दिने धूप बाले। तिनले पवित्र पालको ढोकामा पर्दा टाँगे र त्‍यहाँ पर्दाको अघिल्‍तिर होमबलि चढाउने वेदी राखे। परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले वेदीमा होमबलि र अन्‍नबलि चढाए। पवित्र पाल र वेदीको बीचमा तिनले पानी हाल्‍ने बाटा राखे र त्‍यसमा पानी भरे। परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशा, हारून र तिनका छोराहरूले पवित्र पालभित्र वा वेदीमा जाँदा आ-आफ्‍ना हात-खुट्टा धुन्‍थे। मोशाले पवित्र पाल र वेदीका चारैपट्टि घेरा लाए र घेराका ढोकामा पर्दा टाँगे। यसरी तिनले सबै काम सिध्याए। तब बादलले पवित्र पाललाई ढाक्‍यो र परमप्रभुको उपस्‍थितिको चम्‍किलो ज्‍योतिले पाल भरियो।

शेयर गर्नुहोस्
प्रस्‍थान 40 पढ्नुहोस्