दानिएल 9:1-10

दानिएल 9:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अहासूरसका छोरा दाराको प्रथम वर्षमा, जो मादी वंशका थिए र बेबिलोनी राज्‍यका शासक तुल्‍याइएका थिए— उनका राज्‍यकालको प्रथम वर्षमा म, दानिएलले, यर्मिया अगमवक्तालाई दिइएको परमप्रभुको वचनअनुसार, धर्मशास्‍त्रबाट बुझें कि यरूशलेमको उजाड़ अवस्‍था सत्तरी वर्षसम्‍म रहनेछ। यसकारण म उपवाससाथ भाङ्‌ग्रा ओढ़ेर खरानी धसी प्रार्थना र अन्‍तर्बिन्‍ती गर्दै परमप्रभु परमेश्‍वरतिर फर्कें। मैले पाप स्‍वीकार गर्दै परमप्रभु मेरा परमेश्‍वरलाई प्रार्थना गरें: “हे परमप्रभु, महान्‌ र भययोग्‍य परमेश्‍वर, जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने सबैसँग प्रेमको करार पूरा गर्नुहुन्‍छ, हामीले पाप गरेका छौं र गल्‍ती गरेका छौं। हामी दुष्‍ट भएका छौं र बागी बनेका छौं, हामी तपाईंका आज्ञा र धार्मिक नियमहरूबाट तर्केका छौं। हामीले तपाईंका सेवक अगमवक्ताहरूका कुरामा ध्‍यान दिएनौं, जसले तपाईंको नाउँमा हाम्रा राज्‍यहरू, हाम्रा प्रधानहरू र हाम्रा पिता-पुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका थिए। “परमप्रभु, तपाईं धर्मी हुनुहुन्‍छ, तर तपाईंप्रति भएको विश्‍वासघातको कारणले सबै देशहरूमा छरपष्‍ट पारिएका नजिक र टाढ़ा बस्‍ने, हामी यहूदाका मानिसहरू र यरूशलेम र इस्राएलका जनताहरू लाजले ढाकिएका छौं। हे परमप्रभु, हामी र हाम्रा राजाहरू हाम्रा प्रधानहरू र हाम्रा पिता-पुर्खाहरू लाजले ढाकिएका छौं, किनभने तपाईंको विरुद्धमा हामीले पाप गरेका छौं। हामी उहाँको विरुद्धमा बागी भएका छौं, यद्यपि परमप्रभु हाम्रा परमेश्‍वर कृपालु र क्षमाशील हुनुहुन्‍छ। हामीले परमप्रभु हाम्रा परमेश्‍वरका आज्ञा पालन गरेका छैनौं र उहाँका सेवक अगमवक्ताहरूद्वारा दिइएका नियमहरू पनि मानेका छैनौं।

शेयर गर्नुहोस्
दानिएल 9 पढ्नुहोस्

दानिएल 9:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अहासूरसका छोरा दाराको (मादी वंशका) शासनकालको पहिलो वर्षमा, जसलाई बेबिलोनी राज्यको शासक तुल्याइएका थिए— तिनको शासनकालको पहिलो वर्षमा, म, दानिएलले यर्मिया अगमवक्तालाई याहवेहद्वारा दिइएको वचनअनुसार धर्मशास्त्रबाट यो बुझेँ, कि यरूशलेमको उजाड अवस्था सत्तरी वर्षसम्म रहनेछ। यसकारण म उपवाससाथ भाङ्ग्रा लगाएर खरानी धसी प्रार्थना र अन्तर्बिन्ती गर्दै याहवेह परमेश्‍वरतिर फर्केँ। मैले याहवेह मेरा परमेश्‍वरलाई प्रार्थना गरेँ, र आफ्ना पापहरू स्वीकार गरेँ: “हे प्रभु, महान् र भययोग्य परमेश्‍वर, जसले उहाँलाई प्रेम गर्नेहरू र उहाँका आज्ञापालन गर्नेहरू सबैसित आफ्नो अचुक प्रेमको करार पूरा गर्नुहुन्छ; हामीले पाप गरेका छौँ, र भूल गरेका छौँ। हामी दुष्‍ट भएका छौँ, र हामी विद्रोही भएका छौँ; हामी तपाईंका आज्ञाहरू र व्यवस्थाहरूबाट तर्किगएका छौँ। हामीले तपाईंका सेवक अगमवक्ताहरूका कुरा सुनेनौँ, जसले तपाईंको नाममा हाम्रा राजाहरू, हाम्रा शासकहरू, हाम्रा पितापुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका थिए। “हे प्रभु, तपाईं धर्मी हुनुहुन्छ, तर आज हामी शर्मले ढाकिएका छौँ—यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरू र सबै इस्राएलीहरू, नजिक र टाढा बस्‍ने दुवै, सबै देशहरूमा, जहाँ हाम्रा अविश्‍वासयोग्यताको कारण तपाईंले हामीलाई तितरबितर पारिदिनुभएको छ। हे याहवेह, हामी र हाम्रा राजाहरू, हाम्रा शासकहरू र हाम्रा पितापुर्खाहरू शर्मले ढाकिएका छौँ; किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ। प्रभु, हाम्रा परमेश्‍वर कृपालु र क्षमा दिने हुनुहुन्छ; यद्यपि हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौँ। हामीले याहवेह हाम्रा परमेश्‍वरको आज्ञापालन गरेका छैनौँ, अथवा उहाँले आफ्ना सेवक अगमवक्ताहरूद्वारा हामीलाई दिनुभएका व्यवस्थाहरू पालन गरेका छैनौँ।

शेयर गर्नुहोस्
दानिएल 9 पढ्नुहोस्

दानिएल 9:1-10 पवित्र बाइबल (NERV)

राजा दाराको शासनकालको पहिलो बर्षको समयमा यो घटना घटेको थियो। दारा अहासुरस नाउँ भएका एकजना मानिसको पुत्र थिए। दारा मादीका मानिसहरूसँग सम्बन्धित थिए। उनी बाबेलको राजा भए। दाराको राज्य कालको पहिले बर्षमा म दानियल केही पुस्तकहरू पढिरहेको थिएँ। ती पुस्तकहरूमा मैले देखें कि परमप्रभुले यर्मियाहलाई यो बताउनु भयो कि यरूशलेम पुनःर्निर्माण कति बर्ष पछि हुन्छ? परमप्रभुले भन्नु भएको थियो यसभन्दा पहिलाको यरूशलेम फेरि बनाउन, सत्तरी बर्ष लाग्नेछ। तब म फेरि परमेश्वर मेरा मालिकपट्टि फर्किएँ अनि सहायताको निम्ति प्रार्थना गरें। मैले खाना खान छोडें अनि यस्तो लुगा लगाएँ जसबाट यो बुझियोस् कि म दु:खी छु। मैले आफ्नो टाउकोमा धूलो हालें। मैले परमप्रभु मेरो परमेश्वरलाई प्रार्थना गरें। मैले मेरा सबै पापहरूको विषयमा उहाँलाई मैले भनें, “हे परमप्रभु तपाईं महान अनि भय योग्य परमेश्वर हुनुहुन्छ। तपाईंसित प्रेम गर्ने मानिसहरूसित तपाईंले प्रेम अनि दया गर्नुहुन्छ। तपाईंले तपाईंको करार मानिसहरूसित राख्नु हुन्छ जसले तपाईंको आज्ञाहरू पालन गर्छन्। “तर परमप्रभु हामी पापी हौं। हामीले नराम्रो कर्म गर्यौं, कुकर्म गर्यौं, तपाईंको विरोध गर्यौ र तपाईंको निष्पक्ष न्याय अनि आदेशबाट टाढा गयौं। तपाईंका दास अगमवक्ताहरू, हाम्रा राजाहरू, शासकहरू, पिता पुर्खाहरू अनि देशका सबै मानिसहरूसँग तपाईंको नाउँमा बोलेका थिए! तर हामीले तिनीहरूको कुरा सुनेनौं। “हे परमप्रभु, तपाईं असल हुनुहुन्छ अनि सदचारिता तपाईंकै हो! तर आज लाज हाम्रो हो। लाज यहूदा र यरूशलेमका मानिसहरूबाट हो। लाज इस्राएलका सबै मानिसहरूको हो। मानिसहरू जो नजिकमा छ। अनि मानिसहरू त्यसको टाडामा छन्। परमप्रभु तपाईंले ती मानिसहरूलाई धेरै जातिहरूको बीचमा छरपष्ट पार्नु भयो। अनि ती देशमा भएका इस्राएलका मानिसहरू लज्जित हुनुपर्छ। तिनीहरूले तपाईंको विरूद्धमा नराम्रो काम गरेका हुनाले तिनीहरू लज्जित हुनुपर्छ, परमप्रभु! “हे परमप्रभु हामी सबै लज्जित हुनु पर्छ। हाम्रो सबै राजाहरू र अगुवाहरू लज्जित हुनु पर्छ। हाम्रो पिता-पुर्खाहरू लज्जित हुन पर्छ। किनभने हामीले तपाईंको विरूद्ध पाप गरेका छौ, परमप्रभु! “तर हे परमप्रभु तपाईं दयालु हुनुहुन्छ। तिनीहरूले गरेको नराम्रो कार्यहरूका निम्ति तपाईंले मानिसहरूलाई क्षमा दिनुहुन्छ। अनि हामी तपाईंको विरूद्ध बागी भएकाछौं। हामीले परमप्रभु हाम्रा परमेश्वरको आज्ञा पालन गरेका छैनौं। परमप्रभुले उहाँका दासहरू, अगमवक्ताहरू प्रयोग गरेर हामीहरूलाई नियमहरू दिनुभयो तर हामीले उहाँको नियमहरू पालन गरेनौं।

शेयर गर्नुहोस्
दानिएल 9 पढ्नुहोस्

दानिएल 9:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अहासूरसका छोरा मादी-वंशका दाराले बेबिलोनमा राज्‍य गर्थे। उनी राजा भएको पहिलो वर्षमा म पवित्र पुस्‍तकहरू पढ्दै थिएँ र परमप्रभुले यर्मिया अगमवक्तालाई भन्‍नुभएको यरूशलेम सत्तरी वर्षसम्‍म ध्‍वस्‍त हुने समयबारे सोच्‍दै थिएँ। अनि मैले प्रभु परमेश्‍वरलाई उपवाससाथ भाङ्‌ग्राको लुगा लगाई खरानीमा बसी प्रार्थना र अन्‍तरबिन्‍ती गरें। मेरा मानिसहरूको पापको निम्‍ति पश्‍चात्ताप गर्दै परमप्रभु मेरा परमेश्‍वरलाई मैले प्रार्थना गरें। मैले बिन्‍ती गरें, “परमप्रभु परमेश्‍वर, तपाईं महान् हुनुहुन्‍छ र हामी तपाईंको आदर गर्दछौं। तपाईं आफ्‍नो करार पूरा गर्न विश्‍वासयोग्‍य हुनुहुन्‍छ र तपाईंलाई प्रेम गर्ने अनि तपाईंको आज्ञा मान्‍नेहरूलाई अटुट प्रेम गर्नुहुन्‍छ। “हामीले पाप गरेका छौं, हामी दुष्‍ट भएका छौं र कुकर्म गरेका छौं। तपाईंले हामीलाई दिनुभएको आज्ञा हामीले भङ्ग गरेका छौं र जुन असल काम गर्न तपाईंले हामीलाई देखाउनुभएको थियो, ती गर्न छोडेका छौं। हाम्रा राजाहरू, शासकहरू, पुर्खाहरू र देशका सारा प्रजासित तपाईंको नाउँमा बोल्‍ने तपाईंका सेवक अगमवक्ताहरूको कुरा हामीले मानेका छैनौं। तपाईं प्रभुले सधैँ ठीक काम गर्नुहुन्‍छ तर हामीले चाहिँ सधैँ आफैंमाथि अपमान ल्‍याएका छौं। तपाईंप्रति अविश्‍वासयोग्‍य भएका कारणले हामी यहूदा, यरूशलेम र इस्राएलका मानिसहरूलाई तपाईंले टाढा-नजिकका देशहरूमा छरपष्‍ट पार्नुभएको छ। हाम्रा राजाहरू, शासकहरू र पिता-पुर्खाहरूले तपाईं परमप्रभुको विरुद्धमा पाप गरेकाले हामी लाजमा परेका छौं। हामीले तपाईंको विरुद्धमा विद्रोह गरेको भए पनि तपाईं कृपालु र क्षमाशील हुनुहुन्‍छ। हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंको नियमअनुसार जिउन तपाईंले आफ्‍ना सेवक अगमवक्ताहरूद्वारा दिनुभएको वचन हामीले मानेनौं।

शेयर गर्नुहोस्
दानिएल 9 पढ्नुहोस्