प्रस्थान 40:18-34
प्रस्थान 40:18-34 NNRV
मोशाले पवित्र वासस्थान खड़ा गरे, र त्यसका आधारहरू राखेर त्यसका फल्याकहरू ठाड़ो राखी तिनीहरूमा बार लगाई त्यसका खम्बाहरू खड़ा गरे। त्यसपछि तिनले पवित्र वासस्थानमाथि पाल फिँजाएर पालमाथि छत लगाए, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। अनि तिनले गवाही-पाटी ल्याई सन्दूकभित्र राखेर डन्डाहरू सन्दूकमा हाले, र कृपा-आसन सन्दूकमाथि राखे। तब तिनले सन्दूक पवित्र वासस्थानभित्र ल्याए, र छेक्ने पर्दा टाँगेर गवाहीको सन्दूक छेके, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। अनि मोशाले भेट हुने पालमा पवित्र वासस्थानको उत्तरतर्फ पर्दाको बाहिरपट्टि टेबिल राखे। त्यसपछि तिनले त्यसमाथि परमप्रभुको सामुन्ने रोटी सजाएर राखे, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। तिनले भेट हुने पालमा टेबिलको सामु पवित्र वासस्थानको दक्षिणतिर सामदान राखे। तिनले परमप्रभुको सामुन्ने दियाहरू मिलाए, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। मोशाले भेट हुने पालमा पर्दाको सामु सुनको वेदी राखे। तिनले त्यसमा सुगन्धित धूप बाले, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। अनि तिनले पवित्र वासस्थानको ढोकामा पर्दा टाँगे। तब तिनले भेट हुने पाल, अर्थात् पवित्र वासस्थानको ढोकामा होमबलिको वेदी राखेर त्यसमा होमबलि र अन्नबलि चढ़ाए, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। तिनले भेट हुने पाल र वेदीको बीचमा बाटा राखेर धुनलाई पानी हाले। मोशा, हारून र तिनका छोराहरूले त्यसमा आ-आफ्ना हात-खुट्टा धोए। तिनीहरू भेट हुने पालमा पस्दा अथवा वेदीमा जाँदा तिनीहरूले हात-खुट्टा धुने गर्थे, जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। तब मोशाले पवित्र वासस्थान र वेदीका चारैतिर चोकको घेरा खड़ा गरे, र चोकको ढोकाको पर्दा टाँगे। यसरी मोशाले काम समाप्त गरे। तब भेट हुने पाल बादलले छोप्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो।

