गन्तीको पुस्तक 5:1-10

गन्तीको पुस्तक 5:1-10 NERV

परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई आज्ञा देऊ कि यदि कसैलाई चर्मरोग अथवा धातु रोग सरेको छ, यदि कोही स्त्री मासिक धर्ममा छ, यदि कसैले मृतशरीरलाई छोएर अपवित्र छ भने त्यस्तो व्यक्तिहरूलाई छाउनीबाट बाहिर निकाल्नु पर्छ। म छाउनीमा तिमीहरूको बीचमा छु, यसकारण तिनीहरू चाहे पुरूषहरू अथवा स्त्रीहरू हुन् तिनीहरूलाई छाउनीबाट निकाली देऊ ताकि तिमीहरूले म बस्ने ठाँउलाई अपवित्र बनाउने छैनौ।” यसर्थ इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरी त्यस्ता मानिसहरूलाई शिविर बाहिर पठाई दिए। परमप्रभुले मोशालाई भन्नुभए अनुसार तिनीहरूले गरे। परमप्रभुले मोशालाई भन्नुभयो, “यो कुरा इस्राएलका मानिसहरूलाई भन एकजना व्यक्तिले अर्को व्यक्तिमाथि नराम्रो काम गरिरहेको हुन्छ। (जब कसैले अर्को कसैमाथि अन्याय गर्छ तब उसले परमेश्वरसित पाप गरिरहेको हुन्छ।) त्यो व्यक्ति दोषी हो। त्यसकारण उसले गरेको कुकर्म स्वीकार्नु पर्छ अनि उसले लागेका चीजहरूको निम्ति पूरा मोल दिनु पर्छ साथै व्यक्तिको लागि पाँच भागको एक भाग जोड्नु पर्छ जसलाई उसले सताए। तर यदि त्यो सताएको मर्यो भने अनि उसको कोही आफन्ता छैन भने, क्षतिपूर्तिको मोल परमप्रभुको पूजाहारीलाई दिनु पर्छ। यो व्यक्तिले पूजाहारीलाई प्रयाश्चितको निम्ति एउटा साँढे दिनु पर्छ। पूजाहारीले साँढेलाई बलिदान दिएर उसको लागि प्रयाश्चित गर्ने छ। “मानिसहरूले पूजाहारीलाई चढाएको पवित्र उपहार पूजाहारी कै हुन्छ। कुनै पनि व्यक्तिले चढाएको पवित्र उपहार उसैको हुन्छ तर यदि उसले पूजाहारीलाई दिए त्यो पूजाहारीको हुन्छ।”