कलस्सी 1:13-27

कलस्सी 1:13-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

उहाँले हामीलाई अन्‍धकारको राज्‍यदेखि छुटाउनुभयो, र आफ्‍ना प्रिय पुत्रको राज्‍यभित्र हामीलाई सार्नुभएको छ। उहाँमा हाम्रो उद्धार, अर्थात्‌ पापको क्षमा छ। उहाँ अदृश्‍य परमेश्‍वरको प्रतिरूप, सारा सृष्‍टिका ज्‍येष्‍ठ हुनुहुन्‍छ, किनकि उहाँमा नै सबै थोक सृष्‍टि भएका थिए। स्‍वर्गमा र पृथ्‍वीमाथि भएका दृश्‍य र अदृश्‍य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्‍वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्‍ति सृजिएका हुन्‌। उहाँ नै सबै कुराभन्‍दा अगाडि हुनुहुन्‍छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्‌। उहाँ शरीर, अर्थात्‌ मण्‍डलीका शिर हुनुहुन्‍छ, उहाँ नै सुरु हुनुहुन्‍छ, मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्‍येष्‍ठ हुनुहुन्‍छ, ताकि प्रत्‍येक कुरामाथि उहाँ सर्वोच्‍च होऊन्‌। किनकि उहाँको आफ्‍नो सारा पूर्णता ख्रीष्‍टमा वास गरेकोमा परमेश्‍वर प्रसन्‍न हुनुभयो, र परमेश्‍वरले उहाँका क्रूसको रगतद्वारा शान्‍ति गराएर पृथ्‍वीको होस्‌ वा स्‍वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्‍याउनुभयो। बितेका समयमा दुष्‍ट काम गरेर तिमीहरू बिराना भई आफ्‍नो मनमा विरोधी भएका थियौ। तर आफ्‍नो सामुन्‍ने तिमीहरूलाई पवित्र, निष्‍खोट र निर्दोष प्रस्‍तुत गर्न ख्रीष्‍टका मासुको शरीरमा उहाँको मृत्‍युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्‍याउनुभएको छ— यदि तिमीहरू आफ्‍ना विश्‍वासमा अचल र स्‍थिर भइरह्यौ र तिमीहरूले सुनेका सुसमाचारको आशाबाट हटेनौ भने। यही नै त्‍यो सुसमाचार हो, जो स्‍वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल, धर्म-सेवक भएँ। अब तिमीहरूका खातिर मेरा दुःख-भोगमा म आनन्‍द मनाउँदछु, र ख्रीष्‍टका कष्‍टहरूको कमीलाई उहाँको शरीरको खातिर, अर्थात्‌ उहाँको मण्‍डलीको खातिर म आफ्‍नो देहमा पूरा गर्दछु। तिमीहरूका खातिर मलाई दिइएको ईश्‍वरीय कार्यअनुसार परमेश्‍वरको वचन सम्‍पूर्ण रूपले प्रचार गर्न म धर्म-सेवक भएँ— युग-युग र पुस्‍तौँदेखि गुप्‍त रहेको यो रहस्‍य अब उहाँका सन्‍तहरूलाई प्रकट भएको छ। यस रहस्‍यको महिमामय सम्‍पत्ति अन्‍यजातिहरूमा कति महान्‌ छ, त्‍यो कुरा आफ्‍ना सन्‍तहरूलाई प्रकट गर्न परमेश्‍वरले चुन्‍नुभयो। यो रहस्‍य ख्रीष्‍ट तिमीहरूमा हुनु हो, जो महिमाको आशा हो।

शेयर गर्नुहोस्
कलस्सी 1 पढ्नुहोस्

कलस्सी 1:13-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

किनकि उहाँले हामीलाई अन्धकारको राज्यबाट छुटाउनुभयो र उहाँले आफ्नो प्यारो पुत्रको राज्यमा ल्याउनुभयो, जसमा हाम्रो उद्धार छ, पापहरूको क्षमा छ। ख्रीष्‍ट अदृश्य परमेश्‍वरका प्रतिरूप, सारा सृष्‍टिमा ज्येष्‍ठ हुनुहुन्छ। किनकि उहाँमा नै सबै थोकहरू सृष्‍टि भएका थिए: स्वर्गमा र पृथ्वीमा भएका थोकहरू, देखिने र नदेखिने, सिंहासनहरू होस् वा शक्तिहरू वा शासकहरू वा अधिकारीहरू; सबै उहाँद्वारा र उहाँकै निम्ति सृष्‍टि गरिएका हुन्। उहाँ सबै थोकभन्दा अगाडि हुनुहुन्छ, र सबै थोक उहाँमा नै एकसाथ मिलेर रहेका छन्। उहाँ मण्डलीका शिर हुनुहुन्छ, र मण्डलीचाहिँ उहाँको शरीर हो। हरेक थोकमा उहाँको सर्वश्रेष्‍ठता होस् भनेर उहाँ नै आदि हुनुहुन्छ; मरेकाहरूबाट जीवित हुनेहरूमा ज्येष्‍ठ हुनुहुन्छ। किनकि उहाँको सारा परिपूर्णता ख्रीष्‍टमा बास भएकोमा परमेश्‍वर प्रसन्‍न हुनुभयो। अनि उहाँद्वारा परमेश्‍वरले सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो। उहाँले क्रूसमा बगाउनुभएको ख्रीष्‍टको रगतको माध्यमद्वारा स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरूमा शान्ति गराउनुभयो। विगतमा तिमीहरू आफ्नो दुष्‍ट चालको कारण परमेश्‍वरदेखि बिराना भएका थियौ र आफ्ना मनमा शत्रुहरू भएका थियौ। तर अब तिमीहरूलाई उहाँको दृष्‍टिमा पवित्र, निष्खोट र निर्दोष उपस्थित गराउन, उहाँले तिमीहरूलाई आफ्नो भौतिक शरीरको मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ। यदि तिमीहरू आफ्नो विश्‍वासमा अटल र स्थिर भई रह्‍यौ भने; अनि तिमीहरूले आशा राखेका सुसमाचारबाट पछि हटेनौ भने यो त्यही सुसमाचार हो, जुनचाहिँ तिमीहरूले सुनेका छौ, जुन सुसमाचार स्वर्गमुनि भएका हरेक प्राणीका लागि घोषणा गरिएको छ, र म पावल त्यसैको सेवक नियुक्त भएको छु। अब तिमीहरूका निम्ति कष्‍ट भोगिरहेकोमा म आनन्दित छु; अनि उहाँको शरीर, जुनचाहिँ मण्डली हो, यसको निम्ति ख्रीष्‍टका कष्‍टहरूको कमीमा म आफ्नो शरीरमा त्यो पूरा गर्दछु। परमेश्‍वरले मलाई तिमीहरूकहाँ सम्पूर्ण रूपमा वचन प्रस्तुत गर्न भनेर, उहाँको आज्ञाअनुसार म त्यस मण्डलीको सेवक बनाइएको छु— अर्थात् त्यो रहस्यमय कुरा, जो युगौँयुग र पुस्तौँदेखि गुप्‍त राखिएको थियो, तर अब त्यो प्रभुका जनहरूलाई प्रकट गरिएको छ। यस महिमामय सम्पत्तिको रहस्यचाहिँ ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ अर्थात् महिमाको आशा, त्यो कुरा गैरयहूदीहरूलाई थाहा गराउनको लागि परमेश्‍वरले तिनीहरूलाई चुन्‍नुभएको छ।

शेयर गर्नुहोस्
कलस्सी 1 पढ्नुहोस्

कलस्सी 1:13-27 पवित्र बाइबल (NERV)

अन्धकारको शक्तिबाट परमेश्वरले हामीलाई मुक्त गर्नु भएको छ। अनि उहाँले हामीलाई आफ्ना प्यारा पुत्रको राज्यमा ल्याउनु भएको छ। हामीलाई उहाँले मुक्त पार्नु भयो अनि उहाँमा हाम्रो पापहरू क्षमा गरिएकोछ। परमेश्वरलाई कसैले देख्न सक्दैन। तर परमेश्वर हुबहु येशू हुनुहुन्छ। सृष्टिका सम्मूर्ण थोकमाथि येशू शासक हुनुहुन्छ। उहाँकै शक्तिद्वारा सारा थोक सिर्जित छ। स्वर्ग र पृथ्वीमा भएका कुराहरू, दृश्य र अदृश्य कुराहरू, सिंहासन अथवा शक्तिहरू, शासकहरू अथवा अधिकारहरू, यी सब कुराहरू ख्रीष्टद्वारा अनि ख्रीष्टकै निम्ति बनाइएका हुन्। सबै चीजहरू बनिनु अघि पनि ख्रीष्ट हुनुहुन्थ्यो। अनि उहाँद्वारा प्रत्येक चीज एक साथ चालु रहन्छ। ख्रीष्ट शरीरको शिर हुनुहुन्छ। शरीर मण्डली हो। अनि उहाँ प्रभु हुनुहुन्छ, जो मृत्युबाट बौर्याइनुभएको थियो। यसैले सबै कुरामा येशू नै अति महत्वपूर्ण हुनु हुन्छ। यो परमेश्वरको इच्छा थियो कि उनको सम्पूर्णता ख्रीष्ट मै बाँचिरहोस्। अनि यो परमेश्वरको इच्छा थियो कि उहाँले स्वर्ग अनि पृथ्वीको जम्मै वस्तुहरू ख्रीष्ट मार्फत फेरि उहाँमा ल्याउने। क्रूसमा परमेश्वरले ख्रीष्टको रगतबाट शान्ति ल्याउनु भयो। एक समय तिमीहरू परमेश्वरदेखि अलग गरिएका थियौ। तिमीहरूको दुष्ट कर्महरू जो परमेश्वर विरोधी रहेको कारणले तिमीहरू परमेश्वरका शत्रु थियौ। तर ख्रीष्टले तिमीहरूलाई फेरि परमेश्वरको मित्र बनाइदिनु भएकोछ, आफ्नो मृत्युद्वारा त्यो गर्नुभयो जब उहाँ शरीरमा हुनुहुन्थ्यो। परमेश्वरको अघि तिमीहरूलाई पवित्र, निष्कलंक अनि कुनै प्रकारले तिमीलाई निन्दारहित बनाई उभ्याउनुलाई उहाँले त्यसो गर्नु भयो। तिमीहरूले सुनेको सुसमाचारमा विश्वास गर्यौ भने ख्रीष्टले यसो गर्नु हुनेछ। तिमीहरू आफ्नो विश्वासमा दृढ र निश्चल बस्नु पर्छ। सुसमाचारले दिएको आशाबाट विचलित नहोओ। त्यही सुसमाचार संसारका सबै मानिसहरूलाई सुनाइएको छ। म, पावल त्यही सुसमाचारको सेवक हुँ। तिमीहरूकालागि दुःखहरू उठाउनु परेकोमा म खुशी छु। ख्रीष्टको शरीरले दुःख झेल्नु पर्ने अझै धेरै छ। जो मेरो शरीरले पाउनु पर्ने कष्टहरू हुन म ग्रहण गरिरहेकोछु। म उहाँको शरीर-मण्डलीको निम्ति दुःख उठाउँछु। म मण्डलीको सेवक बनें किन कि परमेश्वरले मलाई एक विशेष काम गर्न भनि अह्राउनु भयो। यस कामले तिमीहरूलाई नै सहायता गर्नेछ। परमेश्वरको संदेश सम्पूर्ण रूपले बताउनु मेरो काम हो। यो गोप्य सत्य शुरूदेखि नै सबै मानिसहरूबाट लुकाएको थियो। तर अब परमेश्वरको पवित्र जनलाई यो गोप्य सत्य प्रकट गराइएको छ। त्यो धनी र महिमामयी सत्य आफ्ना मानिसले जानुन् भन्ने निश्चय परमेश्वरले गर्नुभयो। त्यो महान सत्य सबै जातिहरूको लागि हो। अनि उहाँ सत्य हुनुहुन्छ ख्रीष्ट स्वयं, जो तिमीहरू सबैमा हुनुहुन्छ। परमेश्वरको महिमामा भागीदारी हुनु उहाँ हाम्रो एक आशा हुनुहुन्छ।

शेयर गर्नुहोस्
कलस्सी 1 पढ्नुहोस्

कलस्सी 1:13-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

उहाँले नै हामीलाई अन्‍धकारको शक्तिबाट छुटकारा दिएर आफ्‍नो पुत्रको राज्‍यमा कुशलसँग पुर्‍याउनुभएको छ। उहाँको पुत्रले नै हामीलाई छुटकारा दिनुभएको छ र हाम्रो पाप माफ गर्नुभएको छ। नदेखिने परमेश्‍वरकै देखिने रूप ख्रीष्‍ट हुनुहुन्‍छ। उहाँ सृष्‍टिभन्दा जेठो हुनुहुन्‍छ किनभने स्‍वर्ग र पृथ्‍वीमा भएका सबै कुरा उहाँद्वारा सृष्‍टि भयो। दृश्‍य र अदृश्‍य लगायत आत्‍माका शक्तिहरू, मालिकहरू, शासकहरू र अधिकारीहरू, यी सब ख्रीष्‍टद्वारा र ख्रीष्‍टकै निम्‍ति सृष्‍टि भयो। सबै कुराहरूभन्दा पहिले उहाँ नै हुनुहुन्‍थ्‍यो अनि सबै कुराहरू उहाँमा नै अडेर रहेका छन्। मण्‍डलीचाहिँ उहाँको शरीर हो र उहाँचाहिँ शिर हुनुहुन्‍छ। उहाँ नै शरीरको जीवनको मूल हुनुहुन्‍छ। सबै कुरामा पहिलो ठाउँ उहाँलाई नै मिलोस् भनेर मरेकाबाट फेरि कहिले नमर्ने गरी बिउँतनेमा पनि उहाँ जेठो हुनुहुन्‍छ। परमेश्‍वरको आफ्‍नै निर्णयले उहाँको सम्‍पूर्ण स्‍वभाव पुत्रले पाउनुभएको छ। परमेश्‍वरले पुत्रबाट सबै सृष्‍टिलाई फेरि आफ्‍नो बनाउनुभयो, अनि क्रूसमा बलिदान भएको आफ्‍नो पुत्रको रगतले स्‍वर्ग र पृथ्‍वीमा भएका सबैलाई आफूसँगै मेलमिलाप गराउनुभयो। एक समय तिमीहरू परमेश्‍वरबाट टाढा थियौ। नराम्रो कुरा सोची नराम्रै काम गरेको हुनाले तिमीहरू परमेश्‍वरका शत्रु थियौ। तर अब पुत्रको आफ्‍नै शरीरको बलिदानले तिमीहरूलाई परमेश्‍वरले फेरि आफ्‍नो मित्र बनाउनुभयो र उहाँले तिमीहरूलाई आफ्‍नो सामुन्‍ने पवित्र, शुद्ध र निर्दोष बनाउनुहुनेछ। साँच्‍चै तिमीहरू दिगो र बलियो भएर विश्‍वासमा लागिरह। तिमीहरूले सुनेका सुसमाचारको आशालाई छोड्दै नछोड। यही सुसमाचार सृष्‍टिभरिका मानिसहरूलाई सुनाइएको छ। म पावल यही सुसमाचार सुनाउने सेवक भएको छु। यस बेला म तिमीहरूका लागि दु:ख भोग्‍न खुसी छु किनभने ख्रीष्‍टको शरीर मण्‍डलीको लागि उहाँको बाँकी रहेको दु:ख कष्‍ट मेरो शरीरमा भोगेर पूरा गर्छु। परमेश्‍वरले नै मलाई मण्‍डलीको सेवक बनाउनुभयो र तिमीहरूकै भलाइको लागि उहाँको शिक्षा पूरासँग सुनाउने कामको जिम्‍मा दिनुभयो। यो शिक्षा युग-युग र पुस्‍तौंदेखि कसैले बुझ्‍न नसकेको रहस्‍यको कुरो थियो। अब उहाँले ख्रीष्‍टका पवित्र जनहरूलाई यसको अर्थ छर्लङ्ग पारिदिनुभएको छ। तिनीहरूलाई सबै मानिसहरूका निम्‍ति राखिएको ठूलो रहस्‍यको कुरा खोलिदिने परमेश्‍वरको योजना हो। रहस्‍यको कुराचाहिँ यही हो, ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्‍छ। यसको अर्थ हो— तिमीहरू परमेश्‍वरको सम्‍मान्‌को सहभागी हुनेछौ।

शेयर गर्नुहोस्
कलस्सी 1 पढ्नुहोस्

कलस्सी 1:13-27

कलस्सी 1:13-27 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्