गन्ती 5:1-10
गन्ती 5:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई छालाको सरुवा रोग भएका, धातुको रोग भएका, र मुर्दा छोएर अशुद्ध भएका जतिलाई छाउनीदेखि बाहिर राख्नू भनी आज्ञा गर्। पुरुष र स्त्री दुवैलाई बाहिर राख्नू। तिनीहरूका बीचमा म रहने छाउनी तिनीहरूले अशुद्ध नपारून्।” इस्राएलीहरूले त्यसै गरे, तिनीहरूलाई छाउनीदेखि बाहिर राखे। परमप्रभुले मोशालाई भन्नुभएझैँ इस्राएलीहरूले गरे। परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई भन्: ‘जब कुनै पुरुष वा स्त्रीले परमप्रभुसँगको विश्वास तोड़ेर अरू मानिसप्रति कुनै प्रकारले अपराध गर्छ, तब त्यो व्यक्ति दोषी ठहरिनेछ, र उसले आफ्नो पापको स्वीकार गर्नुपर्छ। जसलाई उसले बिराएको छ, त्यसलाई उसले आफ्नो दोषको पूरा हर्जाना र त्यसका अझै पाँचौँ हिस्सा देओस्। तर यदि दोषको हर्जाना पाउन त्यस व्यक्तिको कोही आफन्त छैन भने, हर्जानाचाहिँ परमप्रभुको हुनेछ। हर्जाना र दोषीको प्रायश्चितको निम्ति एउटा थुमा पूजाहारीलाई देऊन्। इस्राएलीहरूले चढ़ाएका पवित्र थोक, जो तिनीहरूले पूजाहारीकहाँ हाजिर गराउँछन्, ती तिनैका होऊन्। हरेक मानिसका पवित्र उपहारहरू त्यसकै होऊन्, तर मानिसले पूजाहारीलाई दिएका कुनै कुरा पूजाहारीकै होस्’।”
गन्ती 5:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले मोशालाई भन्नुभयो, “यदि कसैको छालाको सरुवा रोग अर्थात् कुनै किसिमको धातुको रोग छ, अर्थात् मृत शरीर छोएको कारणले विधिगत रूपमा अशुद्ध छ भने त्यो मानिसलाई छाउनीबाट बाहिर निकालिदिनू भनी इस्राएलीहरूलाई आज्ञा दिनू। तिनीहरू पुरुष अथवा स्त्री जोसुकै भए तापनि तिनीहरूलाई छाउनीबाट बाहिर निकालिदिनू; ताकि तिनीहरूले आफ्ना छाउनीलाई अशुद्ध नपारून्, जहाँ म बास गर्दछु।” इस्राएलीहरूले त्यसै गरे। तिनीहरूलाई छाउनीबाट बाहिर निकालिदिए। याहवेहले मोशालाई निर्देशन गर्नुभएझैँ तिनीहरूले गरे। याहवेहले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई भन्: याहवेहप्रतिको विश्वासलाई तोडेर यदि कुनै पुरुष अर्थात् स्त्रीले कसैसँग कुनै प्रकारको गलत व्यवहार गर्छ र त्यो व्यक्ति दोषी छ भने, तिनीहरूले आफूले गरेको पाप मानिलिनुपर्छ। तिनीहरूले गरेका आफ्ना अपराधको लागि पूर्ण हर्जाना तिर्नुपर्छ। त्यसमा पाँचौँ भाग थपेर त्यसले दुर्व्यवहार गरेको व्यक्तिलाई दिनुपर्छ। तर यदि त्यसले गरेको अपराधको लागि हर्जाना दिनलाई त्यस मानिसको नजिकको कुनै नातेदार छैन भने त्यो हर्जाना याहवेहको हुनेछ। अनि त्यो हर्जानाचाहिँ त्यस दोषीको प्रायश्चितको निम्ति बलि चढाइने भेडासँग पुजारीलाई दिनुपर्छ। इस्राएलीहरूले पुजारीकहाँ ल्याएका सबै पवित्र भेटीहरू पुजारीकै हुनेछन्। हरेक मानिसका पवित्र थोकहरू तिनीहरूका आफ्नै हुन्। तर तिनीहरूले पुजारीलाई जे दिन्छन्, त्यो पुजारीकै हुनेछ।”
गन्ती 5:1-10 पवित्र बाइबल (NERV)
परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई आज्ञा देऊ कि यदि कसैलाई चर्मरोग अथवा धातु रोग सरेको छ, यदि कोही स्त्री मासिक धर्ममा छ, यदि कसैले मृतशरीरलाई छोएर अपवित्र छ भने त्यस्तो व्यक्तिहरूलाई छाउनीबाट बाहिर निकाल्नु पर्छ। म छाउनीमा तिमीहरूको बीचमा छु, यसकारण तिनीहरू चाहे पुरूषहरू अथवा स्त्रीहरू हुन् तिनीहरूलाई छाउनीबाट निकाली देऊ ताकि तिमीहरूले म बस्ने ठाँउलाई अपवित्र बनाउने छैनौ।” यसर्थ इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरी त्यस्ता मानिसहरूलाई शिविर बाहिर पठाई दिए। परमप्रभुले मोशालाई भन्नुभए अनुसार तिनीहरूले गरे। परमप्रभुले मोशालाई भन्नुभयो, “यो कुरा इस्राएलका मानिसहरूलाई भन एकजना व्यक्तिले अर्को व्यक्तिमाथि नराम्रो काम गरिरहेको हुन्छ। (जब कसैले अर्को कसैमाथि अन्याय गर्छ तब उसले परमेश्वरसित पाप गरिरहेको हुन्छ।) त्यो व्यक्ति दोषी हो। त्यसकारण उसले गरेको कुकर्म स्वीकार्नु पर्छ अनि उसले लागेका चीजहरूको निम्ति पूरा मोल दिनु पर्छ साथै व्यक्तिको लागि पाँच भागको एक भाग जोड्नु पर्छ जसलाई उसले सताए। तर यदि त्यो सताएको मर्यो भने अनि उसको कोही आफन्ता छैन भने, क्षतिपूर्तिको मोल परमप्रभुको पूजाहारीलाई दिनु पर्छ। यो व्यक्तिले पूजाहारीलाई प्रयाश्चितको निम्ति एउटा साँढे दिनु पर्छ। पूजाहारीले साँढेलाई बलिदान दिएर उसको लागि प्रयाश्चित गर्ने छ। “मानिसहरूले पूजाहारीलाई चढाएको पवित्र उपहार पूजाहारी कै हुन्छ। कुनै पनि व्यक्तिले चढाएको पवित्र उपहार उसैको हुन्छ तर यदि उसले पूजाहारीलाई दिए त्यो पूजाहारीको हुन्छ।”
गन्ती 5:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले मोशालाई भन्नुभयो, “डरलाग्दो चर्मरोग भएको वा प्रमेह रोग लागेको वा लाश छोएर अशुद्ध भएको कुनै पनि मानिसलाई छाउनीबाट बाहिर निकालिदिनू भनी इस्राएलीहरूलाई आज्ञा गर्। यस्ता सबै अशुद्ध भएका मानिसहरूलाई निकालिदे र त्यो छाउनी, जहाँ म मेरा मानिसहरूका बीचमा बास गर्दछु, तिनीहरूले अशुद्ध नगरून्।” इस्राएलीहरूले यो आज्ञा पालन गरे र त्यस्ता सबैलाई छाउनीबाट अलग गरे। परमप्रभुले मोशालाई इस्राएलीहरूका लागि यी आदेशहरू दिनुभयो, “यदि कोही परमप्रभुप्रति अविश्वासयोग्य बन्दछ र अर्काको विरुद्धमा अधर्म काम गर्दछ भने त्यसले आफ्नो पाप स्वीकार गर्नुपर्नेछ र जुन मानिसको विरुद्धमा त्यसले अपराध गरेको छ, त्यसलाई त्यसका निम्ति तोकिएको पूरा हर्जाना र अरू त्यसको पाँचौँ हिस्सा बढ्ता पनि चुक्ता गर्नुपर्नेछ। तर त्यो मानिस मरिगयो र कोही हर्जाना लिन सक्ने नजिकको नातेदार पनि छैन भने त्यो धन परमप्रभुलाई पूजाहारीहरूको निम्ति भनेर दिनुपर्छ। अपराधीको शुद्धीकरणको विधि पूरा गर्न जुन साँढ-भेडा चढाइन्छ, त्यसमाथि थपेर यो हर्जाना तिर्ने काम हुनुपर्छ। कुनै पनि विशेष भेटी इस्राएलीहरूले परमप्रभुलाई चढाउँछन्, त्यो भेटी जुन पूजाहारीकहाँ टक्र्याइन्छ, त्यो उसैको हुन्छ। हरेक पूजाहारीले आफूलाई टक्र्याएका भेटीहरू आफ्नै लागि लिनेछ।”