दानिएल 9:1-10

दानिएल 9:1-10 NCV

अहासूरसका छोरा दाराको (मादी वंशका) शासनकालको पहिलो वर्षमा, जसलाई बेबिलोनी राज्यको शासक तुल्याइएका थिए— तिनको शासनकालको पहिलो वर्षमा, म, दानिएलले यर्मिया अगमवक्तालाई याहवेहद्वारा दिइएको वचनअनुसार धर्मशास्त्रबाट यो बुझेँ, कि यरूशलेमको उजाड अवस्था सत्तरी वर्षसम्म रहनेछ। यसकारण म उपवाससाथ भाङ्ग्रा लगाएर खरानी धसी प्रार्थना र अन्तर्बिन्ती गर्दै याहवेह परमेश्‍वरतिर फर्केँ। मैले याहवेह मेरा परमेश्‍वरलाई प्रार्थना गरेँ, र आफ्ना पापहरू स्वीकार गरेँ: “हे प्रभु, महान् र भययोग्य परमेश्‍वर, जसले उहाँलाई प्रेम गर्नेहरू र उहाँका आज्ञापालन गर्नेहरू सबैसित आफ्नो अचुक प्रेमको करार पूरा गर्नुहुन्छ; हामीले पाप गरेका छौँ, र भूल गरेका छौँ। हामी दुष्‍ट भएका छौँ, र हामी विद्रोही भएका छौँ; हामी तपाईंका आज्ञाहरू र व्यवस्थाहरूबाट तर्किगएका छौँ। हामीले तपाईंका सेवक अगमवक्ताहरूका कुरा सुनेनौँ, जसले तपाईंको नाममा हाम्रा राजाहरू, हाम्रा शासकहरू, हाम्रा पितापुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका थिए। “हे प्रभु, तपाईं धर्मी हुनुहुन्छ, तर आज हामी शर्मले ढाकिएका छौँ—यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरू र सबै इस्राएलीहरू, नजिक र टाढा बस्‍ने दुवै, सबै देशहरूमा, जहाँ हाम्रा अविश्‍वासयोग्यताको कारण तपाईंले हामीलाई तितरबितर पारिदिनुभएको छ। हे याहवेह, हामी र हाम्रा राजाहरू, हाम्रा शासकहरू र हाम्रा पितापुर्खाहरू शर्मले ढाकिएका छौँ; किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ। प्रभु, हाम्रा परमेश्‍वर कृपालु र क्षमा दिने हुनुहुन्छ; यद्यपि हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौँ। हामीले याहवेह हाम्रा परमेश्‍वरको आज्ञापालन गरेका छैनौँ, अथवा उहाँले आफ्ना सेवक अगमवक्ताहरूद्वारा हामीलाई दिनुभएका व्यवस्थाहरू पालन गरेका छैनौँ।

दानिएल 9 पढ्नुहोस्