कलस्सी 1:13-27
कलस्सी 1:13-27 NCV
किनकि उहाँले हामीलाई अन्धकारको राज्यबाट छुटाउनुभयो र उहाँले आफ्नो प्यारो पुत्रको राज्यमा ल्याउनुभयो, जसमा हाम्रो उद्धार छ, पापहरूको क्षमा छ। ख्रीष्ट अदृश्य परमेश्वरका प्रतिरूप, सारा सृष्टिमा ज्येष्ठ हुनुहुन्छ। किनकि उहाँमा नै सबै थोकहरू सृष्टि भएका थिए: स्वर्गमा र पृथ्वीमा भएका थोकहरू, देखिने र नदेखिने, सिंहासनहरू होस् वा शक्तिहरू वा शासकहरू वा अधिकारीहरू; सबै उहाँद्वारा र उहाँकै निम्ति सृष्टि गरिएका हुन्। उहाँ सबै थोकभन्दा अगाडि हुनुहुन्छ, र सबै थोक उहाँमा नै एकसाथ मिलेर रहेका छन्। उहाँ मण्डलीका शिर हुनुहुन्छ, र मण्डलीचाहिँ उहाँको शरीर हो। हरेक थोकमा उहाँको सर्वश्रेष्ठता होस् भनेर उहाँ नै आदि हुनुहुन्छ; मरेकाहरूबाट जीवित हुनेहरूमा ज्येष्ठ हुनुहुन्छ। किनकि उहाँको सारा परिपूर्णता ख्रीष्टमा बास भएकोमा परमेश्वर प्रसन्न हुनुभयो। अनि उहाँद्वारा परमेश्वरले सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो। उहाँले क्रूसमा बगाउनुभएको ख्रीष्टको रगतको माध्यमद्वारा स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरूमा शान्ति गराउनुभयो। विगतमा तिमीहरू आफ्नो दुष्ट चालको कारण परमेश्वरदेखि बिराना भएका थियौ र आफ्ना मनमा शत्रुहरू भएका थियौ। तर अब तिमीहरूलाई उहाँको दृष्टिमा पवित्र, निष्खोट र निर्दोष उपस्थित गराउन, उहाँले तिमीहरूलाई आफ्नो भौतिक शरीरको मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ। यदि तिमीहरू आफ्नो विश्वासमा अटल र स्थिर भई रह्यौ भने; अनि तिमीहरूले आशा राखेका सुसमाचारबाट पछि हटेनौ भने यो त्यही सुसमाचार हो, जुनचाहिँ तिमीहरूले सुनेका छौ, जुन सुसमाचार स्वर्गमुनि भएका हरेक प्राणीका लागि घोषणा गरिएको छ, र म पावल त्यसैको सेवक नियुक्त भएको छु। अब तिमीहरूका निम्ति कष्ट भोगिरहेकोमा म आनन्दित छु; अनि उहाँको शरीर, जुनचाहिँ मण्डली हो, यसको निम्ति ख्रीष्टका कष्टहरूको कमीमा म आफ्नो शरीरमा त्यो पूरा गर्दछु। परमेश्वरले मलाई तिमीहरूकहाँ सम्पूर्ण रूपमा वचन प्रस्तुत गर्न भनेर, उहाँको आज्ञाअनुसार म त्यस मण्डलीको सेवक बनाइएको छु— अर्थात् त्यो रहस्यमय कुरा, जो युगौँयुग र पुस्तौँदेखि गुप्त राखिएको थियो, तर अब त्यो प्रभुका जनहरूलाई प्रकट गरिएको छ। यस महिमामय सम्पत्तिको रहस्यचाहिँ ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ अर्थात् महिमाको आशा, त्यो कुरा गैरयहूदीहरूलाई थाहा गराउनको लागि परमेश्वरले तिनीहरूलाई चुन्नुभएको छ।




