गन्ती 5:1-10

गन्ती 5:1-10 NNRV

परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई छालाको सरुवा रोग भएका, धातुको रोग भएका, र मुर्दा छोएर अशुद्ध भएका जतिलाई छाउनीदेखि बाहिर राख्‍नू भनी आज्ञा गर्‌। पुरुष र स्‍त्री दुवैलाई बाहिर राख्‍नू। तिनीहरूका बीचमा म रहने छाउनी तिनीहरूले अशुद्ध नपारून्‌।” इस्राएलीहरूले त्‍यसै गरे, तिनीहरूलाई छाउनीदेखि बाहिर राखे। परमप्रभुले मोशालाई भन्‍नुभएझैँ इस्राएलीहरूले गरे। परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्‌: ‘जब कुनै पुरुष वा स्‍त्रीले परमप्रभुसँगको विश्‍वास तोड़ेर अरू मानिसप्रति कुनै प्रकारले अपराध गर्छ, तब त्‍यो व्‍यक्ति दोषी ठहरिनेछ, र उसले आफ्‍नो पापको स्‍वीकार गर्नुपर्छ। जसलाई उसले बिराएको छ, त्‍यसलाई उसले आफ्‍नो दोषको पूरा हर्जाना र त्‍यसका अझै पाँचौँ हिस्‍सा देओस्‌। तर यदि दोषको हर्जाना पाउन त्‍यस व्‍यक्तिको कोही आफन्‍त छैन भने, हर्जानाचाहिँ परमप्रभुको हुनेछ। हर्जाना र दोषीको प्रायश्‍चितको निम्‍ति एउटा थुमा पूजाहारीलाई देऊन्। इस्राएलीहरूले चढ़ाएका पवित्र थोक, जो तिनीहरूले पूजाहारीकहाँ हाजिर गराउँछन्, ती तिनैका होऊन्‌। हरेक मानिसका पवित्र उपहारहरू त्‍यसकै होऊन्, तर मानिसले पूजाहारीलाई दिएका कुनै कुरा पूजाहारीकै होस्‌’।”